Ad Area

इन्धनको मुल्यवृद्धि तत्काल फिर्ता लिन समाजकाे माग


घोराही, १६ भदौ । नेपाल आयल निगमले हालै अस्वाभाविक रुपमा इन्धनको मुल्य बढाएको प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालीको भान्सा यसैपनि महंगो भएको बेलामा ढाड सेक्ने गरी निगमले खाना पकाउने एलपी ग्यासको बढाएको मुल्य तत्काल फिर्ता लिन माग समेत गरेको छ ।
समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्दै जनजीविकाका बारेमा गम्भीर बन्नुको साटो आम नागरिकलाई दुख दिने काम नगर्न अपिल गर्नु भएको छ ।
‘महंगीका कारण यसै पनि साँझ बिहानको छाक टार्न समस्यामा रहेको आम नेपालीको भान्साका बारेमा सोँच्नु पर्ने बेलामा सरकारले एकै पटक ग्यासको उच्च मुल्य वृद्धि गरिनु गरिब जनता मार्ने काम हो’, विज्ञप्तिमा भनिएको छ ‘जनताको बारेमा सरकारले तत्काल सोचोस् र वृद्धि गरिएको इन्धनको मुल्य फिर्ता लेओस् ।’
बढ्दो बेरोजगारी, आर्थिक संकटका कारण समस्या बढेको बेला इन्धनको मुल्य वृद्धिले आम नागरिक, विद्यार्थी, मजदुर वर्ग सबैभन्दा बढी मारमा परेको स्मरण गराईएको छ । इन्धनको मुल्य वृद्धिको असर घरको चुलोदेखि बजारको हरेक बस्तुमा प्रत्यक्ष अप्रत्यक्ष परेको र यसले आगामी दिनमा ठूलो असन्तुलन ल्याउने हुँदा समयमै सरकारलाई सचेत बन्न नागरिक समाजले आग्रह गरेको छ ।
आयल निगमले स्वचालित प्रणाली भन्दै शुक्रबारबाट लागु हुने गरी सबै प्रकारका इन्धनको मुल्य बढाएको छ । निगमले खाना पकाउने ग्यासमा एकैपटक २ सय ३५ रुपैयाँ मूल्य बढाएको छ ।
नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६ सय ६० थियो । यसैगरी पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल-मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ ।
योसँगै पेट्रोल प्रतिलिटर १ सय ८२ र डिजेल-मट्टितेल प्रतिलिटर १ सय ७० पुगेको छ । यसअघि पेट्रोल १ सय ७८ र डिजेल-मट्टितेल १ सय ६७ रुपैयाँ थियो ।

Blog Post Ad Blog Post Ad