Ad Area

दक्षिण एसियाली आईटिएफ तेक्वान्दोमा दाङलाई तीन स्वर्णसहित नौ पदक


दाङ, २२ साउन । ७ औंँ दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०२३ मा दाङबाट सहभागी भएका खेलाडीले तीन स्वर्णसहित नौ पदक जितेका छन् । भारतको हैदरावादमा साउनको १९ गतेदेखि २१ गतेसम्म भएको प्रतियोगितामा दाङबाट सहभागी भएका चार जना खेलाडीमध्ये तीन स्वर्णसहित नौ पदक जित्न सफल भएका हुन ।

प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष समेत रहेका घोराही उपमहानगरपालिका–१५ निवासी भीमबहादुर थापा र बंगलाचुली गाउँपालिका निवासी सन्तोष बुढामगरले स्वर्णसहित ३÷३ पदक, घोराही उपमहानगरपालिका–१७ निवासी सुष्टि योगीले स्वर्णसहित २ पदक र घोराही उपमहानगरपालिका–१७ कै अनिषा घिमिरेले काश्य पदक जितेकी हुन ।

प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका खेलाडी भीमबहादुर थापाले तीन पदक जितेका हुन । सिनियर तौल समूहमा प्रतिष्पर्धा गरेका भीमले एकल फाइटमा स्वर्ण, ग्रुप प्याटनमा रजत र ग्रुप फाइटमा काश्य पदकगरी तीन पदक जित्न सफल भएका हुन । त्यसैगरी १५ देखि २० बर्ष उमेर समूहमा प्रतिष्पर्धा गरेका खेलाडी सन्तोष बुढामगरले एकल फाइटमा स्वर्ण,ग्रुप प्याटनतर्फ रजत र गु्रप फाइटमा काश्य पदक जित्न सफल भए ।

१२ देखि १६ बर्ष उमेर समूहमा सृष्टिले एकल फाइटमा स्वर्ण र एकल प्याटनमा काश्य तथा अनिषा घिमिरेले एकल फाइटमा काश्य पदक जित्न सफल भएकी हुन । अनिषाले १५–२० बर्ष उमेर समूहमा जुनियरतर्फ प्रतिष्पर्धा गरेकी थिइन । सृष्टिले पनि जुनियरतर्फ प्रतिष्पर्धा गरेकी थिइन । ७ औंँ दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै दाङबाट चार जना खेलाडीहरु छनोट भएका थिए ।

प्रतियोगितामा नेपालबाट सिनियर र जुनियर गरेर ४६ जना खेलाडीहरु सहभागीता रहेको थियो । इण्डियन आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा भारतसहित नेपाल, श्रीलंका,अफगानस्तान बंगलादेश,भुटानलगायतका देशका खेलाडीहरुको सहभागी रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad