Ad Area

क्रिकेट संघ दाङको अधिवेशन साउन २२ गते हुने


घोराही,१२ साउन । क्रिकेट संघ दाङ (क्यान)को अधिवेशन यहि साउनको २२ गते हुने भएको छ । क्रिकेट संघ दाङको शुक्रबार घोराहीमा बसेको अधिवेशन तयारी बैठकले यही आउने साउनको २२ गते संघको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघका जिल्ला अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा लुम्बिनी प्रदेश क्रिकेट संघका प्रादेशिक सचिवालय सदस्य किशोरचन्द्र गौतमको प्रमुख आतिथ्यमा बसेको बैठकले संघको साधारणसभासँगै अधिवेशन गर्ने निर्णय गरेको हो । जसका लागि शनिबार साधारणसभाको सूचना जारी गर्ने र यसबीचमा संघका सदस्यहरुबीच अधिवेशनका बारेमा छलफल हुने क्रिकेट संघ जिल्ला सचिव सञ्जु केसीले जानकारी दिएका छन् ।

क्रिकेट संघ दाङमा हाल १८ जना मतदाता रहेका छन् । जसमध्य पुराना ११ जना, थप भएका २ जना र जिल्लामा रहेका ६ वटा क्रिकेट क्लवका अध्यक्षहरुले मतदान गर्न पाउने व्यवस्था रहेको नेपाल क्रिकेट संघका लुम्बिनी तथा कर्णाली खेलाडी छनोट समिति संयोजक कैलाश रोकामगरले जानकारी दिएका छन् ।

हाल थपिएकाहरु मतदाताहरुको हकमा दुई कार्यकाल जिल्ला कार्यसमितिमा काम गरेको, राष्ट्रिय स्तरको खेल खेलेका खेलाडी, आईसीसीको लेभव वन तालिम लिएका, अन्तर्राष्ट्रिय खेलाडी तथा क्लवका हकमा नेपाल सरकारको कुनै पनि निकायमा दर्ता भएको र क्रिकेट संघले आयोजना गरेको जिल्ला स्तरको कुनै पनि प्रतियोगितामा भाग लिएको प्रमाणका आधारमा सदस्यता दिईएको जिल्ला क्रिकेट संघका अध्यक्ष मजगैयाले बताएका छन् ।

अधिवेशन हुने दिन तोकिएसँगै जिल्ला क्रिकेट संघको नेतृत्वका बारेमा बहस शुरु भएको छ । हालका अध्यक्ष मजगैयाले पनि अहिलेको विधानले अझै एक कार्यकालको समय अध्यक्षमा रहन सक्ने व्यवस्था गरेकाले आफु अध्यक्ष पदमा आउन ईच्छुक रहेको बताएका छन् । उनले भने, ‘अधिवेशनको समय अझै छ । हेरौँ परिस्थिती कस्तो बन्छ, सकेसम्म सहमतीय प्रणालीबाट नेतृत्व चयनको प्रयास हुनेछ नभए त लोकतान्त्रिक विधि त छँदैछ । सबैभन्दा अबको सात दिनपछिको माहोल कस्तो बन्छ भन्नेमा भरपर्छ ।’

उनले आफूले निकै मेहनतका साथ जिल्लाको क्रिकेट संघलाई यहाँसम्मल्याई पुर्याएको हुँदा संस्थागत रुपमा गर्नुपर्ने काम अझै केही बाँकी रहेकाले जिम्मेवारी पाएमा पूरा गर्ने सोँच बनाएको बताए। ‘सबै कुरा आफुले भनेकै जस्तो हुने कुरा पनि भएन’, उनले भने, ‘तै पनि जिम्मेवारी पाए भने अबको एक कार्यकाल अझ फलदायी बनाउन सक्नु भन्ने लागेको छ ।’

Blog Post Ad

क्यानको विधान अनुसार ८ देखि १५ सदस्यीय कार्यसमिति हुन सक्ने प्रावधान तोकेको भएपनि जिल्लामा १३ जनाको कार्यसमिति हुनसक्ने देखिएको उनले बताए । आउने कार्यसमितिको आकार यही नै अन्तिम हुने भन्ने नरहेको मजगैयाले बताए ।

Blog Post Ad Blog Post Ad