Ad Area

आजबाट शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक अपर्याप्त


घोराही, ३ बैशाख । दाङमा आजबाट यो वर्षको शैक्षिक सत्र शुरु हुँदैछ । विद्यार्थी भर्ना अभियानदेखि विद्यार्थीहरुका लागि आवश्यक पर्ने पाठ्यपुस्तकको जोहो गर्नुपर्ने बेला भएपछि पुस्तक व्यवसायीलाई पुस्तकको जोहो गर्न भ्याई नभ्याई छ भने अभिभावक र विद्यार्थीलाई पुस्तक पाईने हो वा होईन भन्ने पिरलो भएको छ । विगत वर्षमा विद्यार्थीले पढाई शुरु भएको लामो समयसम्मपनि पुस्तक पाउन सकेका थिएनन् ।
संस्थागत विद्यालयको पुस्तक केही सहज भएपनि सामुदायिक विद्यालयका विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन । जसले गर्दा सर्बत्र आलोचना भएको थियो । यो वर्ष पनि विद्यार्थीको हालत विगत जस्तै हुने पो होकी भन्ने चिन्तामा रहेका विद्यार्थी तथा अभिभावकहरुका लागि केही राहत हुने भएको छ । हालसम्मको अवस्था अनुसार दाङमा सामुदायिक विद्यालयका लागि तल्लो कक्षाबाट पुस्तक आउन सुरु गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि चाहिने पुस्तक चैत अन्तिमबाट जिल्ला आउन शुरु गरेको दाङ देउखुरी पुस्तक तथा स्टेशनरी व्यवसायी समितिले जनाएको छ । समिति अध्यक्ष शंकर शर्माका अनुसार, बैशाख ३ गते आजबाट यो वर्षको शैक्षिक सत्र शुरु हुन लागेका बेलामा कक्षा १ देखि ५ सम्मका लागि केही विषय बाहेक अधिकांश पुस्तक जिल्लामा आई पुगेको छ ।
जिल्लाका सबै सामुदायिक विद्यालयहरुका लागि तुलसीपुरमा डाँगी स्टेशनरी डिपोबाट, घोराही क्षेत्रमा हिमाल बुक्स एण्ड स्टेशनरी डिपोबाट, नारायणपुर क्षेत्रमा प्रतिभा पुस्तक नारायणपुर डिपोबाट र लमही क्षेत्रमा छायाँछवि पुस्तक डिपोबाट पुस्तक बिक्रि भईरहेको छ । पुस्तक व्यवसायीका अनुसार कक्षा ५ सम्मका विद्यार्थीका लागि करीव ५० प्रतिशत पुस्तक जिल्लामा आईपुगेको छ ।
जिल्ला अध्यक्ष शर्माका अनुसार, कक्षा ४ र ५ को पुरै सेट किताव जिल्लामा आई पुगेको भएपनि कक्षा १ को ४ वटा पुस्तक पुस्तकमध्ये अंग्रेजी आएको छैन । कक्षा २ को ४ पुस्तकमध्ये सेरोफेरो पुस्तक आई पुगेको छैन । यसैगरी, कक्षा ३ को ४ किताब मध्ये हालसम्म गणित र सामाजिक विषयको पुस्तक आईपुगेको छैन ।
कक्षा ६ देखि १० सम्मको पुस्तक पनि अझै जिल्लामा आई पुगेको छैन । पुस्तक व्यवसायी समितिका अनुसार, कक्षा ६ देखि १० सम्मका लागि आज आईतबार नेपालगंजबाट जिल्लाका लागि पुस्तक आउने भएको छ । ‘कक्षा ६, ७, ८, ९ र १० को आज आईतबार किताब आउने भएको छ’, जिल्ला अध्यक्ष शर्माले भन्नुभयो, ‘कोटा प्रणालीका आधारमा पुस्तक वितरण हुने गरेको छ । पहिले पहाडी क्षेत्रमा पुस्तक पठाईएको छ, अब सुगम जिल्लामा पुस्तक पठाउने तयारी अनुसार दाङको पालो आएको हो । जिल्लामा विगत वर्षमा भन्दा यो पटक केही सहज रुपमा पुस्तक पाईन्ट की भन्ने अपेक्षा हो तर अझै भन्न सकिने अवस्था छैन ।’
पुस्तक आलोपालो प्रणालीमा वितरण गर्नुपर्ने अवस्था रहेकाले एकै पटक सहज रुपमा पुस्तक पठाउन समस्या रहेको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयका लागि जनक शिक्षा तथा सामग्री केन्द्रले पुस्तक प्रकाशन गर्ने हुँदा सबै कक्षाको पुस्तक छपाईमा पनि ढिलाई भएको पुस्तक व्यवासायीको भनाई छ ।
हिमाल बुक्स एण्ड स्टेशनरी घोराहीका संचालक प्रेम डाँगीले यो वर्ष कक्षा ५, ८ र १० को ऐच्छिक विषय बाहेक सबै पुस्तकको पाठ्यक्रम परिवर्तन भएपछि नयाँ पुस्तक आउन ढिलाई हुने भएको बताउनुभयो । ‘पाठ्यक्रम नै परिवर्तन भएको बेलामा समय मै पुस्तक छपाई गर्नुपर्ने भएपनि अहिलेसम्म पुस्तक छपाई नहुनुले समयमा विद्यार्थीको हातमा पुस्तक पुग्नेमा यो वर्ष पनि शंका छ’, उहाँले भन्नुभयो ‘प्रकाशन गृहमा बुझ्दा छपाईका लागि समय लाग्ने जवाफ आउने गरेको छ ।’
यसैगरी, सामुदायिक विद्यालयको अंग्रेजी माध्यमका पुस्तक यो वर्ष आउने सम्भवना न्यून छ । जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाईको काम गर्ने हुँदा यो पटक निश्चित नभएको पुस्तक व्यवसायीको भनाई छ । ‘पाठ्यक्रम विकास केन्द्रले समयमै पाठ्यपुस्तकको अवस्था तयार नपारिदिदा केन्द्रले किताब छापेको छैन’ पुस्तक व्यवसायी डाँगीले भन्नुभयो ‘भदौसम्म हो भने काम होला नभए यो पटक सम्भव छैन भन्ने कुरा आएको छ । यो भनेको पुस्तक छपाई नहुने संकेत हो ।’
सामुदायिक विद्यालयमा अंग्रेजी, सामाजिक र नेपाली साविककै लागू हुने भएपनि अंग्रेजी माध्यमको कन्भरसेसन कितावहरु ५ देखि १० कक्षासम्मको अवस्थाका बारेमा जनक शिक्षा सामग्रीले चासो लिएको छैन । जिल्लामा सबै विद्यालयको संख्या ६ सय ३० बढी रहेको तथ्यांक छ ।
संस्थागत विद्यालयहरुका लागि पनि विभिन्न प्रकाशनका पुस्तक बजारमा आईपुगेको बताईएको छ । यद्यपि, संस्थागत विद्यालयहरुले कुन प्रकाशनको पुस्तक यो वर्ष लगाउने भन्ने टुंगो लगाई नसकेकाले पुस्तक बिक्रि हुन नसकेको बताईएको छ । आजबाट जिल्लामा शैक्षिक सत्र शुरु हुन लागेकाले यसको पनि टुंगो लाग्ने पुस्तक व्यवसायीको भनाई छ ।

Blog Post Ad Blog Post Ad