Ad Area

बर्षादले भत्कदै गाउँ जोड्ने कच्ची सडक


घोराही, २ साउन । बर्षाद सुरु भएसँगै पहाडी गाउँ जोड्ने अधिकांश सडक बिग्रन थालेका छन् । गाउँलाई यातायातसँग जोड्न खनिएका सडक भत्किएपछि अधिकांश गाउँ यातायात सञ्जालसँग विच्छेद भएका छन् ।

सडक भत्किएपछि बजार आउन गाउँलेहरूलाई यातायातको सेवा लिनकै लागि घण्टौ पैदल हिड्नुपर्ने बाध्यता भएकोछ । संघीयता आएसँगै गाउँ र सहर जोड्ने गरी सडक खनिएपछि गाउँ र बजारको दुरी घटेको पनि छ । तर यसरी खनिएका सडकबाट गाउँसम्मै यातायातका साधन गुड्ने भएका त छन्् तर सडक कच्ची भएका कारण वर्षभरि चल्न भने सकेका छैनन् ।

अधिकांश सडकमा नालाको व्यवस्था नभएकाले सानो झरीले पनि बाटो भत्कने समस्या देखापरेको छ । विशेष गरेर बंगलाचुली गाउँपालिकाका अधिकांश गाउँ जोड्ने सडक, घोराहीको पहाडीबस्ती सैघालगायतका क्षेत्रहरुमा खनिएका सडकहरूमा वर्षा सुरु भएसँगै सडक विग्रिएपछि यातायात सेवा अवरुद्ध हुने गरेको छ ।

वर्षादका कारण सडक बिग्रिएपछि बंगलाचुली गाउँपालिका–८ हाँसीपुरलगायतका ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको बंगलाचुली गाउँपालिका–८ हाँसीपुर निवासी कमल गाहामगर बताउनुहुन्छ । बिपी मार्गअन्तर्गत मुलावारीदेखि रानीबास सडकखण्डको विभिन्न ठाउँमा सडक विग्रिएपछि असारको करिव १४÷१५ गतेदेखि यातायात सेवा बन्द भएको उहाँ बताउनुहुन्छ ।

यातायात सेवा बन्द हुँदा स्थानीयलाई करिव डेढदेखि दुई घण्टासम्म हिडेर बस चढ्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘पानी नपर्दासम्म बस हासीपुरसम्मै आउने गरेको थियो । घरका लागि दैनिक उपभोग्य खाद्य सामग्री र बिरामी हुँदा अस्पताल जानलाई सजिलो हुने गरेको थियो । तर गाडी नहुँदा हिड्नुपर्ने अवस्था भएको छ ।’ बस नचल्दा करिव डेढदेखि दुई घण्टासम्म हिड्ेर बजार जानका लागि बस चढ्नुपर्ने बाध्यता रहेको छ ।

बर्षादकै कारण बर्सेनि हासीपुरबासीले यातायातको समस्या भोग्नुपर्ने बाध्यता रहेको बंगलाचुली–८ रानीबास निवासी खिमा घर्तीमगर बताउनुहुन्छ । अन्य समयमा सवारीसाधनहरु चल्नेगरी बर्षादको समयमा बाटो विग्रिने भएका कारण असारदेखि असोजदेखि कात्र्तिकसम्मै गाडीको समस्या हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘हामीलाई बर्षभरी बस चल्ने सडकको आवश्यक छ, त्यही कुरा हामीले उठाउँदै पनि आएका छौँ तर अहिलेसम्म हुन सकेको छैन ।’ उहाँले निर्वाचनका क्रममा नेताहरूले सडककै मुद्धा उठाएर बर्सेनी यस क्षेत्रको मत लग्ने गरेपनि निर्वाचन सकिएपछि नेताहरु फर्केर नआउने गरेको स्थानीयको गुनासो छ ।

Blog Post Ad

सडक नबनाउँदा असारदेखि असोज महिनासम्म बर्सेनि रानीबास, हाँसीपुर, बिर्खे, जब्बरकोटलगायतका ठाउँका स्थानीयले समस्या भोग्दै आएको बंगलाचुली गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष झविन्द्र गाहामगर बताउँनुहुन्छ । उहाँले गाडी चल्नेसम्मको बाटो नहुँदा बर्षादको समयमा बिरामी र सुत्केरी महिलाहरुलाई स्टेचरमा बोकेर अस्पताल लग्नुपर्ने बाध्यता रहेको बताउभयो । उहाँले भन्नुभयो,‘बंगलाचुली गाउँपालिका वडा नं. ८ विकट क्षेत्रका रुपमा रहेको छ, बर्षादमा पानी पर्न थाल्यो भने गाडीहरु आउन–जान बन्द भैहाल्छ ।’

स्थानीय सडकको मर्मत र स्तरोन्नतिको काम भइरहे तापनि काम असाध्यै ढिलो भइरहेको भन्दै स्थानीयले गुनासो समेत गर्दै आएका छन् । सडकको स्तरोन्नति चाँडै भैदिएको भए बर्षादको समयमा पहाडी क्षेत्रका स्थानीयलाई यातायातमा सहज हुने स्थानीय बताउँछन् ।

वीपीमार्गअन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडकको स्तरोन्नतिको काम भइरहेको छ । तर घोराही उपमहानगरपालिका–१ को सिमलतारादेखि बंगलाचुली गाउँपालिकाको हाँसीपुरसम्म सडक स्तरोन्नतिको काम अघि बढेपनि निर्माणको काम ढिलाई हुँदा जनताले दुःख पाइरहेका छन् ।

सिमलतारा–मुलाबारी–हाँसीपुर हुँदै बाङ्गेसालसम्मको १७ किलोमिटर सडक निर्माण र त्यसको विस्तार, नाला निर्माण, वाल निर्माण, सडकखण्डमा पर्ने खोलाहरूमा कल्भर्ट तथा कच्वे निर्माणसँगै ग्राभेल गर्ने काम भइरहेको प्रदेश सडक पूर्वाधार कार्यालय दाङले जनाएको छ ।

१७ किलोमिटर सडकको नालासहित स्तरोन्नति गर्ने भनेर २०७९ असार १४ गते वाइला एण्ड लामा तिरूपाते सिद्धान्त जेभीसँग सम्झौता भएको थियो । ३२ करोड ८९ लाख २९ हजार ६ सय २७ रूपैयाँमा टेण्डर आह्वान गरिएकोमा निर्माण कम्पनीसँग २७ करोड ७० लाख ६५ हजार ३ सय ४३ रूपैयाँमा सम्झौता भएको प्रदेश पूर्वाधार कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad