Ad Area

स्वर्ण पदक बिजेता खेलाडी थापालाई सम्मान


घोराही,१५ भदौ । घोराही उपमहानगरपालिका १५ वडा कार्यालयले सातौ दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनमा स्वर्णपदक विजेता खेलाडीलाई सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरेर वडा कार्यालयले स्वर्ण पदक बिजेता भीमबहादुर थापालाई नगदसहित सम्मानित गरेको हो ।

घोराही उपमहानगरपालिका १५ निवासी थापालाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गरेको हो । सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेशकुमार पाण्डेले खेलकुद क्षेत्रका माध्यमबाट वडा, जिल्ला, प्रदेश र देशलाई अन्तराष्टिय क्षेत्रमा चिनाउन सफल खेलसँगै खेलाडीलाई सवैको सहयोग आवश्यक रहेको बताए । थापाले प्रतियोगितामा १ स्वर्ण, १ रजत र १ काश्यसहित तीन पदक जित्न सफल भएका थिए ।

वडा अध्यक्षले खेलाडीलाई बधाई तथा शुभकामना दिंदै खेलाडीले देश सहित घोराही १५को समेत इज्जत, प्रतिष्ठा र शान बढाएको बताए । अध्यक्ष पाण्डेले आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको कामना गर्दै वडा सरकार सदैब खेलाडीको साथमा रहेको समेत बताए।कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतमले देशका लागि पदक जित्ने खेलाडीलाई वडाले सम्मान गरेर राम्रो काम गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । दाङ आइटिएफ तेक्वान्दोका अध्यक्ष समेत रहेका थापा नेपालको प्रतिनिधित्व गर्दै भारतको हैदराबादमा गत साउनको १९ गतेदेखि २१ गतेसम्म भएको सातौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका थिए । घोराही उपमहानगरपालिका वडा नम्बर १५का वडा सदस्य लेखनाथ बुढाथोकीले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए।

Blog Post Ad Blog Post Ad