Ad Area

बास दाङद्वारा प्रमुख जिल्ला अधिकारी वैद्य समक्ष ११ बुँदे ज्ञापन पत्र पेश


घोराही, ५ बैशाख । बागेश्वरी असल शासन बास नेपाल दाङ शाखाले जिल्लामा असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तीकरण, स्वयंसेवा, बालअधिकार, बालसंरक्षण, लैंगिक हिंसा न्यूनिकरण, संस्थागत विकासका क्षेत्रलगायत पारदर्शी र चलायमान बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ११ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

बास दाङ शाखा अध्यक्ष बिपिन आचार्यको नेतृत्वमा गएको बासको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई हरेक सरकारी निकाय तथा गैर सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति र लापरवाहीका विरुद्ध शुन्य सहनशिलताको विकास गर्न गराउन स्थानीय प्रशासनको भूमिका बढाउन अपिल गर्दै ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाएको हो ।

जिल्लामा सुशासन कायम गर्न जिल्ला प्रशासन कार्यालयको भुमिका रहेको हुँदा सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गर्न, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाउन, नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने व्यवस्था मिलाउन, भ्रष्टाचार विरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गर्न ध्यानाकर्षण गराईएको छ ।

यसैगरी, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गर्न, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गर्न, जिल्ला स्तरमा गठित भ्रष्टाचार विरुद्धको समितिलाई सक्रिय पार्नलगायत विषय उठान गरी कार्यान्वयन गर्न ज्ञापन पत्रमार्फत अपिल गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वैद्यले प्रशासनिक तथा सामिाजिक कृयाकलापलाई नियमित, प्रभावकारी र जनमैत्री बनाउने काममा स्थानीय प्रशासन लागि परेको जनाउँदै बास नेपालले गरेको ध्यानाकर्षणले थप जवाफदेही बनाउन सहयोग पुगेको बताउनुभयो । यसका लागि जिल्लास्थित सबै निकाय, कार्यालयहरुको अनुगमन, निरिक्षण तथा अवस्थाका बारेमा जानकारी लिने सेवा गुणस्तरमा ध्यान दिनसचेत गराउने प्रतिवद्धता पनि जनाउनुभयो ।

यसैबीच, बास नेपाल दाङ शाखाले मंगलबार जिल्ला प्रशासन कार्यालयबाट जिल्लाभर कार्यक्रम गर्न तथा भ्रष्टाचार विरुद्ध शुद्धिकरण अभियान संचालन गर्न अनुमति प्राप्त गरेको छ । योसँगै बासले अब स्थानीय तहसँगको समन्वयमा जिल्लाभर आफ्ना नियमित कृयाकलाप गर्ने तयारी गरेको सचिव बिमला घर्तीले जानकारी दिनुभयो ।