साहित्यकार गौतमको ‘शब्दचित्र’ हाइकु संग्रह बिमोचन
घोराही,२६ असार । साहित्यकार सुन्दर गौतमको शब्दचित्र हाइकु संग्रह शब्दचित्र एक समारोहबीच विमोचन गरिएको छ । सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा चौथो कृतिका रुपमा गौतमको उक्त कृति आज विमोचन भएको हो ।
पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष एवम् सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा गरिएको कृति विमोचनमा वक्ताहरुले हाइकु संग्रह समाजको प्रतिबिम्बका रुपमा आएको बताउनुभयो । मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विषयबस्तुका साथै वर्तमान अवस्थाका बारे हाइकुले चित्रित गरेको हुँदा हाइकुले बोलेका कुरा हरेक व्यक्तिले लागु गर्न सकेमा सभ्य समाज स्थापनामा टेवा पुग्ने बताउनुभयो ।
प्रमुख अतिथि खनालले समाजमा सकारात्मक सोँचको विकास गर्न कृतिले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यस प्रकारका कृतिले मानिसको सोँच बदल्न सक्ने हुँदा साहित्य समाजको ऐनाका रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा प्रगतिशील लेदक संघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, प्रेस काउन्सिल सदस्य शरद अधिकारी, नागरिक समाज दाङका संयोजक केबी मसाल, सिस्नोपानी नेपालका अध्यक्ष डा लोकराज पराजुली, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासी, वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्राध्यापक डा शिवकुमार सुवेदी, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार नारायण योगी, संस्कृतिविद एवम् साहित्यकार डा गोविन्द आचार्य, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, लेखक राधिकादेवी आचार्य, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कृतिको साहित्यकार शशीधर भण्डारीले समिक्षा गर्नुभएको थियो । यसैगरी, उपप्राध्यापक समेत रहनुभएका हाइकुका लेखक गौतमले कृति प्रति गरिएको शुभेच्छाले साहित्य लेखनमा अझ उर्जा थपिएको बताउँदै अब ‘कथा मानवका’ नामक कृति ल्याउने प्रतिवद्धता जनाउनुभयो । उहाँले यसअघि अक्षरयात्रा कविता संग्रह, जीवनयात्रा निबन्ध संग्रह र नैतिक तथा नागरिक शिक्षा ज्ञानगुण पुस्तिका प्रकाशन गरिसक्नुभएको छ ।
उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीलाई संचालक समिति सदस्य हरिप्रसाद पाण्डेयले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण सचिव सुदीप गौतमले गर्नुभएको थियो ।