Ad Area

पितृसत्तात्मक सोँचले घट्दै छोरीको जनसंख्या


घोराही, ६ भदौ । पछिल्लो समय महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोँचका कारण छोराको चाहनाले छोरीको संख्या कम हुँदै गएको पाईएको छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार समाजमा अझै पनि वंश धान्न छोरा नै चाहिन्छ भन्ने मनोविज्ञानले जरा गाडेका कारण गर्भ रहेको बेलामा लिंग पहिचान गरी छोरी रहेको भए भ्रुण हत्या गर्ने र पछि छोरा जन्माउने प्रवृत्ति बढेको तथ्यांकले देखाएको छ । जन्मिएका शिशुमध्ये छोराको संख्या धेरै हुँदै जानुका पछाडि लिंग पहिचान नै प्रमुख कारक मानिएको छ । समग्र जनसंख्याको आकारमा पुरुषभन्दा महिलाको संख्या धेरै देखिएपनि जन्मिने बच्चाको उमेर समुहमा छोराको संख्या धेरै हुँदै गएको छ । गर्भमा नै लिंग पहिचान गर्ने र छोरी भए गर्भपतन गराउने तथा छोरालाई जन्मिन दिने गर्नाले यसको असर राष्ट्रिय जनगणनामा पनि देखिएको छ ।

राष्ट्रिय जनगणनामा लिंग पहिचान गरेर गरिने गर्भपतनको प्रभाव परेको देखिन्छ । जनगणनामा नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । समाजमा छोराप्रतिको बढ्दो चाहना र महिलालाई गरिने विभेदपूर्ण व्यवहारका कारणले छोरो जन्माउने गरेको पाईएको छ । देशभरमै यसको असर परिरहेको बेलामा दाङमा पनि छोरीको तुलनामा छोराको जन्मिने दर उच्च हुँदै गएको छ । जिल्लामा कुल ६ लाख ७४ हजार ९ सय ९३ जनसंख्या रहेकोमा जन्मेदेखि ४ वर्षको उमेर समुहको कुल संख्या ५३ हजार ३ सय ३६ रहेको छ । जसमा ४ दशमलव २ प्रतिशत अर्थात २८ हजार १ सय ३७ जना छोरा र ३ दशमलव ७ प्रतिशत अर्थात २५ हजार १ सय ९९ छोरी जन्मिएका छन् ।

जिल्लाको दश वटै पालिकाको तथ्यांक हेर्दा सबैपालिकामा जन्मेदेखि ४ वर्षसम्मका बालबालिकामा छोरीभन्दा छोराको संख्या धेरै छ । २ लाख ५ सय ३० कुल जनसंख्या रहेको घोराही उपमहानगरपालिकामा १५ हजार ५ सय ८१ जन्मेदेखि ४ वर्षसम्मका बालबालिका छन् । जसमा ४ दशमलव १ प्रतिशत अर्थात ८ हजार २ सय ४१ छोरा र ३ दशमलव ७ प्रतिशत अर्थात ७ हजार ३ सय ४० छोरी जन्मिएका छन् । तुलसीपुर उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख ७९ हजार ७ सय ५५ रहेकोमा जन्मेदेखि ४ वर्षसम्मका १३ हजार ९ सय १२ बालबालिका रहेका छन् । जसमा ४ दशमलव २ प्रतिशत अर्थात ७ हजार ४ सय ६३ छोरा र ३ दशमलव ६ प्रतिशत अर्थात ६ हजार ४ सय ४९ छोरी जन्मिएका छन् ।

लमही नगरपालिकामा ५९ हजार ५० कुल जनसंख्या रहेकोमा जन्मेदेखि ४ वर्षसम्मका ४ हजार २ सय ९१ जना बालबालिका रहेका छन् । जसमा ३ दशमलव ८ प्रतिशत अर्थात २ हजार २ सय १५ छोरा र ३ दशलमव ५ प्रतिशत अर्थात २ हजार ७६ जना छोरी जन्मिएका छन् । राप्ती गाउँपालिकामा ५२ हजार १ सय २३ कुल जनसंख्या रहेकोमा जन्मेदेखि ४ वर्ष उमेर समुहका ३ हजार ९ सय २६ जना बालबालिका रहेका छन् । जसमा ४ प्रतिशत अर्थात २ हजार ८३ जना छोरा र ३ दशमलव ८ प्रतिशत अर्थात १ हजार ७ सय ५५ जना छोरीको जन्म भएको छ ।

जिल्लाको गढवा गाउँपालिकाको कुल जनसंख्या ४५ हजार ८ सय ९८ रहेकोमा ३ हजार ६ सय ७५ बालबालिका जन्मिएका छन् । जसमा ४ दशमलव २ प्रतिशत अर्थात १ हजार ९ सय २० जना छोरा र ३ दशमलव ८ प्रतिशत अर्थात १ हजार ७ सय ५५ छोरीको जन्म भएको छ । बबई गाउँपालिकामा कुल जनसंख्या ३० हजार ९ सय ६८ रहेको छ । जहाँ जन्मेदेखि ४ वर्षसम्मका २ हजार ८ सय ५८ जना बालबालिका रहेका छन् । बबईमा ४ दशमलव ८ प्रतिशत अर्थात १ हजार ४ सय ९० जना छोरा र ४ दशमलव ४ प्रतिशत अर्थात १ हजार ३ सय ६८ छोरीको जन्म भएको छ ।

Blog Post Ad

जिल्लाको राजपुर गाउँपालिकामा २८ हजार ३ सय ४६ कुल जनसंख्या रहेको छ । जहाँ जन्मेदेखि ४ वर्षसम्मका कुल बालबालिकाको संख्या २ हजार ५ सय ५ जना रहेको छ । जसमा ४ दशमलव ६ प्रतिशत अर्थात १ हजार ३ सय ११ जना छोरा र ४ दशमलव २ प्रतिशत अर्थात १ हजार १ सय ९४ जना छोरीको जन्म भएको छ ।

शान्तिनगर गाउँपालिकाको कुल जनसंख्या २७ हजार ६ सय ४१ जना रहेको तथ्यांकमा उल्लेख छ । जहाँ जन्मेदेखि ४ वर्ष उमेर समुहका २ हजार २ सय ८१ जना बालबालिका रहेका छन् । सो पालिकामा पनि ४ दशमलव ३ प्रतिशत अर्थात १ हजार १ सय ९१ जना छोरा र ३ दशमलव ९ प्रतिशत अर्थात १ हजार ९० जना छोरीको जन्म भएको छ ।

दंगीशरण गाउँपालिकाको कुल जनसंख्या २३ हजार ६ सय ६८ जना रहेको छ । जहाँ जन्मेदेखि ४ वर्षसम्मका १ हजार ८ सय ५ जना बालबालिका रहेका छन् । यसमा ३ दशमलव ९ प्रतिशत अर्थात ९ सय ३२ जना छोरा र ३ दशलमव ७ प्रतिशत अर्थात ८ सय ७३ जना छोरीको जन्म भएको छ ।
जिल्लाको सबैभन्दा कम जनसंख्या रहेको बंगलाचुली गाउँपालिकामा कुल २२ हजार ३ सय ७३ जना रहेका छन् । जहाँ जन्मेदेखि ४ वर्षसम्मका २ हजार ४ सय ७७ जना बालबालिका रहेका छन् । यसमा ५ दशमलव ७ प्रतिशत अर्थात १ हजार २ सय ७९ जना छोरा र ५ दशमलव ४ प्रतिशत अर्थात १ हजार १ सय ९८ जना छोरी जन्मिएका छन् ।

जिल्लाको कुल जनसंख्याका आकार अनुसार छोराभन्दा छोरीको जन्मदर कमजोर बन्दै गएको छ । यसो हुनुमा लिंग पहिचान गर्ने र छोरा जन्माउने संस्कृतिको विकास भईरहेको बुझिएको छ । विश्वमा एक सय बालिका जन्मदा एक सय छ बालक जन्मिनुलाई स्वाभाविक रूपमा लिइन्छ । तर, राष्ट्रिय तथ्यांक अनुसार एक सय बालिका जन्मिदा सरदर एक सय १४ बालकको जन्म हुने गरेको छ । बालकको जन्म धेरै हुनुले अझै पनि छोराप्रतिको चाहना अत्यधिक रहेको देखिन्छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जन्मदा महिलाभन्दा पुरुषको संख्या धेरै भए पनि १९ वर्ष उमेरपछि भने पुरुषभन्दा महिलाको जनसंख्या बढी रहेको पाइएको छ ।

यसैगरी, देशको पछिल्लो जनगणना २०७८ अनुसार २ करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङख्या पुगेको छ । जसमा जन्मेदेखि ४ वर्षसम्मको २४ लाख ३९ हजार २ सय ८३ रहेको छ । जसमा ४ दशमलव ४ प्रतिशत अर्थात १२ लाख ९० हजार ५ सय २५ छोरा र ३ दशमलव ९ प्रतिशत अर्थात ११ लाख ४८ हजार ७ सय ५८ जना छोरी जन्मिएका छन् । जनगणनाका बेला ठूलो संख्यामा रहेका युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन भएका कारण लैंगिक अनुपात तलमाथि हुन गएको अनुमान गरिएको छ । स्थानीय तहतर्फ विश्लेषण गर्दा ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक र बालिकाको संख्या उल्लेखनीय देखिएको छ ।

उसो त, शून्यदेखि १४ वर्ष उमेर समूहको जनसंख्या घट्नुले प्रजनन् न्यून भएको देखाएको र १५ देखि ६४ वर्ष उमेर समूहको जनसंख्या वृद्धि भई ६२ प्रतिशत कायम रहनुले काम गर्न सक्ने उमेर समूहको बाहुल्यलाई पनि पुष्टि गरेको छ । वार्षिक जनसंख्याको वृद्धिदर ९० वर्षको इतिहासमा एक प्रतिशतभन्दा तल अर्थात शून्य दशमलव ९२ मा झरेको देखाइएको छ । पछिल्लो समय देशमा पुरुष र महिलाको जनसंख्या अन्तरमा सुधार देखिएको छ ।

सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भ परिक्षण गराउने र लिंग पहिचान गरी भ्रूण हत्या गर्नेक्रम बढेको पाईएको छ । कानुनी मान्यताको गलत फाइदा उठाउँदै भ्रुण पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने गरिएको पाइएको छ । जनगणनाअनुसार चार लाख १२ हजार नौ सय ३५ जना जन्मिएका बच्चा जन्मिएकामध्ये दुई लाख १८ हजार ७४ जना छोरा अर्थात ५२ दशमलव ८ प्रतिशत र एक लाख ९४ हजार आठ सय ६१ छोरी अर्थात ४७ दशमलव ३ प्रतिशत जन्मिएका छन् । यसरी छोराहरू जन्मिने क्रम बढेको र छोरी घटिरहेका छन् ।

नेपालमा सामान्यता एक सय पाँच÷एक सय छ जना छोरा जन्मँदा सय जना छोरी जन्मिने गर्दछन् । तर त्योभन्दा पनि अस्वाभाविकरुपमा छोराहरूको सङ्ख्या वृद्धि भइरहेको विभिन्न अध्ययनले देखाएको छ । छोरीभन्दा छोरालाई उच्च प्राथमिकता दिने पितृसत्तात्मक मान्यता भएको र सोहीअनुरूप छोरीभन्दा छोरा जन्माउने चाहना राख्ने भएको पाइन्छ । नेपालमा छोराको सङ्ख्या बढ्नुमा छोराको चाहनामा लिंग पहिचान गरेर छोरीको गर्भपतन गराउनु, प्रजनन दरमा कमी आउनु र प्रविधिको प्रयोगसँगै लिंग पहिचान गरेर गर्भपतन गराउनु रहेको छ । अहिले लिंग पहिचानको पहुँच सर्वसाधारणसम्म पुगेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन २०७५ र मुलुकी ९अपराध संहिता० २०७४ ले लिंग पहिचान गरी गर्भपतनलाई निषेध गरिएको छ । ऐनको दफा १७ मा लिंग पहिचान गरी गर्भपतन गर्न नहुने उल्लेख गरिएको छ । कसैले पनि गर्भमा रहेको भ्रुणको लिंग पहिचान हुने कुनै कार्य गर्न वा गराउन हुँदैन, गर्भवती महिलालाई गर्भको लिंग पहिचान गर्न डर, वा त्रास देखाईवा करकाप गरी वा धम्की दिई वा ललाईफकाई वा प्रलोभनमा पारी वा अनुचित प्रभाव, झुक्क्याई वा जोरजुलुम गरी दबाब दिन वा बाध्य पार्न हुँदैन भनी उल्लेख गरिएको छ ।

लिंग पहिचान गरी गर्भपतन गराउनलाई मुलुकी ९अपराध संहिता० २०७४ को १८८ अनुसार कारबाही गर्ने उल्लेख छ । दफाको उपदफा १ मा कसैले गर्भपतन गर्न वा गर्भपतन गराउने नियतले वा गर्भपतन हुनसक्छ भन्ने जानीजानी वा विश्वासमा गर्नुपर्ने कुनै काम गरी गर्भपतन गराउनु हुँदैन, उपदफा २ मा कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई वा ललाईफकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन नहुने उल्लेख गरिएको छ । तर, कानून विपरित गर्भमा रहेको बच्चाको लिंग पहिचान गर्ने र छोरी भए भ्रुण हत्या गर्ने क्रम बढेर गएको छ ।

Blog Post Ad Blog Post Ad