Ad Area

शाइन रेसुङ्गा बैंक दाङले रोप्यो वृद्धाश्रममा फलफूल र औषधीजन्य विरुवा


घोराही, ११ साउन । शाइन रेसुङ्गा बैंक लिमिटेड दाङले व्यावसायिक सामाजिक उत्तरदायित्व स्वरुप ‘ग्रो ग्रीन प्रोजेक्ट’ अन्तरगत फलफूल र औषधीजन्य वृक्षारोपण कार्यक्रम गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेको परिसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरी विभिन्न १८ प्रजातिका फलफूल र औषधीजन्य विरुवा रोपिएको हो ।

शाइन रेसुङ्गा बैंक लिमिटेड दाङ शाखा क्लस्टर प्रमुख मेघराज पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवम् वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डिसीको विशिष्ट आतिथ्यमा कार्यक्रम गरि जेष्ठ नागरिक सरोकार केन्द्र परिसरमा विरुवा रोपिएको हो ।

मानवीय विकाससँगै पर्यावरण बचाउने र यसको संरक्षणमा लाग्नुपर्छ भन्ने उद्देश्यसहित बैंकले जेष्ठ नागरिक सरोकार केन्द्रले माग गरेकै विरुवाहरु खरीद गरी रोपिएको हो । जसमा एभोकाडो, कागती, लिची, फिस्टेल पाम, गुलमोहर, पारीजात, छतिवन, राजवृक्ष, लालुपाते, सदासुन्दरी, घण्टी फूल, धुपी, सितलचिनी, क्रिसमस ट्री, निम, ज्यामिर, मिक्स मसला र रबर प्लान्ट गरी १८ प्रजातिका सय बढी विरुवा रोपिएको छ ।

रोपिएका विरुवाबाट भोलिका दिनमा हुने उत्पादनलाई आश्रममा बस्दै आउनुभएका जेष्ठ नागरिकहरुको उपयोगमा लगाउन सकियोस्, पर्यावरण सुन्दर होस् भन्ने अठोटका साथ सहकार्य गरेर काम गरिएको बैंकले जनाएको छ ।

Blog Post Ad

वृक्षारोपण गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा नगरप्रमुख चौधरीले भौतिक विकाससँगै मानवीय विकासको उत्तिकै आवश्यकता रहेको चर्चा गर्नुभयो । उहाँले बढ्दो शहरीकरणका कारण पर्यावरणमा परिरहेको नकारात्मक असर कम गर्न वातावरण संरक्षण गर्नु अहिलेको चुनौति रहेको हुँदा शाइन रेसुङ्गा बैंक लिमिटेडले विरुवा रोपण कार्यक्रम गरेर अत्यन्तै अनुकरणीय काम गरेको बताउनुभयो । पर्यावरण स्वस्थ रहेमात्रै मानिस स्वस्थ हुने हुँदा पर्यावरण जोगाउन वृक्षरोपणसँगै संरक्षण गर्ने कामको दायरा अझै बढाएर लैजान सुझाव पनि दिनुभयो । उहाँले बैंकिङ क्षेत्रमा काम गरेर सेवाग्राहीलाई आर्थिक पक्षमा जोड्ने काम गरेजस्तै शाइन रेसुङ्गा बैंकलाई पालिकाले अघि सारेको हरित शहरको परिकल्पनामा सहकार्य गर्न आग्रह गर्नुभयो ।

वडाअध्यक्ष डिसीले शाइन रेसुङ्गा बैंक लिमिटेडले गरेको कामले भोलिका दिनमा वृद्धाश्रममा बस्दै आउनुभएकाहरुलाई यसको प्रत्यक्ष लाभ मिल्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले शाइन रेसुङ्गा बैंकले गरेको काम निकै सराहनीय रहेको बताउँदै यसले जेष्ठ नागरिक मैत्री पार्क निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । वातावरण स्वच्छ बनाउन र सौन्दर्य कायम गर्न बैंकले गरेको कामले सहयोग पुग्ने उहाँको भनाई थियो ।

यसैगरी, उहाँले संस्था स्थापनासँगै वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सकेसम्म जेष्ठ नागरिकलाई घरमै बस्ने वातावरण बनाउन सकेमा कोही पनि वृद्धाश्रममा आउनु नपर्ने उहाँको आग्रह छ ।

वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै दाङ शाखा क्लस्टर प्रमुख पोख्रेलले शाइन रेसुङ्गा बैंकले विरुवा रोपणसँगै यसको संरक्षण गर्ने, हुर्काउने र बढाउने दायित्व पनि लिने बताउनुभयो । उहाँले बैंकले वित्तिय कारोबारसँगै समुदायमा पुगेर सामाजिक उत्तरदायित्वसहितको सहयोग तथा काम विगतदेखि गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा राप्ती इन्जिनियरिङ कलेजका प्रबन्धक एवम् लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ एन एरिया नम्बर २ का एरिया चिफ डा. भीमसेन गिरी, लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका कार्यकारी प्रमुख प्रशिक्षक युवराज थपलिया, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक ठाकुर खनाल, घरेलु तथा साना उद्योग महासंघ घोराही कमिटीका महासचिव नवीन पोख्रेल, बैंकका तहगत कर्मचारी, केन्द्रका कार्यसमिति लगायतको उपस्थिती रहेको थियो ।

शाइन रेसुङ्गा बैंक लिमिटेडका संस्थापक शेयर सदस्य नवीन पोख्रेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण दाङ शाखा प्रबन्धक गणेश बुढाथोकीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad