Ad Area

दाङमै व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र


दाङ, १८ साउन । बालबालिकालाई फुटबल खेलसम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले घोराहीमा लुम्बिनी फुटबल प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ । घोराही उपमहानगरपालिका–१५ भ्यालीटप टोलमा सञ्चालनमा आउन लागेको प्रशिक्षण केन्द्र मोफसलमै पहिलो व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र हो ।

बालबालिकालाई फुटबल खेलसँगै खेलसँग सम्बन्धित आवश्यक नियमकानुनका बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षण केन्द्र स्थापना गरिएको छ । बढ्दो फुटबल खेलप्रति बालबालिकाको क्रेजलाई मध्यनजर गर्दै जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल खेल्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले लुम्बिनी फुटबल प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको केन्द्रका अध्यक्ष समिर वलीले बताए ।

नेपाल फुटबल सङ्घका लुम्बिनी प्रदेश उपमहासचिव समेत रहेका वलीले फुटबल खेलप्रति रुचि राख्ने बालबालिकालाई फुटबल खेल खेल्ने तरिका, फुटबलसम्बन्धी सैद्धान्तिक पक्षसँगै अनुशासन, शिक्षालगायतका विषयमा सिकाइने बताए । ‘लुम्बिनी फुटबल प्रशिक्षण केन्द्र, मोफसलमै पहिलो प्रशिक्षण केन्द्र हो’, प्रशिक्षण केन्द्रका अध्यक्ष वलीले भने, ‘यहाँ हामीले बालबालिकालाई भर्ना गरेर फुटबल खेलसम्बन्धी प्रशिक्षण गराउने छौँ ।’

पहिलो चरणमा प्रशिक्षण केन्द्रमा ३० जना बालबालिकलाई भर्ना गर्ने र उनीहरूलाई आवासीय सेवासुविधा सहित प्रशिक्षण गराउने तयारी रहेको अध्यक्ष वलीले बताए । बालबालिकालाई प्रशिक्षणका लागि एफसी लाइसेन्स प्राप्त रेफ्री खुमबहादुर वली र विनोद विकलाई नियुक्त गरेको छ । ‘पहिलो चरणमा ३० जना बालबालिकालाई आवासीय सेवासुविधासहित भर्ना गर्ने सोचमा छौँ । उनीहरूलाई खेल मात्रै होइन अनुशासन, साँझ–बिहान खेल अभ्याससँगै कमजोर विद्यार्थीलाई शिक्षामा अघि बढाउन शिक्षकको व्यवस्था गरेका छौँ’, उनले भने, ‘त्यही अनुसार अहिले प्रशिक्षणका लागि बालबालिका भर्ना हुने क्रम जारी छ ।’

प्रशिक्षण केन्द्रमा भर्ना हुने बालबालिकाको पढाइका लागि केन्द्रले नेपाल प्रहरी बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ । यहाँ भर्ना हुने विद्यार्थीलाई केही छुट सहित त्यहाँ पढ्ने व्यवस्था मिलाएको उनले बताए । ‘अहिले हामीले बालबालिकामाथि खेलसम्बन्धी गरेको लगानी भोलि राष्ट्रिय टिममा देखियो भन्ने हो, त्यहीका लागि प्रशिक्षण केन्द्र सञ्चालन गर्दै छौँ’, अध्यक्ष वलीले भने, ‘प्रशिक्षण केन्द्रमा भर्ना भएका बालबालिकालाई पढाउन स्थानीय सरकार, प्रदेश सरकारसँगै एन्फालगायतका विभिन्न सङ्घसस्थासँग आवश्यक सहयोगका लागि पहल गरिरहेका छौँ ।’

प्रशिक्षणमा १६ देखि १९ वर्ष उमेर समूहका बालबालिका भर्ना हुन पाउनेछन् । केन्द्रले बालबालिकासँग मासिक साढे १२ हजार रूपैयाँ शुल्क लिने लुम्बिनी फुटबल प्रशिक्षण केन्द्रका अध्यक्ष वलीले बताएका छन् । उनले खेलप्रति रुचि राख्ने तर आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई निःशुल्क रूपमा समेत भर्ना गर्ने र पढाउने व्यवस्था केन्द्रले मिलाउने बताएका छन् ।

Blog Post Ad

अहिले भ्यालीटप टोल विकास सस्था अन्तर्गत रहेको पुरानो भ्यालीटप बोर्डिङ स्कुलको ग्राउन्डमा बालबालिकालाई प्रशिक्षण गराउने र बालबालिका बढ्दै गएपछि भरतपुर स्थित पद्मोदय माध्यमिक विद्यालयको ग्राउन्डलाई प्रशिक्षण केन्द्रसँगै ठुला प्रतियोगिता सञ्चालनका लागि प्रयोग गर्न विद्यालयसँग कुरा अघि बढाएको समेत बताए ।

Blog Post Ad Blog Post Ad