Ad Area

मावि बालविकासमा १० महिने विल्डिङ इलेक्ट्रिसियन तालिम सुरु


घोराही, ३ बैशाख । स्थानीय स्तरमै सीपसहितको स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ युवाहरुका लागि निशुल्क विल्डिङ इलेक्ट्रिसियन तालिम सुरु भएको छ ।

इन्स्योर-२ परियोजना र घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा घोराही १४ स्थित बालविकास माविको प्राविधिक सहयोगमा आईतबारबाट १० महिने पेशागत विल्डिङ ईलेक्ट्रिसियन निशुल्क तालिम सुरु भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमारी बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा तालिम उदघाटन भएको हो ।
सो अवसरमा नगरप्रमुख चौधरीले युवा जनशक्तिलाई सीप र गुणस्तरसहितको दक्ष जनशक्तिका रुपमा विकास गर्न आवश्यक रहेको हुँदा स्थानीय सरकार अहिले सामाजिक, आर्थिक विकासको जग बलियो बनाउन केन्द्रित भएको बताउनुभयो । जुन सुकै क्षेत्रको सीप सिकेर पेशा, व्यवसाय गरेमा भविष्यमा दुख पाउन नपर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा स्थानीय सरकारको ध्यान गएको उहाँको भनाई थियो । सीप सिकेर यहीँ स्वरोजगार गर्न, उद्यम गर्न, आफ्नै देशमा सीपको उच्चतम प्रयोग गर्न अपिल गर्दै उहाँले स्थानीय सरकारले काम गर्ने वातावरण बनाउँदै लगेको उल्लेख गर्नुभयो । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारका लागि आकर्षित भए पनि हातमा भरपर्दो सीप नहुँदा समस्या भोग्न बाध्य भएको जस्ता कारणले अलपत्र पर्ने अवस्था आएको हुँदा हरेक व्यक्ति कुनै न कुनै सीपमा दख्खल राख्न सक्ने हुन जरुरी रहेको बताउनुभयो ।

 

कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष भानसिंह बुढाले सीप सिक्नका लागि स्थानीय सरकारले अवसर प्रसस्त रुपमा दिलाउने काम गरेको बताउनुभयो । उहाँले तालिमको सही उपयोग गरेर अधिकतम लाभ उठाउन अपिल गर्दै समय र श्रम लगानी बाहेक सबै निशुल्क रुपमा पाएको अवसरलाई सीप विकासमा निखारता ल्याउने गरि सिक्न सुझाव दिनुभयो ।

२० जना प्रशिक्षार्थीले विल्डिङ इलेक्ट्रिसियन तालिम निशुल्क रुपमा सिक्न पाउने तथा दैनिक खाजा भत्ताको पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक एवम् निमित्त प्रधानाध्यापक झग्गुप्रसाद पौडेलले बताउनुभयो ।

Blog Post Ad

घोराही उपमहानगरपालिकाभित्र बसोबास गर्नेलाई अवसर प्रदान गरिएको १० महिने तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

तालिमका बारेमा सिटिईभीटी संयोजक पूर्णबहादुर शाहीले जानकारी गराउनुभएको थियो । उहाँले २०७५ सालबाट बालविकास माविले सिटिईभीटीबाट इलेक्ट्रिसियन सम्बन्धि तालिम ४० जनालाई प्रदान गरिसकेको छ भने यो पटक इन्स्योर-२ परियोजनासँगको सहकार्यमा पहिलो पटक २० जना विल्डिङ इलेक्ट्रिसियन उत्पादन गर्न लागेको बताउनुभयो । तालिमको प्रशिक्षकमा प्रेम चौधरी र प्रकाशचन्द्र बुढा हुनुहुन्छ ।

सो अवसरमा, सरस्वती मावि काठेकोलकी प्रधानाध्यापक बसन्ता पौडेल, सामाजिक विकास महाशाखाका अधिकृत नारायणप्रसाद पौडेल, प्रशिक्षार्थी कुनिन्थ थापालगायत बोल्नु भएको थियो ।

कार्यक्रम संयोजक एवम् निमित्त प्रधानाध्यापक झग्गुप्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक लक्ष्मी केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad