Ad Area

विद्यालयमा पढ्दै, सिक्दै कमाउँदै विद्यार्थी


घोराही,५ भदौ । दंगीकरण गाउँपालिका निवासी विद्यार्थी रेणु डिसी घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यामिक विद्यालयमा बाली विज्ञान विषयमा अध्ययरत हुनुहुन्छ । आइएसी एग्रीकल्चर तेश्रो बर्षमा अध्ययनरत डिसी विहानी समयमा कक्षा कोठामा पढाईसँगै दिउँसोको समयमा विद्यालयको खैरास्थीत जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । विद्यालयले उपलव्ध गराएको जग्गामा तरकारीका साना विरुवा रोप्ने, गोडमेल गर्नेदेखि तयार भएका तरकारी टिप्नेदेखि विक्रीका लागि बेस्त हुने गर्नुहुन्छ ।

बाली विज्ञानमा अध्ययनरत विद्यार्थीका लागि विद्यालयले प्रयोगात्मक अभ्यासका लागि ४ विगाह जग्गा व्यवस्थापन गरिदिएपछि साथीसँगै आफुहरुले विगत दुई बर्षदेखि तरकारी खेती गर्दै आएको विद्यार्थी रेणु बताउँनुहुन्छ । पढाईसँगै तरकारी खेती गर्न थालेपछि कृषि व्यवसाय सम्वन्धी बुझ्नलाई सहजतासँगै आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । तरकारी गोडमेलमा लाग्नुभएकी डिसीले भन्नुभयो,‘कक्षामा पढाइने पढाईले सैद्धान्तिक ज्ञान मात्रै हुन्छ । व्यवहारिक रूपमै तरकारी खेती गरेर अभ्यास गर्दा पाठ्क्रममा समावेश गरिएका विषयवस्तु बझ्नलाई सजिलो हुनका साथै आम्दानी पनि हुने गरेको छ ।’

विद्यालयमा पढेका कुराहरू खेतवारीमै व्यवहारिक रूपमा सिक्दै आम्दानी गर्न थालेपछि बाली विज्ञान विषयमा अध्ययनरत मुगु जिल्ला सत्याङ गाउँपालिका–९ खमाले निवासी सपना बुढा पनि खुसी हुनुहुन्छ । कृषि पढ्नका लागि मुगुदेखि दाङ आउनुभएकी सपनाले तरकारी खेती समेत गर्दै आउनुभएको छ । विद्यालयले व्यवहारिक ज्ञानसँगै तरकारी खेतीबाटै आयआर्जनको लागि जग्गा उपलव्ध गराएपछि पढेका कुरा सिक्ने अवसरसँगै आम्दानी गर्ने माध्यम बनेको सपना बताउँनुहुन्छ ।

उहाँका अनुसार खेतवारीबाट उत्पादन भएको तरकारी विक्री गरेर एक सिजनमा करिव चार हजार रूपैया आम्दानी गरेको सपना बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘कृषि पढ्न थालेपनि व्यवहारिक रूपमा तरकारी खेती कसरी गर्छन भन्ने अभ्यास थिएनन् । विद्यालयले पढाईसँगै सिक्नका लागि जग्गा उपलव्ध गराईदिएपछि अहिले पढेका कुरा सिक्दै, उत्पादन भएको तरकारी विक्री गर्दा आम्दानी समेत हुन थालेको छ । जसले गर्दा डेरागरी बस्ने आफुजस्ता विद्यार्थीलाई सहज भएको छ ।’ उहाँका अनुसार विद्यार्थीले सिजन अनुसार भिन्डी, बोडी, खुर्सनी, गोपी, काक्रासँगै च्याउ उत्पादन गर्ने गर्दै आएका छन् ।

विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमले कृषि विषयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक अभ्याससँगै आम्दानी गर्ने श्रोत बनेको विद्यालयका बाली विज्ञान कार्यक्रम संयोजक शिक्षक युवराज बस्नेत बताउनुहुन्छ । शिक्षक बस्नेतका अनुसार कक्षा कोठामा पढेको कुरा व्यवहारमा उतार्नका लागि विद्यार्थीहरू दिउँसोको समयमा खेतमा पुग्ने गरेका छन् । कार्यक्रम संयोजक बस्नेतले भन्नुभयो,‘तीन वर्षअघि कृषि विषयको पढाइ सुरु गरेकोे विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रममा जोडिएपछि विद्यार्थीले पढाईसँगै तरकारी खेती गर्न थालेका हुन ।

Blog Post Ad

यसले विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञानसँगै तरकारी खेती गर्न र बजार व्यवस्थापन सम्वन्धी ज्ञान सिकाउने काम गरेको छ ।’ उहाँका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत अहिले ६५ जना विद्यार्थी सहभागी भएको बताउँछन् । पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीमा उत्साह थप्ने काम गरेको भन्दै शिक्षक बस्नेतले भन्दै भन्नुहुन्छ,‘विद्यार्थीले सैद्धान्तिक ज्ञान कक्षा कोठा र व्यवहारिक ज्ञान फिल्डमा सिक्ने गर्छन् । यसरी सामुहिक रूपमा तरकारी खेती गर्दा सिकाईसँगै आम्दानी समेत गर्ने गरेका छन् ।’

उत्पादन भएको तरकारी बजारीकरणसँगै कृषि व्यवसायका लागि आवश्यक सामग्री जुटाउनका लागि विद्यालयले विद्यार्थीहरूका लागि अटोको व्यवस्था गरिदिएको छ । त्यही अटोका माध्यमबाट विद्यार्थीले उत्पादन गरेको तरकारी विक्री गर्ने गरेको अर्का विद्यार्थी रोमिङ चौधरी बताउँनुहुन्छ । विद्यालयमा पढाईसँगै तरकारी रोप्नका लागि खेत बनाउने, विउ राख्ने, रोप्ने, गोडमेल गर्नेदेखि उत्पादन भएको तरकारी विक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार विद्यार्थीले समूह बनाएर तरकारी खेतीका लागि काम गर्र्नेे गरेका छन् । काम गरे अनुसार उत्पादन भएको तरकारी विक्री गरेर आम्दानी समेत लिने गरेको उहाँ बताउनुहुन्छ । विद्यार्थी चौधरीले भन्नुभयो,‘विद्यालयमा पढाईसँगै तरकारी खेतीले आम्दानी पनि हुने गरेको छ । यो हाम्रा लागि एकदम नयाँ अभ्यास हो ।’ तरकारी खेती गरेबाफत विद्यार्थीले ५० प्रतिशत, विद्यालयले २० प्रतिशत र विद्यार्थीलाई सघाउने कर्मचारीले ३० प्रतिशत आम्दानी पाउने गरेको विद्यालयका प्रधानाध्यापक उत्तम खनाल बताउनुहुन्छ ।

गरिबीका कारण आयआर्जन गरी पढ्नुपर्ने बाध्यतामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई आत्मनिर्भर गराउने उद्देश्यले सुरु भएको यो कार्यक्रम सफल हुँदै गएको विद्यालयका प्रधानाध्यापक खनाल बताउँनुहुन्छ । अहिलेसम्म विद्यालयमा बाली विज्ञान अध्ययनरत विद्यार्थीहरू मात्रै यो कार्यक्रममा जोडिएको भन्दै उहाँले यो बर्षदेखि अन्य विषयहरू अध्ययनरत विद्यार्थीलाई पनि कार्यक्रममा जोड्ने सोच रहेको बताउनुहुन्छ । कृषिका लागि खेतमा आवश्यक पर्ने बीउ, मल, औजार उपकरण,सिचाईका लागि डिप बोरिङको समेत व्यवस्था विद्यालयले नै गरिदिएको छ ।

Blog Post Ad Blog Post Ad