Ad Area

सहकारी संस्थालाई गम्भीर बन्न नागरिक समाजको ध्यानाकर्षण


घोराही, ७ साउन । दाङमा क्रियाशील विभिन्न वचत तथा ऋण सहकारी संस्थाहरुमा वचतकर्ताले जम्मा गरेको रकम हिनामिना भईरहेको घटना प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न वचत तथा ऋण सहकारी संस्थाहरुमा वचतकर्ताले जम्मा गरेको रकम र ती संस्थाहरुले शेयर सदस्यलाई प्रदान गरेको ऋण रकम असुली गर्ने नाममा केही सहकारी संस्थाहरुबाट आर्थिक अनियमितता भएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समाजले जनाएको छ । समाजका जिल्ला संयोजक केबी मसालको अध्यक्षतामा आईतबार बसेको नियमित बैठकले सिंगो सहकारीको विश्वसनीयता माथि नै प्रश्न उठ्ने गरी वचतकर्तालाई समयमा रकम फिर्ता नदिने तथा ऋण लगानी गर्दा राखेको धितोको सुरक्षण व्यवस्थामा समेत आशंका आउने काम अबिलम्ब रोक्न सम्वद्ध निकायको ध्यानाकर्षण गराएको छ ।

यसैगरी, दैनिक उपभोग्य बस्तु भारतबाट आयात भईरहेकोमा आयात रोकिएको घटना प्रति पनि समाजले ध्यानाकर्षण गराएको छ । जिल्लामा रहेका थोक तथा फुटकर व्यापारीबाट भएको मुल्यवृद्धि नियन्त्रण गर्न स्थानीय सरकार, उद्योग वाणिज्य संघ, चेम्बर आफ कमर्श, स्थानीय प्रशासनलगायत सरोकार निकायको नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको सेवा आयोग, केन्द्रीय आयुर्वेद विद्यापीठलगायत केन्द्रीय कार्यालयमा गत असार ९ गतेदेखि भएको तालाबन्दीका विषयमा पनि नागरिक समाजले चासो व्यक्त गरेको छ । विश्व विद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा पटक पटक तालाबन्दी जस्तो अशोभनीय कार्यले सिंगो समाज कता जाँदैछ भन्ने प्रश्न खडा भएको हुँदा यसको गाम्भीर्यताको विस्तृत अध्ययन गरी आउँदा दिनमा तालाबन्दी गर्ने कार्य नदोहोरिने वातावरण सिर्जना गर्न समाजले ध्यानाकर्षण गराएको छ ।

यसैबीच, नेपालमा अवैध सुन प्रकरणका घटना बारम्बार दोहोरिने गरेकाले यस्ता घटनाले मुलुकको छबि अन्तर्राष्ट्रिय स्तरमा समेत कमजोर हुने अवस्था आएको प्रति भ्रष्टाचार शुन्य शहनशीलतासहित सुशासनको अनुभूति गर्ने गरी आवश्यक कारवाही गर्न नेपाल सरकारको पनि गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad