Ad Area

मावि चरकमटियाको मतगणनामा ढिलाई, चाँडो मतपरिणाम सार्वजनिक गर्न अभिभावकको माग


घोराही, ३० चैत । बबई गाउँपालिकाको वडा नम्बर ७ स्थित सरस्वती मावि चरकमटियाको आगामी कार्यकालका लागि विद्यालय व्यवस्थापन समिति चयन गर्न गरिएको निर्वाचनको मतगणना हुन सकेको छैन । गत चैत्र २४ गते विद्यालयमा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भई मार्ग विव्यसको मार्ग प्रसस्त हुनुपर्नेमा उम्मेदवारी दिएका दलहरुको आ–आफ्नै अडानका कारण मत एक साता बितिसक्दा पनि मतगणना हुन सकेको छैन । जसका कारण विद्यालयबाट सम्पादन हुँदै आएको काममा पनि बाधा पुगेको छ ।

मावि चरकमटियाका अनुसार, विव्यसको चुनावको मतपरिणाम चाँडो सार्वजनिक गर्न माग गर्दै अभिभावकले विद्यालयमा तालाबन्दी गरिदिएपछि परिस्थिती असहज बन्दै गएको हो । विद्यालयमा तालाबन्दी भएपछि वार्षिक परीक्षाको नतिजा प्रकाशनमा पनि बाधा पुगेको छ । कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न समस्या हुनुका साथै कक्षा ११ र १२ को नियमित पठनपाठनमा पनि असर पुगेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

विव्यसको पदाधिकारी चयनका लागि दलगत समर्थनमा चुनावमा प्रतिष्पर्धा गरेकाहरु बीच मतपत्रमा हस्ताक्षर नभएको विषयलाई लिएर असन्तुष्टि भएपछि अहिलेको परिस्थिती आएको स्थानीयले बताएका छन् । विद्यालयमा ४ सय ९४ जना अभिभावक मतदाता रहेकोमा ४ सय २९ जनाले मतदान गर्नुभएको मुचुल्का उठेको छ । कुल मतदातामध्ये ८६ प्रतिशत मत खसेको बेलामा एक पक्षले जे जस्तो अवस्थामा छ, मतगण्ना गरेर अघि बढ्न चाहेको छ भने अर्को पक्षले मतदानका बेला फर्जी मतपत्र परेको आरोप लगाउँदै पुनः मतदानको मागलाई अडानका रुपमा अघि सारेको छ ।

जसका कारण विगत ६ दिनदेखि मतपेटिका सुरक्षाको घेरामा राखिएको छ । मतदाताले मतदान गरेर नयाँ नेतृत्व चयनका लागि गरेको प्रयासलाई सार्थक बनाउन तथा जे जस्तो नतिजा आएपनि स्वीकार गरेर अघि बढ्न एउटा पक्ष सहमत भएको बेलामा अर्को पक्षले कुनै पनि विकल्पमा जान नसकिने बरु पुनः निर्वाचन हुनुपर्ने अडान लिईरहेको हुँदा प्रहरीले मतपेटिकालाई सुरक्षा दिएर बस्नु बाहेक अरु केही हुन नसकेको बबई गाउँपालिका प्रवक्ता तिलकराम भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साविककै विव्यस अध्यक्ष खेमराज डाँगीलाई निरन्तरता दिँदै अरु पदमा सहमति जुटाएर अघि बढ्न आग्रह गर्दा पनि समस्याको निकास आउन सकेको छैन । जसले गर्दा नेकपा एमाले समर्थित प्रेमबहादुर राम्जा र गठबन्धन अर्थात नेपाली कांग्रेस र माओवादी केन्द्र समर्थित तिलकबहादुर वली कसले जीत हासिल गरेका हुन् भन्ने टुंगो लाग्न सकेको छैन ।

प्रवक्ता भण्डारीले मत गन्ने वा नगन्नेमै निकास निस्कन नसक्दा मतपरिणामलगायत विद्यालयको काममा बाधा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी संघीय शिक्षा ऐनको कानून अनुसार जानुपर्ने रहेछ । हामीले आफ्नै स्थानीय कानूनको जगमा टेकेर निर्वाचन प्रकृयामा अघि बढ्योँ, अहिले समस्या आयो । निकासका लागि सबै पक्षलाई सहजीकरण गर्न आग्रह गरिरहेका छौँ ।’

Blog Post Ad

२४ गते के भएको हो ?

२४ गते सरस्वती मावि चरकमटियाको निर्वाचनमा जिम्मेवारीमा रहेका सबैले आफआफ्नो काम गरिरहेका थिए । दिउँसो २ बजेसम्ममा धेरै अभिभावकले मतदान गरिसक्नुभएको थियो । भीड कम हुँदै गएपछि मतदाताको लाईन गाभेर एउटै बनाउने र मतपत्र पनि एकै ठाउँबाट दिने गरी सबैको सल्लाहमा प्रकृया अघि बढ्यो । त्यसै बेलामा विव्यसको अध्यक्षमा प्रतिष्पर्धामा रहेका एमाले समर्थित प्रेमबहादुर राम्जाले आफुले पाएको मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत देख्नुभएन ।

के कति कारणले दस्तखत नभएको हो भन्ने बारेमा बुझ्दा नियमित ठेलीबाट मतदातालाई मतपत्र दिँदै जाँदा लार्यन गाभिएपछि दस्तखत नभएको ठेलीबाट मतपत्र बाँडिएको पत्ता लाग्यो । खासगरी, १ देखि १ सय १, १ सय १ देखि २ सय, २ सय १ देखि ३ सय ३ सय १ देखि ४ सय र ४ र १ देखि ५ सयको मतपत्र दस्तखत गरी मतदानका लागि वितरण गरिरहेकोमा ३ सय १ देखि ४ सयसम्मको मतपत्र दस्तखत गरिएको अवस्थामा छुट्न गई दस्तखत नभएको ठेलीबाट मतदान भईरहेको भेला परेपछि समस्याका बारेमा सबैलाई राखेर छलफल गरी निकास निकालिएको थियो ।

निर्वाचन अधिकृत नवीनकुमार लामिछानेले निर्वाचन समितिसँगको छलफलपछि मतदानको प्रकृया अघि बढाइएको थियो । तर, पछिबाट गठबन्धन दल समर्थित प्रतिष्पर्धीले फर्जी मतको आशंका गर्दै मतगणना रोकेपछि स्थिती बुधबारसम्म समाधान हुन नसकेको हो । जसका कारण विव्यसको मतपरिणाम आउन सकेको छैन । विव्यसको निर्वाचनमा एमालेका तर्फबाट अध्यक्षमा प्रेमबहादुर राम्जा, खुल्ला सदस्यमा तिलाकुमारी बिक र दसिलत सदस्यमा तिलिकुमारी विश्वकर्मा प्रतिष्पर्धामा हुनुहुन्छ भने गठबन्धनबाट अध्यक्षमा तिलकबहादुर वली, खुल्ला सदस्यमा आशा पोख्रेल चौधरी र दलित सदस्यमा केवलप्रसाद परियार प्रतिष्पर्धामा हुनुहुन्छ ।

चरकमटियाको विव्यसमा प्रत्यक्ष निर्वाचित ३ जना, अभिभावकहरुबाट ३ जना मनोनित, पदेन सदस्यमा १ जना जनप्रतिनिधि, शिक्षा प्रेमी चन्दादाताबाट १ जना, विद्यालय निरिक्षक १ जना र बालक्लवबाट २ जना प्रतिनिधि रहने गरी ११ सदस्यीय विद्यालय व्यवस्थापन समिति रहने प्रावधान रहेको छ ।

Blog Post Ad Blog Post Ad