Ad Area

धारिलो हतियार प्रहार गरी फरार ६ जना पक्राउ


जीवन मल्ल
घोराही, २५ साउन । दाङको घोराहीमा धारिलो हतियार प्रहार गरि फरार रहेका ६ जनालाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपल नजिक साउनको १० गते राती करिव पौने १२ बजे अपरिचित व्यक्तिको खुकुरी प्रहार गर्दा घोराही उपमहानगरपालिका–१३ लाहुरेडाँडा बस्ने १८ बर्षीय तीर्थबहादुर पुन गम्भीर घाइते हुनुभएको थियो ।
खुकुरी प्रहारबाट टाउको, अनुहार र बाँया हातको कान्छी औँला बाहेक सबै औँला काटिएको अवस्थामा प्रहरीले तीर्थलाई उद्धार गरेर घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेको थियो । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भोली पल्ट साउनको ११ गते मेडिकल कलेज भैरहवामा रिफर गरिएको थियो । अहिलेपनि उनको भैरहवा मेडिकल कलेजमै उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

घट्नापछि फरार रहेका अभियुक्तहरुलाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘अज्ञात समूहको खुकुरी प्रहारपछि घाइते भएको सूचना प्राप्त गरेपछि प्रहरी अभियुक्तको खोजीमा लागेको थियो । तर पहिचान खुल्न सकेको थिएनन । अनुसन्धानका क्रममा साउनको २४ गते पहिचान खुल्न आएपछि घट्नामा संलग्नलाई पक्राउ गर्न सफल भएका हौ ।’

पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको अनुसन्धानलाई अघि बढाएको छ । अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप दिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ निवासी १७ बर्षीय नाम परिवर्तित नामथर घोराही ३३ (क), घोराही उपमहानगरपालिका–१४ गणेश मन्दिर टोल निवासी १६ बर्षीय नाम परिवर्तित घोराही ३३ (ख), बंगलाचुली गाँउपालिका–४ जुम्लेपानी घरभई हाल घोराही पमहानगरपालिका–१८ बस्ने २० बर्षीय देबेन्द्र कँवर मगर, सोही वडाको भंगीटोल बस्ने १७ वर्षीय नाम परिवर्तित ३३(ग) , घोराही उपमहानगरपालिका–१९ सैघा घरभई हाल घोराही–१८ बस्ने १७ बर्षीय नाम परिवर्तित घोराही ३३ (घ) र सोही वडाको मसिना बस्ने १५ बर्षीय नाम परिवर्तित घोराही ३३ .(ङ) रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

प्रहरी घट्नामा प्रयोग भएको एक थान खुकुरीसमेत बरामद गरेको छ । व्यक्तिगत रिसिवीका कारण खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad