Ad Area

विकटबस्तीमा स्वास्थ्य शिविर, गाउँमै पाठेघरको चेकजाँच


दाङ, १२ असार । बंगलाचुली गाउँपालिका वडा नं ८ गोठीवन निवासी भुमा नेपाली गाउँमा प्रजनन् स्वास्थ्यसम्बन्धी स्वास्थ्य परामर्श सहित उपचार पाउँदा खुसी छिन् । भौगोलिक विकटताका कारण पाठेघरसँगै हातखुट्टा दुख्ने रोगबाट पीडित भुमा उपचारका लागि बजार आउन सकेकी थिइनन् ।

ग्रामीण महिला स्वास्थ्य सेवा तथा सचेतना केन्द्रको आयोजना, नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको सहआयोजना एवम् नेपाल टेलिकमको सहयोगमा सोमवार भएको पाठेघरको मुखको क्यान्सर (भिआइए) जाँचसम्बन्धी स्वास्थ्य शिविर एवम् नेपाल टेलिकमको व्यापार प्रबद्र्धनसम्बन्धी सचेतना कार्यक्रममा स्वास्थ्य सेवा पाउँदा खुसी लागेको बताइन् ।

‘सामान्य उपचारका लागि समेत गाउँमा उपचारको व्यवस्था छैन । उपचारका लागि हाँसीपुर स्वास्थ्यचौकी जानुपर्नेछ, त्यो पनि टाढा छ’, भुमाले भनिन्, ‘६० वर्षको उमेरमा एक्लै हिडेर जान सक्ने अवस्था छैन । रोग पालेर बस्नुपर्ने बाध्यता छ ।’ अहिले शिविरमा जाँच गराउँदा खुसी लागेको बताइन् । उनले भौगोलिक हिसाबले विकट बस्तीमा नियमित स्वास्थ्य जाँचका लागि समय मिलाएर कार्यक्रम भइरहनुपर्ने बताएका थिए ।

बंगलाचुली गाउँपालिका वडा नं. ८ कै उमा गाहा मगर पनि गाउँमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा पाउँदा खुसी छिन् । गाउँमा रहेको स्वास्थ्य केन्द्रमा सामान्य उपचार सेवा पाउने गरे पनि उनले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा पाउन सकेकी थिइनन् । करिब एक घण्टा हिडेर शिविरमा आएकी उनले पाठेघरको मुखको क्यान्सरसँगै अन्य स्वास्थ्य परीक्षण गराएको बताइन् ।

‘गाउँमा स्वास्थ्यचौकी त छ तर त्यहाँ पुग्नै धौ छ । त्यही पनि कहिले स्वास्थ्यकर्मी हुँदैनन्, कहिले औषधी पाइँदैन’, उनले भनिन्, ‘त्यसैले हामी बिरामी हुँदा घोराही जानुपर्ने बाध्यता छ । घोराही टाढा भएकाले जान सकेको थिइनँ ।’ भुमा र उमा मात्रै होइन बंगलाचुली गाउँपालिका वडा नं. ३ को भेडाबारी मुलाबारीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सय बढी महिलाको पाठेघरको मुखको क्यान्सरसँगै अन्य रोगको जाँच गरिएको थियो भने निःशुल्क औैषधी र स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।

Blog Post Ad

शिविरमा पाठेघरको मुखको क्यान्सर (भिआइए) स्क्रिनिङ सेवा ७५ जना, शङ्कास्पद भिआइए पोजिटिभ सेवा एक जना, जटिल यौनजन्य सङ्क्रमण सेवा १६ जना, पाठेघर खसेका ४ जनालाई सेवा दिइएको नेपाल परिवार नियोजन दाङ शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिएका छन् । यसैगरी इनप्लान्ट सेवा ४ जना, आयुसिडी निकालेको एक जनासँगै आमा सेवासम्बन्धी सेवा ९० जनालाई प्रदान गरिएको थियो ।

महिलाहरू स्वास्थ्यप्रति सचेत

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य दामा शर्माले महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताएकी छिन् । पाठेघरको मुखको क्यान्सर (भिआइए) जाँच एवम् नेपाल टेलिकमको व्यापार प्रबद्र्धनसम्बन्धी सचेतना कार्यक्रमको उद्घाटन गर्दै शर्माले आफ्नो शरीरमा रोग लुकाएर महिलालाई नबस्न आग्रह गरेकी हुन् ।

ग्रामीण क्षेत्रमा लाजसँगै आर्थिक अभावका कारण धेरै महिलाले आफ्नो स्वास्थ्य परीक्षण गराउन नसक्ने भएकाले विकट बस्तीमा नेपाल टेलिकम र परिवार नियोजनसँग सहयोग र सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरिएको भन्दै शिविरले महिलालाई स्वास्थ्यप्रति सचेत गराउनुका साथै बिरामी महिलाका उपचारमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

‘महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत नहुँदा अधिकाङ्श महिलाहरूमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्या देखिने गरेको छ । यसले भविष्यमा गम्भीर समस्या ल्याउन सक्छ’, शर्माले भनिन्, ‘त्यसपछि स्वयम् महिलाहरूसँगै सरोकारबाला निकाय गम्भीर रूपमा लाग्न जरुरी छ ।’

उनले पाठेघरको क्यान्सरको समस्याबाट बच्न महिलाले निसङ्कोच नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिन समेत आग्रह गरेकी थिइन् । उनले ग्रामीण विकट क्षेत्रमा पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सञ्चार र स्वास्थ्यलाई सँगसँगै विकास गर्नुपर्ने बताएकी थिइन् । सञ्चारको अभावमा कतिपय महिला समस्या भए पनि ज्ञान नहुँदा रोग लुकाएर बस्नुपर्ने अवस्था रहेको भन्दै गाउँ–गाउँमा पुगेका सञ्चार सुविधालाई उपभोग गरेर स्वास्थ्यसम्बन्धी ज्ञान लिनसक्ने समेत बताइन् ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले महिलालाई स्वास्थ्यप्रति सचेत हुन आग्रह गरे । गाउँपालिका अध्यक्ष पुनले कुनै पनि रोग नलागोस् भनेर सचेतनासँगै नियमित रूपमा स्वास्थ्य परीक्षण गराउन महिलालाई आग्रह गरेका थिए । उनले पालिकाले गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउन लागिपरेको भन्दै विकट बस्तीमा स्वास्थ्य सेवाका लागि विभिन्न सङ्घसंस्थाको सहकार्यमा समेत शिविरको आयोजना गर्दै आएको बताए ।

ग्रामीण महिला स्वास्थ्य सेवा तथा सचेतना केन्द्रका अध्यक्ष प्रमिता चौधरीको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माको प्रमुख आतिथ्यता र बंगलाचुली गाउँपालिका अध्यक्ष सुवास पुनको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बंगलाचली गाउँपालिका वडा नं. ३ का वडा सदस्य हरिप्रसाद घर्ती, नेपाल टेलिकम घोराही शाखा प्रमुख माधव खनाल, नेपाल परिवार नियोजन दाङ शाखाका प्रबन्धक बसन्त खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । केन्द्रका उपाध्यक्ष पुनम शेर्पाइलीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रेमन्ता पुनले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad