Ad Area

प्युठान कार दुर्घटना, आठ जनाको मृत्यु


प्युठान, २ जेठ । प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार आठजनाको मृत्यु भएको छ । सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना हुँदा कारमा सवार आठ जनाको मृत्यु भएको हो ।

कार चालकसहित दुई पुरुष, दुई महिला र चार बालबालिका गरी आठ जना सवार थिए । प्रहरीका अनुसार गाडी चालक लमही नगरपालिका–५ का ताराबहादुर कुमालको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।

कार सडकको माथिल्लो घुम्तीबाट पल्टिएर तल्लो घुम्तीमा पुगेको थियो । उनीहरु सबै कारमा च्यापिएका थिए । कार झण्डै ५० मिटर तल खसेको छ । दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल प्युठानमा लगिएकोमा चिकित्सकहरूले आठै जनाको निधन भएको पुष्टि गरेका छन् ।
अस्पतालका चिकित्सक डा. प्रतीक्षा मिश्रका अनुसार आठै जनाको निधन भएको छ । यात्रुहरू दाङको नारायणपुरबाट तीर्थयात्राका लागि स्वर्गद्वारी गएको जानकारी प्राप्त भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Blog Post Ad Blog Post Ad