Ad Area

आचार्यको प्रथम वार्षिकीमा स्मृतिग्रन्थ लोकार्पण


घोराही, २१ असार । सामाजिक तथा शैक्षिक व्यक्ति बलदेव शर्मा आचार्यको प्रथम वार्षिकीको अवसरमा स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । स्वर्गीय आचार्यको निवास घोराही ६ गुरुवागाउँमा बुधबार एक कार्यक्रमको आयोजना गरी बलदेव शर्मा आचार्य स्मृति ग्रन्थ प्रकाशन समितिले उहाँको व्यक्तित्व र सामाजिक, शैक्षिक क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै स्मृतिग्रन्थ लोकार्पण गरेको छ ।

स्मृति ग्रन्थ संरक्षक एवम् स्वर्गीय बलदेव शर्मा आचार्यकी श्रीमती यमुना देवी आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा गर्ग गोत्री आचार्य परिवारद्वारा आयोजित लोकार्पण कार्यक्रममा स्वर्गीय बलदेव शर्मा आचार्यले जीवित रहँदा समाजमा खेल्नु भएको भुमिकाका बारेमा वक्ताहरुले चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले सबैको प्रेरणाको श्रोतका रुपमा रहनुभएका स्वर्गीय आचार्यले देखाउनुभएको बाटो र हौसला समाजका लागि प्रेरणाको श्रोत रहेको बताउनुभयो । हिजोका दिनमा समाजको चेतना स्तर माथि उठाउन स्वर्गीय आचार्यले गर्नुभएको योगदान आफैमा अतुलनीय रहेको बताउँदै उहाँले उहाँको जीवन संघर्षको कथाबाट सबैले पाठ सिक्नुपर्ने उल्लेख गर्नुभयो ।

यसैगरी, प्रकाशित स्मृतिग्रन्थका बारेमा साहित्यकार सुशीला आचार्यले समीक्षा गर्नुभएको थियो । कुल १ सय ६४ पृष्ठको स्मृति ग्रन्थमा स्वर्गीय आचार्यको जीवनसँग जोडिएका विगतका सम्झना र अनुभवलाई समावेश गरी विभिन्न व्यक्तिहरुले लीपिवद्ध गर्नुभएको छ । समीक्षक आचार्यका अनुसार, स्मृतिग्रन्थ केवल कृतिमात्रै नभई महत्वपूर्ण दस्तावेज बनेको छ । जसका माध्यमबाट उहाँले समाजको हीतका लागि खेल्नुभएको भूमिका उजागर भएको र गर्ग गोत्री परिवारको वंशावलीका बारेमा अभिलेख तयार पारेरआउने पुस्ताका लागि सहज बनाएको बताउनुभयो ।

सोअवसरमा, वडा नम्बर ६ का वडाअध्यक्ष विष्णुराम आचार्य, पाण्डवेश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष साला गणेश अधिकारी, समाजसेवी हरि सुवेदी, उहाँका विद्यार्थी भीमबहादुर चौधरी, स्वर्गीय आचार्यका छोरा एवम् स्मृतिग्रन्थका प्रकाशक सदस्य शरदकुमार आचार्यलगायतले धारणा राख्नुभएको थियो ।

Blog Post Ad

स्मृति ग्रन्थ सल्लाहकार लालिका आचार्य पोख्रेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा सहभागीलाई प्रकाशक सदस्य पदमप्रसाद आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण ध्रुवराज अधिकारीले गर्नुभएको थियो ।

२००७ सालमा जन्मिनुभएका आचार्यको निधन २०७९ असार ३१ गते भएको थियो । उहाँ २०२८ सालमा तुलसीपुर– ७ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक पाठशाला कल्ले राम्रीकोटबाट अध्यापन आरम्भ गर्नुभएको थियो भने प्राथमिक विद्यालय रनियापुर देउखुरीबाट २०६० सालमा सेवानिवृत हुनुभएको थियो ।

Blog Post Ad Blog Post Ad