Ad Area

ढुक्क भएर सही सूचना दिनुस् : पोख्रेल


 

देशभर अहिले राष्ट्रिय जनगणना सञ्चालन भइरहेको छ । राष्ट्रले नीति, योजना निर्माणका जनगणनाबाट आएको तथ्याङ्कले सहयोग पुग्नेछ । १०÷१० वर्षमा हुने जनगणना यस वर्ष सञ्चालन भएको हो । यस वर्ष मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ भइरहेको छ । जिल्लामा ८ सय ४ जना गणक खटिएका छन् ।

कार्तिक २५ देखि सुरु भएको जनगणना मंसिर ९ सम्म सञ्चालन हुनेछ । अहिलको जनगनामा ८० प्रश्नावली छन् । राष्ट्रिय अभियान जिल्लामा कसरी सञ्चालन भइराहेको छ । अभियानका क्रममा के–कस्ता समस्याहरु देखापरेका छन् रु यसै सन्दर्भमा तथ्याङ्क कार्यालय दाङका प्रमुख एवं जिल्ला जनगणना अधिकारी तुलसीराम पोख्रेलसँग अमरराज आचार्यले गरेको कुराकानीको सार संक्षेप ।

 जिल्लामा जनगणनाको काम कसरी अगाडि बढिरहेको छ ?

 राष्ट्रिय अभियान भएकाले देशभर यस प्रकारको अभियान सञ्चालन भइराखेको छ । यसै क्रममा दाङमा पनि सुपरीवेक्षकले सूचीकरण गरेका घरहरूमा पुगेर अहिले गणकहरूले मुख्य प्रश्नावलीको उत्तर भर्ने काम गरिरहनुभएको छ । यो कार्य कार्तिक २५ गतेबाट सुरु भएको हो । आउँदो मंसिर ९ गतेसम्म सकिनेछ । जनगणनाको कार्यको अनुगमन समेत भइरहेको छ ।

जिल्ला जनगणना कार्यालय स्थानीय जनगणना कार्यालय, तथ्याङ्क विभाग, स्थानीय जनगणना कार्यालय, जिल्ला स्तरीय जनगणना समन्वय समितिको सहभागितामा अनुगमन जारी रहेको छ । जनगणना अभियान सञ्चालनका लागि जिल्लामा ५ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरेर काम सञ्चालन गरिँदै आएको छ ।

Blog Post Ad

घोराही उपमहानगरपालिकामा, तुलसीपुर उपमहानगरपालिकामा, बबई गाउँपालिकामा, लमही नगरपालिकामा, गढवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा जनगणनाका लागि ८ सय ४ जनगणकहरू र १ सय ८२ जना सुपरीवेक्षकहरू परिचालन गरिएको छ । एक जना गणकले २ सय ५० देखि ३ सय परिवार सङ्ख्यामा पुगेर तथ्याङ्ग लिनुहुने छ ।
 अनुगमनको क्रममा के पाउनुभयो त रु

 अनुगमनको क्रममा नागरिक सचेत रहेको पाएका छौँ । नागरिकले सहज रूपमा उत्तर दिएको पाइएको छ । अहिलेसम्म कुनै पनि नागरिकले उत्तर दिँदैनौँ भनेर भन्नुभएको छैन । यो राम्रो पक्ष हो ।सबैको सहयोगको कारण नै अहिलेसम्म अभियान अगाडि बढिरहेको छ । सबैको सहयोगले नै अभियान सफल हुनेछ ।

सबै क्षेत्रले आ–आफनो स्थानबाट प्रचारप्रसार गरेर सहयोग गर्नुभएको छ । केही स्थानमा उत्तरदाताले धेरै समय लाग्ने गरेको भन्ने गर्नुभएको छ । यसैगरेर अहिले खेती स्याहार्ने समय भएकाले काम गर्ने स्थानमा पुगेर नै उत्तर लिने काम भइराखेको छ ।

 अहिलेको जनगणनामा विशेषता के–के छ ?

 देश संघीय संरचनामा गएपछि हुन लागेको पहिलो जनगणना भएको हुनाले वडासम्मको वास्तविक तथ्याङ्क आउनेछ । घरको विस्तृत विवरण, जनगणनामा यस पटक घरको विस्तृत विवरण सङ्कलन गरिने छ । अर्थात् अब घर कति तलाको, छाना कस्तो तथा कुन प्रयोजनको लागि हो, त्यसको समेत विवरण सङ्कलन गरिनेछ ।

घरको जग केले बनेको, घरको बाहिरी गारो कस्तो खालको हो, घरको भूइँ कस्तो खालको हो ? समेत जनगणनामा समावेश गरिएको छ । घर केवल बसोबासका लागि मात्र हो वा कुनै व्यापारिक प्रयोजनको लागि त्यसको विवरण समेत यस पटक उल्लेख गरिने छ । सरकारी अनुदानमा निर्माण भएका घरको समेत विवरण सङ्कलन गरिँदैछ ।

त्यसका कारण भूकम्पपछि सरकारी अनुदान लिएर निर्माण भएका घरको समेत तथ्य विवरण प्राप्त हुनेछ । यसबाट भूकम्पपछि कति घर निर्माण हुनुपर्ने हो र त्यसमा कति घर निर्माण भएलगायतका विवरण आउनेछ ।यस पटक आर्थिक विवरण समेत आउने गरी प्रश्नावली तयार गरिएको छ । जसमा व्यक्तिहरूले बैंक खाता खोलेको वा नखोलेको तथा परिवारका सदस्यले बैंकबाट ऋण लिए नलिएको विवरण समेत आउने गरी प्रश्नावली तयार गरिएको छ । यस पटकको जनगणनामा प्राविधिक शिक्षाको बारेमा समेत विवरण सङ्कलन गरिने छ ।

क–कस्ता प्राविधिक योग्यता तथा दक्षता भएका प्राविधिक जनशक्ति भन्ने कुराको जानकारी पनि यस पटकको जनगणनाले दिनेछ । यसबाट देशमा कस्ता किसिमका प्राविधिक जनशक्ति रहेछन् र उनीहरूले के गर्दै रहेछन् भन्ने कुराको पनि तथ्याङ्क आउने छ । यसैगरेर विगतका जनगणनामा जन्मदर्ताको विवरण सङ्कलन गर्ने गरिँदैनथ्यो । तर, यसपटक भने कति परिवारले कति बच्चाको जन्मदर्ता गरेका रहेछन्, त्यसको समेत लगत सङ्कलन गरिनेछ । यसले गर्दा जन्मदर्ताको अवस्था कस्तो रहेछ बुझ्न समेत मद्दत गर्छ । साथै यसपटक अपाङ्गतासम्बन्धी विवरण पनि पूर्णरूपमा आउने छ ।

कस्तो किसिमको अपाङ्गता भएको हो, शारीरिक अपाङ्गता, बहिरोपन, सुस्तश्रवण, पूर्ण दृष्टिविहीन, अनुवंशीय रक्तश्राव, अटिजम, बौद्धिक अपाङ्गता, मनोसामाजिक अपाङ्गता, बहुअपाङ्गता आदिका बारेमा पूर्ण जानकारी पनि यसपटक प्राप्त हुनेछ । परिवारमा कसैको मृत्यु भएमा उसको सम्पूर्ण विवरण पनि यसपटक सङ्कलन गरिने भएको छ । मृत्यु भएको व्यक्तिको लिङ्ग, उमेर, कारण समेत खुलाउनु पर्नेछ । त्यस्तै १५ देखि ४९ वर्षको महिलाको मृत्यु भएमा मृत्यु हुँदा कस्तो अवस्था थियो त्यो पनि खुलाउनु पर्नेछ । मृतक महिला, गर्भवती, प्रसूती, सुत्केरी आदि विवरण पनि खुलाउनुपर्ने छ । यदि सुत्केरी भए बच्चा जन्मेको कति हप्ता हो, त्यसको विवरण पनि उल्लेख गर्नुपर्ने छ । मृत्युदरका साथै जन्मका बारेमा पनि यस पटकको जनगणनामा विवरण आउने छ ।

कति जना जीवित बच्चालाई जन्म दिइन् तथा जीवित जन्मेकामध्ये कतिको मृत्यु भयो भन्ने बारेमा पनि खुलाउनुपर्ने छ । यसबाट देशमा भएको मातृ मृत्युदरका बारेमा यथार्थ विवरण समेत आउने छ । विगतका जनगणनामा व्यक्तिको मातृभाषा र चलनचल्तीको भाषाको विवरण मात्र समावेश गरिन्थ्यो । यस पटक भने लोपोन्मुख मौलिक भाषालाई जोगाउने उद्देश्यले पनि पुर्खाले के भाषा बोल्थे भन्ने बारेमा समेत प्रश्न सोधिनेछ । पुर्खाले बोल्ने गरेको भाषा, मातृ भाषा तथा दोस्रो भाषाको बारेमा पनि यस पटकको जनगणनामा प्रश्नावली समावेश गरिएको छ । जसबाट कुन–कुन भाषा लोपोन्मुख छन् रु

त्यसको विवरण प्राप्त भएपछि त्यसलाई संरक्षण तथा सम्बद्र्धन गर्न पनि मद्दत पुग्नेछ । यस पटक विभागले विदेश गएका व्यक्तिको बारेमा पनि विवरण सङ्कलन गर्ने गरी प्रश्न तयार गरेको छ । परिवारबाट कोही विदेश गएका कारण अनुपस्थित हो भने त्यस व्यक्तिको नाम, थर, लिङ्ग, विदेश जाँदाको उमेर तथा के कारणले विदेश गएको हो त्यो पनि खुलाउनु पर्नेछ । साथै विदेश कहाँ गएको हो, त्यो देशको नाम समेत जनगणनामा उल्लेख गर्नुपर्ने छ ।

यस पटक पहिलो पटक जनगणनामा वडाको सबै जानकारी समेत सङ्कलन गर्न लागिएको छ । यस अघिका जनगणनामा व्यक्तिगत विवरणहरू मात्र सङ्कलन गर्ने गरिन्थ्यो । यसपटक वडाको आर्थिक, सामाजिक, धार्मिक, पूर्वाधारका बारेमा समेत लगत सङ्कलन गरिनेछ । साथै त्यस क्षेत्रमा रहेका बाढी, पहिरो, नदी कटान, भूक्षयजस्ता प्राकृतिक प्रकोपको अवस्थाको बारेमा पनि जानकारी सङ्कलन गरिने छ ।

यस पटकको जनगणनामा वडाबाट समेत घरपरिवारको जाति, धर्म, लिङ्गबारे पनि तथ्याङ्क सङ्कलन गरिनेछ । जसबाट जनगणनाका बेला परिवारले उपलब्ध गराएको विवरण र वडाले दिएको विवरणमा के–कस्तो अन्तर छ, त्यसको तुलनात्मक अध्ययन गरी तथ्याङ्कलाई अझ विश्वस्त तथा भरपर्दो बनाउने विश्वास पनि विभागले लिएको छ । विगतका जनगणनामा एउटा प्रश्नावली सबै परिवारमा सोधिन्थ्यो भने अर्को प्रश्नावली भने छनोट भएका नमुना परिवारमा मात्र सोध्ने गरिन्थ्यो । तर, यस पटक भने सबै प्रश्न सबै परिवारलाई सोध्ने गरी ८० वटा प्रश्न तयार गरिएको छ ।
 तथ्याङ्क सङ्कलनमा समस्या केही पाउनुभएको छ ?

 अहिलेसम्म त्यस्तो समस्या आएको छैन । केही स्थानमा उत्तरदाताले धेरै समय लाग्ने गरेको भन्ने गर्नुभएको छ । त्यो बाहेक अरु जिल्लामा केही समस्या छैन ।

 अन्त्यमा केही भन्नु छ ?

 जनगणना भनेको सार्वजनिक सम्पत्ति भएकाले यसको निर्माणका लाग्न सबैमा आग्रह गर्दछु । जनगणनाबाट आएको तथ्याङ्क सबैले प्रयोग गर्न पाउने भएकाले यसलाई सार्वजनिक सम्पत्तिको रूपमा लिनु पर्दछ । सबैको साथ सहयोग मिलिरहेको छ । यो निरन्तर रहने अपेक्षा समेत गरेको छु । नागरिकले कसैको दबाब र प्रभावमा नपरेर आफ्नो यथार्थ जानकारी दिन आग्रह गर्दछु ।

नागरिकले दिएको तथ्याङ्क पूर्णरूपमा गोप्य रहने विश्वास दिलाउन चाहन्छौँ । त्यस कारण नागरिक ढुक्क भएर आप्mनो यथार्थ जानकारी दिनुहोस् । नागरिकबाट सही सूचना आएमा मात्र राज्यले त्यसै अनुसारको नीति बनाएर अगाडि बढ्नेछ । त्यसैले नागरिकले सही सूचना दिनुपर्छ । जनगणनाबाट आएका तथ्याङ्क व्यक्तिगत नभई सामूहिक रूपमा आउने समेत गराउन चाहन्छु । राष्ट्रिय महाभियानमा सहयोग गर्ने सबैलाई धन्यावाद दिन चाहन्छु ।

Blog Post Ad Blog Post Ad