Ad Area

दाङको देउखुरी क्षेत्रमा बाढीका कारण दर्जन बढी घर डुबानमा


घोराही,९ साउन । बिहानदेखिको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्रमा एक दर्जन बढी सर्वसाधारणका घर डुबानमा परेका छन्। राजपुर र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन्।

राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिएका छन। वडाध्यक्ष टंकबहादुर विष्टका साथै प्रहरी सहायक निरीक्षक महावीर चौधरी घटनास्थलमा खटिएका छन्।

राजपुर– २ की ३२ वर्षीया पुष्पा नेपालीको एक तले फुसले छाएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको छ। घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रकम खड्काले कुनै मानवीय क्षति नभएको र नेपाली छिमेकीको घरमा आश्रय लिइरहेको जानकारी दिए।

त्यस्तै, लमही नगरपालिका–१ सुनडबरी र वडा नं. ३ को कान्तिपुरमा चार जना स्थानीयको घर डुबानमा परेको छ। सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उनको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थानन्तरण गरिएको प्रहरीले जानकारी दिएको छ।

कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उनीहरू छतमा बसेको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ। स्थानीय ४० वर्षीय सुशिल कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसे पनि उनीहरूको परिवार डुबान हुन थालेपछि निस्किएर सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

डुबानमा परेका व्यक्तिहरूको उद्धारको लागि यहाँ दश जनाको प्रहरी टोली खटिएको छ। त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा खोलामा आएको बाढीले एउटा स्कार्पियो बगाइदिएको छ। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बिहान पौने ११ बजेतिर बगाएको प्रहरी सहायक निरीक्षक दीपक चन्दले बताए।

Blog Post Ad

अविरल वर्षापछि ठाउँ(ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड अवरूद्ध भएको छ। प्रहरी सहायक निरीक्षक नेत्र केसीले बाढी आई ठाउँ(ठाउँमा हिलो माटो खसेको हुँदा सडकखण्ड अवरूद्ध भएको जानकारी दिए।

Blog Post Ad Blog Post Ad