Ad Area

धान रोपेको खेत खोलाले बगाउँदा समस्यामा किसान


दाङ, १२ साउन । बंगलाचुलीमा धान रोपेको खेत खोलाले बगाएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ३ निवासी खगेश्वर वलीको धान रोपेको पाँच रोपनी खेत मङ्गलवार भएको वर्षापछि मानाखोलामा आएको बाढीले बगाएको हो ।

खेतमा रोपेको धान बगाउनुका साथै खेतभरि ढुङ्गा, माटो र बालुवा मात्रै भरिएको पीडित किसान खगेश्वर वलीले बताए । खोलाले बगर बनाइदिएको खेत देखाउँदै वलीले भने, ‘गत वर्षको असोजमा आएको बाढीले खेत काटेको थियो । त्यसलाई मर्मत गरेर यो वर्ष असारको २०÷२२ गतेतिर धान रोपेको थिएँ । मङ्गलवार परेको झरीसँगै आएको बाढीले त्यो सबै बगाइदियो । अहिले खेत हेर्दा खेतजस्तो पनि छैन ।’

पहाडमा जथाभावी बाटो खन्ने र बाटो खन्दा निस्केको माटो, ढुङ्गा खोलामा खसाइदिँदा वर्षाको समयमा खोलाले किसानका खेतबारी काट्नेदेखि त्यही माटो र ढुङ्गाले खेत परिने गरेको वली बताउँछन् । ‘पहिले बाटो खनिएका थिएनन्, जति ठुलो वर्षा हुँदा पनि खेतलाई असर गरेको थिएन्’, वलीले भने, ‘अहिले बाटो खन्ने बहानामा पहाड खनिएको छ । त्यसको असर बर्सेनि किसानको खेतबारीमा परिरहेको छ ।’ वर्षभरि खानका लागि धान उत्पादन हुने खेत खोलाले बगाइदिएपछि दुई जनाको परिवार समस्यामा परेको वलीले बताए ।

वर्षाका कारण खोलामा आएको बाढीले सिँचाइ कुलो बगाइदिँदा सिँचाइका लागि समस्या भएको स्थानीय ईश्वरीप्रसाद खत्री बताउँछन् । गत वर्ष परेको ठुलो वर्षाका कारण भत्किएको कुलो गाउँलेले करिब १८ हजार रुपैयाँ खर्च गरेर मर्मत गरेको भए पनि यो वर्षको बाढीले फेरि कामै नलाग्ने गरी कुलो भत्काइदिएको उनी बताउँछन् । ‘अघिल्लो वर्ष सिँचाइ कुलो खोलाले भत्काइदिएको थियो, मर्मतका लागि वडा र गाउँपालिकामा गएर भन्यौँ’, किसान खत्रीले भने, ‘तर कतैबाट मर्मत हुन सकेन । त्यसपछि वर्षामा धान खेतीका लागि लागि स्थानीयले आफै मिलेर जेसिबी लगाएर कुलो मर्मत गरेका थियौँ तर हप्ता दिन नबित्दै खोलाले फेरि कुलो बिगारिदियो ।’

खोलाले खगेश्वरसँगै बंगलाचुली वडा नं. ३ र ४ का विभिन्न क्षेत्रमा किसानले रोपेको धान, खेत र सिँचाइ कुलो बगाइदिएको बंगलीचुली गाउँपालिका वडा नं. ४ का अध्यक्ष डाँसबहादुर डाँगीले बताए । उनकाअनुसार खेतसँगै सिँचाइ कुलोमा समेत असर परेको छ । खोलामा आएको बाढीका कारण बंगलाचुली गाउँपलिका वडा नं. ४ गहतेरा निवासी गुरूप्रसाद भण्डारीको ४ रोपनी, युवराज डाँगीको १० रोपनी, बसन्त बिष्टको ६ रोपनी, गिरबहादुर नेपालीको ५ रोपनी, जीवराज डाँगीको ४ रोपनी, झविन्द्र डाँगीको ७ रोपनी खेत खोलाले बगाएको वडाध्यक्ष डाँगीले बताए ।

यसैगरी गहतेराकै सन्तोष डाँगीको ४ रोपनी र शिवलाल थापाको ५ रोपनी खेत खोलामा आएको बाढीले धान बगाउनका साथै कतिपय स्थानमा ढुगा, बालुवाले खेत पुरिदिएको उनले बताए । भर्खरै रोपिएको धान र खेतमा बाढीले क्षति गरेपछि किसान समस्यामा परेका छन् । बर्सातपछि घोराही–गहतेरा–मुलाबारी–जबरकोट र घोराही–कोइराले–स्वामिघट–लामीदेवाली सडकखण्ड समेत अवरुद्ध भएको वडाध्यक्ष डाँगीले जानकारी दिएका छन् । वडाध्यक्ष डाँगीले भने ‘बर्सातका कारण मानाखोलामा आएको बाढीले धेरै किसानको खेतमा असर गरेको छ । त्यससँगै घोराहीबाट पहाडी बस्ती जोड्ने सडक समेत अवरुद्ध भएको छ ।’ किसानले समयमै तटबन्धन गर्न ध्यान नदिने हो भने बर्सातमा थप क्षति हुने उनी बताउँछन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad