पुल निर्माणमा ढिलाई, छ बर्ष वित्दा पनि बनेन्

दाङ,४ जेठ । निर्माण व्यवसायीको लापरवाहीका कारण दाङमा २६ महिनामा बन्नुपर्ने पुल ६ बर्ष बढी समय वितिसक्दा पनि निर्माण हुन सकेको छैन । ग्रामीण सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१५ को कोठरी–डुरुवा जोड्ने हापुरखोला पुल २०७५ साल बैशाख १८ गते सक्नेगरी २०७३ पुसको १९ गते सूर्य कन्स्ट्रक्सन प्रालि सुर्खेतसँग करिव १३ करोड रुपैयाँमा सम्झौता भएको थियो ।
तर निर्माण व्यवसायीको लापरवाहीका कारण चार बर्षअघि निर्माण सक्नुपर्ने पुल अझैसम्म बन्न सकेको छैन । पुल निर्माणका लागि तीन पटक म्यादथप भैसक्दा समेत पुल निर्माणको काम पुरा हुन सकेको छैन । सडक डिभिजन कार्यालय दाङले तेश्रो पटक गत असारमा एक बर्षका लागि म्यादथप गरेको थियो । तेश्रो पटक थपिएको म्याद सकिन अव दुई महिना बाँकी मात्रै बाँकी रहेको छ । तर पुल तयार हुने अवस्था भने छैन ।
निर्माण व्यवसायीको लापरवाहीले पुल निर्माणमा ढिलाई भएको स्थानीय कमल चौधरी बताउँछन् । ‘निर्माण व्यवसायीले समयमै इमान्दारिता पूर्वक काम गरेको भए पुल बनिसक्थ्यो’, स्थानीयवासी समेत रहेका चौधरीले भने,‘निर्माण व्यवसायीकै ढिलाइले पुल नवन्दा जनताले दुःख पाइरहेका छन् ।’ समयमै पुल निर्माण भएको भए स्थानीयलाई हिडडुलसँगै सवारी साधनहरु सञ्चालनमा सहजता हुने थियो ।
पुलको सुपर स्ट्रक्चर निर्माणको काम सकिएको भएपनि सवस्ट्रक्चर निर्माणको काम हुन नसकेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर विकेश लाखे बताउँछन् । इन्जिनियर लाखेले भन्नुभयो,‘पुलको अहिलेसम्म पिलर निर्माणसँगै थोरै भएपनि ढलान गर्ने काम भएको छ ।’ उनका अनुसार पुल निर्माणको काम २०८० साल असार मसान्तभित्र सक्नुुपर्नेछ । तर अहिले भैरहेको निर्माणको गति अनुसार पुल निर्माण सकिने अवस्था छैन ।
सुरुमा पुल निर्माणका क्रममा निर्माण व्यवसायीले जग्गा विवाद र कोरोना संक्रमणको बाहना बनाउँदै पटक पटक काममा ढिलाई गर्ने गर्दा समयमा पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । छिटोभन्दा छिटो पुल निर्माणको काम सक्नुपर्ने भन्दै पटक–पटक व्यवसायीलाई कार्यालयले ताकेता गरेपनि निर्माण व्यवसायीले विभिन्न बहना बनाउँदै निर्माणमा ढिलाई गर्ने गरेको छ ।
पछिल्लो समय बजेट अभावका कारण पुल निर्माण ढिलाई भैसकेको निर्माण व्यवसायीले बताउने गरेको इन्जिनियर लाखे बताउँछन् । ‘पुल निर्माण आउने असार मसान्तभित्र सक्नुपर्ने हो । तर अहिलेको अवस्था हेर्दा सकिने अवस्था छैन ।’ सम्झौता अनुसार समिति सकिदा थोरै समय भएपनि पुल निर्माणका लागि धेरै काम गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
उनका अनुसार उक्त पुलको प्रगति ५० प्रतिशत भएको छ । समयमा पुल निर्माण हुन नसक्दा स्थानीयले दु.ख पाउनुपर्ने अवस्था रहेको छ । कार्यालयले भने तोकिएको समयमा निर्माण सम्पन्न नभएमा अब म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही हुने इन्जिनियर लाखे बताउँछन् । इन्जिनियर लाखेले भने,‘पुल निर्माणका लागि पटक पटक म्यादथप भएको छ । अव म्यादथप्ने भन्दापनि काम गर्ने निर्माण व्यवसायीलाई कारवार्ही गर्ने तयारीमा छौ ।’