Ad Area

अपाङ्गतामैत्री गाँउपालिका बनाउने प्रतिवद्धता


शिव घर्तीमगर
घोराही, २० असार । राप्ती गाँउपालिका अध्यक्ष प्रकाश विष्टले आफनो कार्यकालमै पालिकालाई अपाङ्गतामैत्री घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रर्वद्धनका लागि राप्ती गाँउपालिकासंग राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको समन्वयात्मक बैठकमा अध्यक्ष विष्टले अपाङ्गतामैत्री गाँउपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

बैठकमा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश व्यवस्थापक धिरेन्द्र विश्वकर्माले राप्ती गाँउपालिकालाई अपाङ्गतामैत्री बनाउने आधारसहितको प्रस्तावहरु पेश गर्नु भएको थियो । बैठकमा राप्ती गाँउपालिकाका सबै वडादेखि पालिकासम्म अपाङ्गता भएका व्यक्तिहरुको संजाल निर्माण, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकृत तथ्यांक संकलन र व्यवस्थापन, पालिकाभित्र बन्ने र बनेका भौतिक संरचनाहरु पहँुचयुक्त मापदण्ड अनुसार निर्माण वा पुनःनिर्माण, सबै प्रकारका सेवाहरु र सुचना प्रणालीलाई पहुँचयुक्त बनाउनेलगायतका प्रस्तावहरु राख्नुभएको थियो ।

त्यसैगरी विश्कमाले पालिकाका सबै नीतिगत व्यवस्थाहरुलाई अपाङ्गता समावेशी बनाउने, अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणको लागि क्षमता विकास गर्ने साथै अपाङ्गतामैत्री गाँउपालिका घोषणाको लागि ३ बर्षे रणनीतिक योजना निर्माण गर्नेलगायतका विषयमा विशेष छलफल भएको थियो ।

बैठकमा गाँउपालिकाका अध्यक्ष विष्टले अपाङ्गतामैत्री गाँउपालिका घोषणाको लागि विशेष योजना बनाई कार्य गर्ने र उक्त कार्यको लागि साझेदारी गर्न राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश तयार रहनुपर्ने बताएका थिए । बैठकमा राप्ती गाँउपालिकाका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु समेत गरी २५ जनाको सहभागीता रहेको थियो ।

प्रदेश परियोजना कार्यदलका सदस्य लक्ष्मीप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सहजीकरण शिव घर्तीमगरले गर्नुभएको थियो । बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वली, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसी, शिक्षा शाखा प्रमुख विश्वास विक, पत्रकार सन्तोष कुमार गुप्ता, गाँउपालिका प्रेस संयोजक तुलबहादुर कंवर मगरलगायतको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad