Ad Area

साउदी अरब पुर्याईएकी बिकको सफल उद्धार


घोराही, ३० असार । रोजगारीको सिलसिलामा भारत, कुवेत हुँदै साउदीअरबमा पुर्याईएकी प्रतिभा बिकलाई सफल उद्धार पश्चात् परिवारसँग मिलन गराईएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ की प्रतिभा बिकलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले उद्धार गरी करीव ९ महिनापछि परिवारसँग पुनर्मिलन गराएको हो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा शनिबार घोराहीमा एक कार्यक्रम गरी प्रतिभा बिकलाई उहाँको परिवारसँग पुनर्मिलन गराईएको हो ।

उपप्रमुख हुमा डिसीले साउदीमा अनेकन पीडाहरुबाट गुज्रिएर स्वदेश फर्किनुभएकी प्रतिभालाई समाजमा पुनस्थापना गर्ने सवालमा अब सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले विदेशमा लहैलहैमा जानेहरु भन्दा बाध्यताले विदेशिनेहरु अझ पीडामा हुने गरेकाले उनीहरुका लागि स्थानीय सरकार, संघसंस्थाहरुले स्वदेशमै आयआर्जनको विकल्प दिने काममा अग्रसर हुनुपर्ने बेला आएको बताउनुभयो ।

दलालको भर परेर कुवेतका लागि गएको भए पनि साउदी अरब पुर्र्याईएकी प्रतिभाले त्यहाँ रहँदा अनेक दुख पाएको, यातना सहनु परेको, मालिकले बन्धक बनाएको अवस्थामा रोल्पाली सेवा समाजको सम्पर्कमा आएपछि दुताबाससँगको पहलमा उद्धार गरी नेपाल ल्याउन सफल भएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष वलीले घोराहीमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो ।

सो अवसरमा उद्धार भएर घर फर्किनुभएकी प्रतिभाले विदेशमा आफुले भोगेका दुख सुनाउनुभएको थियो । उहाँले सकेसम्म विदेश नजान, जानै परेमा सबै कुराको जानकारी लिएर वैधानिक रुपमा मात्रै जान आग्रह गर्नुभयो । आफु जस्तै थुप्रै महिला दिदीबहिनीहरु अहिले पनि खाडी मुलुकमा विभिन्न समस्यामा रहेको जानकारी गराउनुभयो । कुवेत भनेर पठाईएकोमा साउदी अरबमा पुगेर अनेकन यातना सहेर परिवारमा मिलन हुन पाएकोमा आफ्ना लागि नयाँ जीवन पाएको अनुभूति भएको भन्दै उहाँले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङ शाखा अध्यक्ष ओमप्रकाश खड्का, केन्द्रीय सल्लाहकार कैलाश रोका मगर, दाङका प्रमुख सल्लाहकार शक्तिराम डाँगी, उद्धार हुनुभएकी प्रतिभाकी दिदी सुशीला बिकलगायत बोल्नुभएको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय कोषाध्यक्ष निशान्त वलीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण दाङ शाखा प्रवक्ता घनश्याम गिरीले गर्नुभएको थियो । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले संस्था स्थापना कालदेखि नै विभिन्न खालका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।