Ad Area

खडेरीले सुक्न थाले मकैका बोट


दाङ, ३० जेठ । लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकै बाली सुक्न थालेको छ । गोड्नुपर्ने समयमा मकैका बोटहरू खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । करिब तीनसाता अघि छरिएका मकै, तरकारीका बेर्ना समयमा बर्सात हुन नसक्दा बारीमै सुक्न थालेका छन् ।

खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका छन् । बारीमा रोपिएका मकैका बोट सुक्ने र ओइलिने गर्दा आपूmहरू चिन्तामा परेको घोराही उपमहानगरपालिका–१२ हापुर तुलसीगञ्ज निवासी किसान बुद्धिराम शर्मा बताउँछन् । किसान शर्माले भने, ‘रोपेको समयअनुसार आजभोलि मकै गोड्नुपर्ने हो तर खडेरीका कारण मकैका बोट सुक्न थालेका छन् । त्यही भएर गोड्नसकेका छैनौँ ।’

उनले करिब १० कठ्ठा जमिनमा रोपेको मकै खडेरीकै कारण गोड्ने समय भए पनि गोड्न नसकेको बताउँछन् । खडेरीका कारण मकैका बोट ओइलाउने र सुक्न थालेपछि मिहिनेत खेर जाने हो कि भन्ने चिन्ताले पिरोलेको घोराही उपमहानगरपालिका–१२ निवासी किसान रीता भट्टाई बताउँछिन् । मकै बाली राम्रो उत्पादन हुने भए पनि लामो खडेरीका कारण यस वर्ष मकै के हुने हो भन्ने चिन्ता थपिएको उनी बताउँछिन् । ‘पानी पर्दैन, रोपेको मकै सुकेर मर्नै लागिसके’, उनले भनिन्, ‘सिंचाइको व्यवस्था भए पनि पानी नपरेर कुलोमा समेत पानी अझै आएको छैन ।’

किसानले बारीमा छरेको मकै मात्र नभएर सबै वर्षेबाली यतिबेला सुक्ने र मर्ने अवस्थामा पुगेको घोराही उपमहानगरपालिका–५ निवासी अर्का किसान शेरबहादुर वली बताउँछन् । पानी परेको भए मकै राम्रो हुने र धानखेतीका लागि व्याड राख्नुपर्ने समय भए पनि व्याड नै राख्न नपाएको उनी बताउँछन् । ‘खडेरीले मकैका बोट सुक्ने र ओइलाउने मात्रै होइन’, उनले भने, ‘धानखेतीका लागि ब्याड समेत राख्न पाइएको छैन ।’ यसरी दुःख गरेर गरेको मकै बाली बारीमै सुक्न थालेपछि किसान चिन्तामा परेको उनी बताउँछन् ।

‘लामो समयसम्म पानी नपर्दा दिनभर मकैका पातहरू ओइलाएर लुथ्रुक्कै हुने गर्छन् र रातिको हुने चिसोले केही बोट भने हरियो देखिन्छन्’, उनले भने, ‘यसरी कतिदिन बाँच्ने हुन् । अबको केही दिनभित्र पानी नपर्ने हो भने मकै जम्मै खेर जानेछ ।’ मकै बाली मात्रै होइन लामो खडेरीका कारण किसानले लगाएका तरकारी बाली बोडी, घुइया, काँक्रा, लौका, करेला पनि सुकेका छन् ।

जेठको अन्तिमसम्ममा धानको ब्याड जमाउन नपाएपछि किसान चिन्तित देखिएका छन् । यो समस्या उनीहरूको मात्रै नभएर सिंचाइ सुविधा नभएका जिल्ला भरका किसानको समस्या रहेको छ । दाङका अधिकांश ठाउँका किसानले लगाएका मकै बाली बारीमै सुक्न थालेका छन् । धेरैजसो ठाउँमा धानको ब्याड अहिलेसम्म पनि किसानले राख्न सकेका छैनन् । अढाइ सातादेखिको चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । यसको प्रत्येक्ष असर किसानलाई परेको छ ।

Blog Post Ad

किसानहरूसँगै गर्मीको असर विद्यालयमा समेत परेको छ । गर्मीका कारण जिल्लाका अधिकांश विद्यालयहरू केही दिन यता बन्द रहेका छन् । अत्यासलाग्ने गर्मीका कारण मानिसको दैनिक जनजीवन समेत प्रभावित बनेको छ । गर्मीका कारण अधिकांश क्षेत्र चलायमान छैनन् ।

Blog Post Ad Blog Post Ad