Ad Area

दाङमा लागुऔषध कारोबार र दुर्व्यसन नियन्त्रणमा चुनौति


घोराही, ११ असार । दाङमा ६ किलो भन्दा बढी आगुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट ४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो । २०७९ असोज २ गते साँझ करिब साढे ६ बजे लमही नगरपालिका वडा नम्बर ९ अमिलियाबाट दुई महिलालाई लागूऔषध चरेसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले पुष्टि गर्नुभयो ।

………………….

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरपालिका–६ कोटगाउँ घर भई हाल घोराही उपहानगरपालिका–१३ सेवार बस्ने ३८ बर्षीया खुशी पुन मगर भनिने एकता पुन मगर थिए । तुलसीपुरबाट भारतको दिल्ली तर्फ जाँदै गरेको ना ७ ख ९०५ नम्बरको बसबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

……………………
अर्को घटना अन्तरगत प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिका १ कालाकाटेबाट लागूऔषध ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१० जगदीशपुरका २५ बर्षीय हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका–११ निवासी १८ वर्षीय मोहम्मद खाँन हुन् । उनीहरुको साथबाट १ सय १३ दशमलव ४६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको थियो ।

…………………
२०७९ चैत्र ८ गते ब्राउनसुगरसहित बुधबार बेलुका दाङमा पाँच जना युवक पक्राउ परे । गढवा गाउँपालिका ४ स्थित दुखीराम चौधरीको खाली घरमा बसेर लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा १० ग्राम ब्राउनसुगरसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्ने घोराही उपमहानगरपालिका १५ का १९ वर्षीय त्रिशक्ती बर्तौला, गढवा–४ का ३५ वर्षीय सद्धाम मनिहार, २४ वर्षीय अनिल पहाडी, २७ वर्षीय प्रदिप चौधरी र २५ वर्षीय मनोज चौधरी हुन् ।

…………………….
गत वर्षको जेठ २१ गते दाङ प्रहरीले घोराहीबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गर्यो । उनीहरू घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ प्रहरीको फन्दामा परे । पक्राउ पर्ने रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर हुन् । पक्राउ परेका दुबै जनाको साथबाट ६ वटा प्लाष्टिकको टुक्रामा राखेको २ सय ३० मिलीग्राम खैरो हेरोइन बरामद भएको थियो ।

Blog Post Ad

यी त केवल प्रतिनिधि घटनामा मात्रै हुन् । पछिल्लो समय लागू औषधको धन्दा र यसको जालो अस्वाभाविक रुपमा बढ्दै गएको छ । युवाहरु लागू औषधको जोखिममा बढी मात्रामा पर्दै गएका छन् । दाङ लागू औषधको ट्रान्जिट पोईन्टका रुपमा रहेको जिल्ला भएको हुँदा पनि यहाँ लागूऔषधका कारोबारीसँगै प्रयोगकर्ताको संख्या वर्षेनी बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ ।

लागुऔषध दुर्व्यसनका कारण समाजले यसले अनेकन असरसमेत पुर्याउने काम गरिरहेको देखिएको छ । जिल्लामा लागूऔषध प्रयोगकर्ताका कारण आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको प्रहरीको भनाई छ । धेरैजसो चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ ।

‘खासगरी मदिरा पसल, फलफूल पसल, किराना पसल लगायतमा चोरी बढी भएको पाइएको छ, लागुऔषध सेवन गर्ने अनि बदमासी गर्ने परिपाटी धेरै पाईएको छ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले भन्नुभयो ‘चोरी गरी भाग्न सजिलो भएका ठाउँ, उज्यालो नभएको र सुरक्षाका पर्याप्त साधनहरु नअपनाइएका पसललगायतमा बढी चोरी भएको पाइएको छ । यी सबै घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिएको छ । यसमा अझ पेशेवर धेरै जसो भेटिने गरेका छन् ।’

उहाँका अनुसार ९० प्रतिशत आपराधिक घटनामा लागुऔषधका प्रयोगकर्ता संलग्न छन् । जिल्लाको बजार क्षेत्रमा १२ देखि २५ वर्ष उमेर समुहका युवाहरु लागूऔषधको कुलतमा फसेको पाईएको छ । बजार क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ताहरु अहिले फैलिँदै गएका रहेका छन् । उहाँले भन्नुभयो ‘राति चोक चौराहा, दोबाटो, पुललगायतका क्षेत्रमा सामूहिक रुपमा बसेर लागुऔषधको सेवन गर्ने र त्यसपछि आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ । उनीहरुको आफ्नै साथीभाइ सर्कल हुन्छ, कहाँबाट कसरी भेटघाट हुन्छ भन्ने पहिचान गर्न नै समस्यामा पार्छन् ।’

लागुऔषधका सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको उहाँले बताउनुभयो । यति मात्रै होईन, जिल्लालाई लागुऔषधमुक्त बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न सरोकार निकाय, संघसंस्थाहरुसँगको सहकार्यमा नियमित रुपमा सचेतनाका कार्यक्रम पनि प्रहरीले संचालन गर्दै आएको छ । लागु औषध दुव्र्यसन हुने स्थान, प्रयोगकर्ताको पहिचानलगायतका काम आन्तरिक रुपमा गरिरहेको प्रहरीले गाउँटोलमा पुगेर पनि सबैलाई सचेतना र कानूनी पक्षका बारेमा जानकारी गराउने काम गर्दै आएको छ ।

‘लागूऔषध प्रयोकर्ताहरु र कारोबारीहरुमाथि निगरानी राख्ने कार्य हुँदै आएको छ’, प्रहरी नायव उपरीक्षक गौतमले भन्नुभयो, ‘प्रहरी एक्लैको प्रयासले लागुऔषधको जालो भत्काउन त अलि गाह्रो छ । यसका लागि स्थानीय सरकार, विभिन्न संघसंस्था, नागरिक समाज, अभिभावक, समुदायको साथ सहयोग अपरिहार्य छ । सबै मिलेर सचेतना अभियानलाई अगाडि बढाउनुपर्ने देखिन्छ, प्रहरीको एकल प्रयासले मात्रै असम्भव छ ।’

समय छँदै युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउनेलगायत सचेतनाको काम गम्भीरतापूर्वक सबै ठाउँमा अगाडि नबढाइए यसले भोलिका दिनमा समाजलाई डरलाग्दो अवस्थामा पुर्याउने अवस्था सिर्जना हुँदै गएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वली बताउनुहुन्छ । ‘युवा पुस्ता बचाउने हो भने सबै गम्भीर हुनुपर्छ । घरबाट बाहिर निस्कको आफ्नो सन्तान घरमा आईपुग्दासम्मको अवस्थाका बारेमा अभिभावकले निगरानी गर्नु जरुरी छ । सन्तानको आनीबानी, उठबस, लवाई खवाई सबैमा ख्याल गर्नुपर्ने बेला आएको छ । कति बेला कस्ताको संगतमा लागेर आफ्नो भविष्य बिगार्छन् भन्ने कुनै टुंगो छैन’ उहाँले भन्नुभयो ‘हरेक युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन नसके असल समाजको परिकल्पना गर्न सकिँदैन । लागुऔषधविरुद्ध सबै सहकार्य गरी अगाडि बढौँ ।’

लागूऔषधका प्रयोग र कारोबारीहरु यूवा नै हुन् । व्यक्तिको चारित्रिकदेखि बौद्धिक र शारीरिक क्षमता मात्र हैन समाज र राष्ट्रकै भविष्यसँग जोडिएको लागुऔषधमा युवाहरुको संलग्नता गम्भीर विषय बन्दै गएको छ । तत्कालिन आवश्यकता, परिवेश र संगतले युवाहरु परिचालित हुने भएकाले यो उमेर समुहलाई जोखिम तरल अवस्था मानिने गरिएको छ ।

दाङमा वर्षेनी बढ्दैछ लागुऔषधका घटना

दाङमा बितेको ३ वर्षमा लागुऔषधका घटना फर्केर हेर्दा बढ्दै गएको पाईएको छ । चालुआर्थिक २०७९–०८० को असार पहिलो हप्तासम्मको अवधिमा लागुऔषध सम्वन्धी मुद्धामा १ सय १३ जना पक्राउ परेका छन् । घटना क्रम र यसको सिलसिला हेर्दा यो संख्या असारमसान्तसम्म अझ बढ्न सक्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा गतवर्षको साउन महिनादेखि असार पहिलो सतामासम्म दर्ता भएका विभिन्न प्रकृतिका ५६ वटा लागुऔषध सम्वन्धी मुद्धाहरुमा १ सय १३ जना लागुऔषध कारोवारी तथा प्रयोगकर्ताहरु पक्राउ परेका छन् ।

जसमा २ सय ३४ ग्राम ६ सय ७२ मिलीग्राम ब्राउन सुगरसहित सवैभन्दा धेरै ९४ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । प्रहरी नायव उपरिक्षक गौतमका अनुसार १० किलो २ सय ग्राम चरेशसहित ५ जना, १३ किलो ३ सय ७५ ग्राम गाजासहित ५ जना र ३ सय ८४ ट्याब्लेटसहित ९ जनालाई पक्राउ परेका छन् ।

जिल्लामा आर्थिक वर्ष २०७८–०७९ मा लागुऔषध सम्वन्धी ५९ मुद्धामा १ सय १६ जना पक्राउ परेका थिए । जसमा ३ सय ९१ ग्राम ४ सय १८ मिलीग्राम ब्राउनसुगरसहित ९३ जना, १७ किलो ५१ ग्राम चरेशसहित ४ जना, ८ ग्राम ७ सय ६० मिलीग्राम अफिमसहित ४ जना, ७ किलो ३ सय ८५ ग्राम गाजासहित ६ जना र १ हजार १६ ट्याप्लेटसहित ९ जना गरेर गतआर्थिक बर्ष १ सय १६ जना लागुऔषध कारोवारी तथा प्रयोगकर्ताहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकमा छ ।

प्रहरीले आर्थिक वर्ष २०७७–०७८ मा जिल्लाका विभिन्न ठाउँबाट ३९ वटा मुद्धामा ७६ जना लागुऔषध प्रयोगकर्ता एव कारोवारीहरुलाई पक्राउ गरेको थियो । जसमा ४ सय ६३ ग्राम ६ सय २० मिलीग्रामसहित ४६ जना, १५ किलो चरेशसहित ६ जना, २१ किलो ७ सय १७ ग्राम अफिमसहित १४ जना, २ किलो ७ सय ३२ ग्राम गाजासहित ५ जना र ६ सय ४५ ट्यावलेटसहित ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सबैभन्दा बढी ब्राउन सुगरसम्बन्धी व्यक्ति रहेका छन् ।

जिल्लामा लागुऔषध दुर्व्यसनीलाई उपचार गर्नका लागि ३ दर्जनबढी पुनस्थापना केन्द्र पनि खुलेका छन् । ती केन्द्रहरुले पनि आफ्नो ठाउँबाट नियन्त्रण र उपचारको प्रयास गर्दै आएका छन् । तर, समुदायमा लागुऔषधको जोखिम बढ्दै गएको छ । यसका लागि घरपरिवारका अभिभावक, सदस्य, विद्यालय, संघसंस्था, स्थानीय सरकार सबै गम्भीर हुनुपर्ने बेला आएको सरोकारवालाहरुको भनाई छ ।

Blog Post Ad Blog Post Ad