जहाँ दलित महिला पूजारी छन्

रिता नेपाली हरेक विहान सबेरै उठ्छिन्, शरीर शुद्ध गर्छिन् अनि मन्दिर पुग्छिन् । धुपवत्ती सल्काएर नाग, शिव र गणेश मन्दिरमा पालैपालो पूजा गर्छिन् । उनी कुनै मनोकामना पूरा गर्न दिनदिनै मन्दिर जाँदैनिन्, उनी त बिभिन्न आकांक्षा लिएर मन्दिर आउने भक्तजनकी पूजारी हुन् ।
उनी दाङ घोराही १८ मसिनास्थित नागेश्वर महादेव पार्वती मन्दिरकी पूजारी हुन् । मन्दिरमा आउने भक्तालु उनीसँग टीका लगाउँछन्, प्रसाद चढाउँछन् । देवी मानेर उनीसँग आशिष लिन्छन् । दलितकी छोरी, दलितकी बुहारी । धेरैलाई लाग्छ होला, दलितलाई मन्दिर प्रवेश गर्न नदिइने समाजमा दलित पूजारी कसरी सम्भव छ ? मन्दिर भनेपछि धेरैजसोको मस्तिस्कमा ब्राम्हण पूजारीको चित्र आउँछ तर यहाँ ब्राम्हण त भक्तजन पो छन् । मन्दिरमा आउने भक्तजन उनलाई दलित भनेर भेदभाव गर्दैनन् । न त जातियताको प्रश्न नै उठाउँछन् ।
दाङ घोराही–१५ का ७२ बर्षीय जयानन्द शर्मा ब्राम्हण हुन् तर उनी पूजारी होइनन् । उनी हुन् रिताका भक्त । रिताबाट टिका थाप्छन् र देवीका रुपमा ढोग गर्छन् । उनी ब्राम्हण समाजका केन्द्रीय उपाध्यक्ष पनि हुन् तर दलित पूजारीबाट टिका थाप्न कुनै संकोच छैन । उल्टै ब्राम्हण समाजबाटै गत महिना रितालाई सम्मान समेत गरे ।
यहाँ पाँच बर्षदेखि दलित महिला पूजारीबाट ब्राम्हण, क्षेत्रीले टिका थापिरहेका छन्, आशिष लिइरहेका छन् । ‘धर्मशास्त्रले जातीयतका आधारमा कसैलाई विभेद गरेको छैन । धर्म शास्त्रमा कुनै जात ठूलो सानो, छुतअुछुत भनेर उल्लेख भएको पाइदैन,’ शर्माले भने, ‘कसैलाई अवहेलना गर्न धर्मसँग जोडेको कुरीती हो यो । हामी सबै समान हौं । सबै भगवानका सन्तान हौं ।’
मानिसको जात कर्मले सिर्जना गर्ने उनले बताए । ‘दलित भन्ने हुँदैन । मान्छेको कर्मले हुने कुरा हो । कर्म के गर्छ, त्यही मान्छन्,’ उनले भने,‘थरका आधारमा जात छुट्याउने र विभेद् गर्ने कुुरा समाज विकासका बाधक हुन् ।’
मन्दिरमा एक बर्षदेखि पूजारीका रुपमा काम गर्दा रितालाई पनि कोही कसैले जातीय छुवाछुतको कुरा उठाएको अनुभव छैन । ‘सबै जातजातिका भक्तालुहरु आएर पूजाआजा गर्नुहुन्छ । टीका ग्रहण गर्नुहुन्छ । कसैले दलित भनेर भेदभाव गरेको छैन,’ उनले भनिन्,‘धार्मिक आस्था बोकर मन्दिरमा आउनेमा ब्राहमण समूदायकै बाहुल्यता छ ।’ उनी मन्दिरकी पूजारीसँगै संरक्षक पनि हुन् । त्यहाँ रहेका नाग, गणेश र शिव मन्दिरमा पूजापाठदेखि रेखदेख गर्ने जिम्मेवारी सबै उनीमाथि छ ।
दलित महिला कसरी पूजारी भए ?
कुनै समय अछुत भनिएका दलित समूदायकी रिता नेपाली कसरी मन्दिरकी पूजारी भइन् त ? यो प्रसंग जोडिन आउँछ, पार्वती विकसँग । रिताअघि त्यही मन्दिरमा पूजारी थिइन् गाउँकै पार्वती विक । उनी नै मन्दिरको पहिलो पूजारी हुन् । या भनौ मन्दिरको श्रृष्टीकर्ता । पाँचवर्ष एकदिन पार्वतीले सपनामा नाग देखिन् । त्यही दिनबाट उनी काँप्न थालिन् । देविदेउताका नाम लिदै बर्राबराउने गरिन् । एक किसिमको दैविक शक्ति देखा प¥र्याे, उनमा ।
यहीक्रममा उनी मसिना गाउँमा शिरानमा पुगिन् जहाँ नाग निस्किएका थिए । उनी त्यहीं कुटी बनाएर बस्न शुरु गरिन् । विहान उठेर नाग निस्किएकै ठाउँमा पुजा गर्थिन् । नाग देउताको नाम लिदै काँप्थिन् पनि । कहिले नागझै भुइमा घिस्रिन्थिन् । गाउँले सबै अच्चम परे । उनीहरुलाई लाग्यो, यो त दैविक शक्तिको कमाल हो ।
शुरुमा त उनी को हुन् र कहाँबाट आएकी हुन् भन्ने कसैलाई पत्तो भएन । पछि गाउँकै दलित महिला भएको थाहा भयो । उनी दलित समुदायकी भन्ने खुलेपनिे समाजले जातीयताको प्रश्न उठाएन । यसलाई सहजै लिए । बरु सिंगो समुदायले नै उनलाई माताका रुपमा अगाडी सारे । उनका लागि कुटी तयार गरिदिए । त्यतीले मात्र भएन उनका लागि मन्दिर नै बनाइदिए । मन्दिरको नामाकरण समेत उनको नामबाट भयो–नागेश्वर महादेव पार्वती मन्दिर ।
ब्राहमण समूदायकै व्यक्तिहरुले मन्दिर बनाउने अभियानमा अग्रसरता लिए । ‘माता (पार्वती) को लागि मन्दिर बनाइदिनुपर्छ भन्ने हाम्रा सोच बन्यो,’ नागेश्वर पार्वती मन्दिरका अध्यक्ष ज्ञानबहादुर रायमाझी भन्छन्, ‘समुदायबाटै आर्थिक सहयोग जुटाएर मन्दिर बनाउन शुरु ग¥यौं ।’ दलित माताकै नाममा मन्दिर बनाइने भनेपछि सहयोग पनि राम्रो जुट्यो । करिब २० लाख उठेपछि मन्दिर तयार भयो । मन्दिर स्थापनापछि विधिका साथ पार्वतीलाई पुजारीका रुपमा मन्दिर प्रवेश गराइयो ।
‘हिजोको रुढीवादी सोचमा ब्राहमणलाई नै मन्दिरको पूजारी बनाइनुपर्छ भन्ने थियो,’ रायमाझीयले भने, ‘तर दलित माता (पार्वती) नै मन्दिरको श्रृष्टीकर्ता भइसकेपछि छुतअछुत हँुदैन भन्ने हामीलाई लाग्यो । छुवाछुत प्रथालाई मान्नु हुन्न भनेर दलित मातालाई नै मन्दिरको पूजारी बनायौं ।’ यसले कोही जात सानो, ठूलो हुँदैन भन्ने सन्देश दिएको उनले बताए । ‘सबै जात समान हुन् । जातिय विभेद गर्नुहुँदैन भन्ने सन्देश दिन दलितलाई पुजारी बनायौं,’ उनले भने,‘दलितबाटै मन्दिरमा धार्मिक पूजापाठ शुरुवात ग¥यौं । बिस्तारै यसलाई सबैले स्विकार्दै गए ।’
यसरी पार्वती मन्दिरको पुजारी भइन् र मन्दिरका देवीदेउता दलितबाट पुजिने र दलितबाटै टीका ग्रहण गर्ने कुरा सबैलाई स्विकार्य हुँदै गयो । त्यसयता हरेक वर्ष मन्दिरमा नाग पञ्चमीका दिन हिन्दु दर्शनाथीहरु आउँछन् । शिवरात्री लगायतका विभिन्न चाडपर्वहरुमा सबै जातजाति आएर पूजापाठ गर्छन् । पार्वतीले भनिन्, ‘जातभात छुवाछुत भन्ने कतै हुँदेन । यो त मान्छेले बनाएको हो । को ब्राम्हण को दलित ? भगवानका लागि सबै समान् । यसलाई सबैले स्विकार्न थालेका छन् ।’
दलित पूजारीलाई नै निरन्तरता
तीन वर्ष अघि रिताले पनि पार्वतीले झै सपनामा नाग देखिन् र मन्दिरमा गइन् । यही क्रममा उनको भेट पार्वतीसँग भयो । रिता नियमितजसो मन्दिरमा आउजाउ गर्थिन् । पार्वतीलाई मन्दिरको पूजापाठमा सघाउँथिन् र मन्दिरका सबै पुजा पनि सिक्दै गइन् । चार वर्षपछि एकदिन पार्वतीलाई लाग्यो, उनको ठाउँ यहाँ होइन अन्यत्रै हो । भगवानले आफूलाई अन्यत्रै बलाएको भन्दै उनी रोल्पाको मिरुल भन्ने ठाउँमा कुटी बनाएर बस्न थालिन् । अहिले उनी उतै छिन् ।
पार्वती मन्दिर छाडेर हिडेपछि मन्दिर पुजारीबिहिन भयो । तर त्यहाँको समुदायले उनको विकल्पमा अरु पुजारी खोजेन । रितालाई नै मुख्य पुजारीका रुपमा अगाडी सारे । मन्दिर व्यवस्थापन समिति अध्यक्ष रायमाझी भन्छन्, ‘मन्दिरकोे श्रृष्टी दलितबाट भएकाले हामीले फेरि पनि दलितलाई नै पुजारी राख्यौं । विकल्पमा अरु पूजारी खोजोनौं । जातिय छुवाछुत हुँदैन भन्ने सन्देश दिन दलित पुजारीलाई मन्दिरमा निरन्तरता दियौं ।’
मन्दिरमा पूजारी भइसकेपछि रितालाई दलित वा अछुतो जस्ता विभेद न त त्यहाँको समुदायलको कसैले गरेका छन् न त मन्दिरमा आउने भक्तालुहरुले । सबैले उनलाई माताका रुपमा स्विकारेका छन् । ‘तिमी दलित हौ, मन्दिर पुज्न हुन्न भनेर कसैले विभेद गरेको पाएकी छैन । सबै जातजातिका आएर पूजा गर्नुहुन्छ । सजिलै मेरो हातबाट टिका लगाउनुहुन्छ,’ उनले मुस्कानका साथ खुशी पोखिन्,‘बरु टाढा टाढाबाट ब्राहमण समूदायका भक्तहरु समेत मलाई खोज्दै मन्दिर आइपुग्छन् । टिका थापेर, प्रसाद लिन्छन् । माताका रुपमा ढोग्छन् । ’
अर्की दलित पूजारी
मसिनासँगै जोडिएको अर्को गाउँ छ जलुके । त्यहाँ पनि नाग मन्दिर छ । जसको मुख्य पुजारी पनि दलित समुदायकै लक्ष्मी नेपाली छिन् । उनी पूजारी बन्नुको कथा पनि पार्वती र रिताको जस्तै छ । चार वर्षअघि उनले पनि सपनामा नाग देवता देखेकी थिइन् । त्यसपछि उनका जीवनमा अनौठो घटना हुन थाले । घरदेखि केही पर नाग निस्किए । त्यही दिनबाट उनले नागको पूजाआजा शुरु गरिन् ।
नाग देखिएको ठाउँमा दैविक शक्ति छ भन्दै समुदायले नाग मन्दिर स्थापना गरे । मन्दिरमा करिब एकवर्ष एकजना क्षेत्री महिलाले पुजारी भएर काम गरिन् । तर लक्ष्मी नेपालीको जीवनमा अनौठो घटना हुन छाडेन । त्यसपछि लक्ष्मी आफै पुजारीका रुपमा अगाडी सरिन् । मन्दिरमा गरिने पूजाआजा र भक्तालुहरुलाई टिका लगाइदिने जस्ता धार्मिक कर्ममा अग्रसर भइन् । समूदायले उनलाई साथ दिए ।
तीनवर्ष यता उनले नै मन्दिरमा सबै पूजापाठ गराउँदै आएकी छिन् । आज आफै मन्दिरको पुजारी भइरहँदा उनलाई फरक अनुभती भैरहेको छ । कुनै समय दलित समूदायका लागि मन्दिरमा पुजाआजा गर्न पाउन पनि कठिन थियो । दलितलाई मन्दिर प्रवेशमा रोक लगाइन्थ्यो । हदैसम्मको छुवाछुत र भेदभाव गरिन्थ्यो । दलित समूदाय माथि भएका विभेद्का यस्ता तमाम घटना उनले पनि सानै उमेरबाट देख्दै आएकी थिइन् ।
आज आफै मन्दिरको पुजारी हुन पाउँदा उनी अचम्मा मान्छिन् । देवीदेउता पुज्नेदेखि सबै नित्य पूजाआजा गर्दै आएकी छिन् । ब्राम्हण समुदायका मान्छेहरु पनि टीका थाप्न कुनै संकोच मान्दैनन् । यो उनका लागि खुसी मात्र हैन आत्मगरौवको कुरा भएको छ । मन्दिरमा पुजारी भएको तीन वर्ष बित्दा पनि उनले जातीय भेद्भाव भोगेकी छैनन् । ‘दलित भनेर आजसम्म कसैले घृणा गरेका छैनन्,’ उनले भनिन्, ‘सबैले पूजारी आमा भनेर मान गर्नुहुन्छ, मेरो हातबाट टीका लगाउनुहुन्छ ।’ मान्छेले जातीय विभेद् गरे पनि भगवानले कसैलाई विभेद नगरेको उनी बताउँछिन् । भन्छिन्, ‘भगवानका लागि हामी सबै समान हौं । जातभात त मान्छेले बनाएको हो ।’
दलित होइन देवी
दलित समूदायका यी तीन पुजारीहरुले मन्दिरमा पूजापाठको स्विकृति मात्र पाएका छैनन् । समाजबाट माता र देविको उपमा पाएका छन् । पार्वतीलाई त्यहाँको समुदायले मन्दिरको सृष्टीकर्ता ठान्छन् र माताको रुपमा सम्मान गर्छन् । रितालाई पनि अहिले माताका रुपमै स्विकार गरेका छन् । ‘मन्दिरमा आउने भक्तजनहरु माता भनेर बेलाउँछन् । कसैले अछुत जस्ता अशब्द प्रयोग गरेका छैनन्,’ उनले खुशी साटिन् ।
लक्ष्मीलाई कतिले नागको माता भन्छन् । धेरैले उनलाई ‘पूजारी आमा’ भनेर सम्बोधन गर्छन् । अहिले यही नामबाट चिनिन्छिन् उनी । भक्तालुहरु उनलाई नागकी माता भनेर टाढाटाढाबाट खोज्दै आउँछन् र दर्शन पाएर फर्किन्छन् ।
मन्दिर सिलन्यास पनि दलितबाटै
हिन्दु धर्ममा गरिने पूजापाठ होस् की मन्दिर सिलान्यास, हरेक धार्मीक कार्यहरुमा ब्राम्हणलाई नै अगाडी सारिन्छ । मसिनामा भने मन्दिरका पूजारी बनाउने मात्रै होइन नयाँ मन्दिर सिलान्यास पनि दलितबाटै गराइएको छ ।
मसिनाकै गणेश बेल्बासे ब्राम्हण हुन् तर धर्मका नाममा गरिने जातीय विभेदलाई गलत रुढीबाढी परम्परा ठान्छन् उनी । उनले जातिय छुवाछुत जस्ता कुरा धर्मशास्त्रमा नहुने भन्दै एकजना दलितबाटै मन्दिर सिलन्यास गराएका छन् । उनले आफ्नो स्वर्गिय बुबा गुमान सिंहको सम्झनामा निर्माण हुन लागेको शिव मन्दिर गत साउन २६ गते स्थानीय तेजबहादुर विकबाट सिलान्यास गराए ।
‘धार्मिक कार्यहरुमा ब्राम्हण र क्षेत्री नै चाहिने हाम्रो रुढीवादी परम्पाराहरु गलत छन्,’ उनी भन्छन्, ‘शुद्धाशुद्धी भए हरेक जातजातिले पूजापाठ जस्ता पवित्र धार्मिक कार्य गर्न पाउँछन् ।’ जातियताका आधारमा कोही छुत कोही अछुत नभएको उनी बताउँँछन् । राज्यले जातियताको आधारमा कसैलाई विभेद गर्न बन्देज गरेको छ । तथापी जातिय विभेदको जरा गाडेको नेपाली समाज जातिय विभेदका एकआध घटना बेलामौका भइरहेका छन् । ‘राज्यले जातिय विभेद र छुवाछुत अन्त्यको घोषणा गरिसकेको अवस्थामा साँच्चै छुवाछुत छैन भन्ने सन्देश दिनुपर्छ भनेर दलितबाटै मन्दिर सिलान्यास गर्ने सोच बन्यो,’ उनले भने ।