Ad Area

विद्युतीय गाडीप्रति बढ्दै आकर्षण


दाङ, १९ भदौ । तुलसीपुर निवासी केशव केसी करिब दुई वर्षदेखि विद्युतीय गाडी चढ्दै आएका छन् । निजी प्रयोजनका लागि विद्युतीय कार किनेका केसीलाई तेल सकिएला र मूल्य बढ्ला भन्ने चिन्ता छैन । चार्ज गरेपछि निश्चित दूरीसम्म चल्ने पूर्वअनुमान भएकाले त्यही अनुसार चार्ज गरेर विद्युतीय गाडी चढ्दै आएका छन् ।

करिब ५० लाख रूपैयाँ खर्च गरेर गाडी किनेका केसीका अनुसार इन्धनबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी चढ्न सहुलियत हुने गरेको छ । उनले भने, ‘इन्धनबाट चल्ने गाडी प्रयोग गर्दा खर्च धेरै हुने गरेको थियो । त्यसको तुलनामा विद्युतीय गाडी चढ्न थालेपछि खर्च घटेको छ ।’ उनका अनुसार विद्युतीय गाडी चार्जिङ स्टेसनमा चार्ज गर्दा पेट्रोलको तुलनामा आधाभन्दा कम खर्च हुने गरेको छ । गाडी सर्भिसिङ गर्दा पनि खर्च कम लाग्ने गरेको छ ।

‘मलाई दैनिक २५ देखि ६० किलोमिटरसम्म यात्रा गर्नु पर्ने हुन्छ, त्यतिमा मेरो खर्च डेढ सय रूपैयाँ जति हुन्छ ।’ तुलसीपुरमा हाल वेस्टर्न पार्टी प्यालेसमा मात्रै विद्युतीय चार्जिङ स्टेसन छ । विद्युतीय कार घरमै पनि चार्ज गर्न मिल्ने भएकाले प्रायः घरमै चार्ज गर्ने गरेको भन्दै केसीले भने, ‘अलिक टाढाको यात्रा गर्नु पर्दा वा विद्युत काटिने अवस्था छ भने चार्जिङ स्टेसनमै पुगेर गर्ने गरेको छु ।’

नेपाल विद्युत प्राधिकरणले ठाउँ–ठाउँमा चार्जिङ स्टेसन राख्न थालेलेकाले विद्युतीय गाडी प्रयोग गर्नेलाई सजिलो भएपछि प्रयोगकर्ता समेत बढ्दै गएका छन् । लमहीमा विद्युत प्राधिकरण र तुलसीपुरमा निजी लगानीमा विद्युतीय चार्डिङ स्टेसनको व्यवस्था छ । यी स्टेसनमा सामान्य अवस्थामा प्रतियुनिट ६ रूपैयाँ शुल्क लाग्ने गरेको छ । तुलसीपुरका व्यवसायी बिमल पौडेलले सार्वजनिक यातायातमा दुईवटा विद्युतीय माइक्रो बस चलाउँदै आएका छन् ।

उनका दुईवटा गाडीमध्ये एउटा विद्युतीय गाडी दैनिक दाङको तुलसीपुरबाट नेपालगञ्जसम्म र अर्को गाडी तुलसीपुरबाट बुटवलसम्म चल्न थालेको चार महिना भइसक्यो । तुलसीपुर–नेपालगञ्ज एक सय १६ किलोमिटर र तुलसीपुर–बुटवल एक सय ७५ किलोमिटर दूरीमा विद्युतीय गाडी राम्रै चलेको पौडेलले बताए । दुईवटै गाडी रातको समयमा प्रायः घरमै चार्ज गर्ने गरेका पौडेलले स्टेसनमा पूरा चार्ज गर्दा नेपालगञ्ज जाने गाडीका लागि बढीमा एक हजार रुपैयाँ र बुटवल जाने गाडीका लागि बढीमा १५ सय रुपैयाँ चार्जिङ शुल्क लाग्ने गरेको छ ।

व्यवसायी पौडेल भन्छन्, ‘पेट्रोल हाल्नु परेको भए नेपालगञ्ज जाँदा र पर्किँदा कम्तिमा ३५ सय रूपैयाँ र बुटवल जान आउन पाँच हजार रुपैयाँ लाग्ने थियो तर विद्युतीय चार्जिङ गाडीमा धेरै कम खर्च लाग्ने गर्दछ ।’ विद्युतीय गाडीको प्रयोगले पैसाको बचतसँगै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने गरेको उनले बताए तर सडकका विभिन्न ठाउँमा परेका खाल्डाखुल्डीका कारण समस्या हुने गरेको उनको गुनासो भने छ ।

Blog Post Ad

सरकारले विद्युतीय गाडी प्रयोगलाई प्राथमिकता दिएर ठाउँठाउँमा चार्जिङ स्टेसन निर्माण गरेपछि पछिल्लो समय केसी र पौडेल जस्तै विद्युतीय गाडी प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । पौडेलका अनुसार त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिमा आबद्ध भएर हाल ९ वटा गाडी चल्ने गरेका छन् । उनका अनुसार सुरुमा विद्युतीय गाडी खरिदमा केही बढी खर्च भए पनि इन्धनको बचतका कारण फाइदा हुने बताए ।

नेपाल विद्युत प्राधिकरणले दाङको लमहीमा दुईवटा चार्जिङ स्टेसन निर्माण गरेर गत जेठदेखि सञ्चालनमा ल्याएको छ । लमही नगरपालिकाको बसपार्कमा एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा करिब डेढ करोड रूपैयाँमा चार्जिङ स्टेसन निर्माण गरिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने बताए । लमहीको बसर्पाकमा निर्माण गरिएको चार्जिङ स्टेसनले स्थानीयसँगै पूर्व–पश्चिम राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सहज भएको लामिछाने बताए ।

प्रमुख लामिछानेले भने, ‘लमहीमा चार्जिङ स्टेसन नहुँदा निजी सवारी साधन घरमै चार्ज गर्न सकिने भए पनि सार्वजनिक सवारीका साधनलाई चार्ज गर्न समस्या थियो । त्यो समस्या अहिले हटेको छ ।’ उनका अनुसार दुईवटा चार्जिङ स्टेसनमा एकसाथ ६ वटा गाडी चार्ज गर्न मिल्ने सुविधा छ । पछिल्लो समय लमही स्टेसनबाट दैनिक १८ देखि २० वटा साना, ठुला गाडीले चार्जिङ सेवा लिने गरेका छन् । उनका अनुसार चारपाङ्ग्रे एउटा गाडी पूरा चार्ज हुन २० युनिटसम्म विद्युत खपत हुने गरेकाले दुई सयसम्म शुल्क लाग्ने गरेको छ ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुख रमेश गौतमका अनुसार कार्यालयमा निजी विद्युतीय कार २४ र ६२ वटा विद्युतीय स्कुटर दर्ता भएका छन् । यसैगरी रिक्साको सङ्ख्या तीन हजार ७ सय बढी रहेको यातायात व्यवस्था कार्यालय दाङले जनाएको छ । ठुला गाडीहरू बाहिर नै दर्ता भएर आउने भएकाले कार्यालयमा डाटा नभएको कार्यालय प्रमुख गौतमले बताए ।

Blog Post Ad Blog Post Ad