Ad Area

विद्यार्थीले सुनाए विपीको ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’


घोराही, २५ भदौ । विपी कोईरालाको ११० औं जयन्तीका अवसरमा आईतबार दाङ कांग्रेसले आयोजना गरेको जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय कविता प्रतियोगितामा विद्यार्थीहरुले विपीले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका बारेमा सिर्जनात्मक कविता सुनाए । सँधै शिक्षक, अभिभावक र अग्रजका कुरा सुन्ने विद्यार्थीले यो दिन आफ्ना कुरा कवितामार्फत उपस्थित शिक्षक, समाजसेवी, नेता, सहपाठीहरुलाई रचनात्मक शैलीमा विपीलाई कवितामार्फत सुनाए ।

आजको पुस्ताले विपी कोईरालालाई जे जति बुझेको छ, जे जति सुनेको छ, त्यही कुरा काव्यशैलीमा शब्दमा उतारेर रोचक र रचनात्मक रुपमा प्रतियोगी कविहरुले दर्शकदीर्घामा मुक्तकण्ठले निर्धक्कका साथ पोखे । विपीका आर्दश, निष्ठाको राजनीति, नेपाली जनताको हीतका पक्षमा तात्कालीन समयमा प्रादुर्भाव भएको कुरा आजका दिनमा पनि उत्तिकै सान्दर्भिक र मनन् योग्य रहेको कुरामा जिल्लाभरबाट कविता प्रतियोगितामा सहभागी भएका विद्यार्थी कविहरुको कविताको सार थियो ।

उनीहरुले नेपालको भूराजनीतिमा विपीको योगदान, अहिलेको कांग्रेस र विपीले देखेका सपना र आदर्शलाई कवितामार्फत व्यक्त गर्दा कविता सुन्न उपस्थित शिक्षक, समाजसेवी, नेताहरुलाई विपी कोईरालाको आदर्श र उहाँले अघि सारेको विचार सिद्धान्तको बाटोमा लाग्न हौसला बुलन्द गरिरहेको थियो ।

खासमा, पछिल्लो पुस्तासँग विपीका विचार जोड्ने उद्देश्यसहित दाङ कांग्रेसले जिल्लाभरका मावि तहका विद्यार्थीलाई एक ठाउँमा राखेर उनीहरुको साहित्य सिर्जनशीलता बुझ्न र विपीको आदर्शलाई ब्युँताउन यस प्रकारको जुक्ति निकालेको हो । जसमा आईतबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाभरबाट सहभागी विद्यार्थी कविहरुले प्रतियोगी कवितामा विपीको राष्ट्रवाद, कांग्रेसको यात्रा र नेपालको समसामयिक राजनीतिलाई शब्दमा उतारेर रोचक ढंगले वाचन गरे । वाचित कविता सुनेर सबै मन्त्रमुग्ध भए । उनीहरुका कवितामा विपीको जीवनचित्र झक्लिएको थियो । विपीको आदर्शमा समाहित आशा र विश्वासलाई अब सत्कर्मले नेपाल बनाउने संकल्पलाई साकार बनाउने सुत्र उजागर गरिएको थियो ।

अप्ठेरो अवस्थामा देशलाई निकास दिन सक्ने तथा राजनीतिक जीवनमा त्याग, समर्पण, नैतिकताका बारेमा बोध गराउन सक्ने विषयलाई वर्तमान अवस्थामा विपीको आदर्शलाई नेपाली कांग्रेसले कसरी लिएको छ ? नेपाली राजनीतिमा विपीको विचार र चिन्तनलाई कुन ढंगबाट सम्बोधन गर्ने गरिएको छ ? भन्ने विषयलाई विद्यार्थीहरुले रचनात्मक रुपमा कवितामा उतार्न सफल भएको सहभागीहरुको बुझाई छ ।

जसमा गढवा गाउँपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यामिक विद्यालय गोवरडियामा कक्षा १० मा अध्ययनरत सरु विकले विपीको आदर्श, सिद्धान्त र वर्तमान अवस्थाको नेपाल तथा नेपाली कांग्रेसको प्रतिबिम्ब झल्काउँदै प्रस्तुत गरेको कविता प्रथम भयो ।
पन्चचामर छन्दमा सरुले रचना गरेको विपीको राष्ट्रियता शीर्षकको कविता यस्तो छ,

Blog Post Ad

उदाउने छु पूर्वमा, बिहान हुँ म आशको
पहाडमा छु फक्रँदै, म कोपिला गुराँसको ।
लडे म लड्छु मार्गमा, स्वयम् चरित्र दोषले
उडान भर्छु लक्ष्यको, फिजाई पङ्ख जोशले ।।

डुबे इमान मृत्युमा, छ अर्थ के र सासको
जरा उकेल्छु भ्रष्टको, म ढाड सेक्छु दासको ।
म गर्वसाथ विश्वमा, चिनाइ राष्ट्र भेषको
बलेर चाँदनी सरी, कथा बदल्छु देशको ।।

म शान्त शान्त बग्दछु, अनन्त सिन्धु भेट्नुछ
समस्त लोकको पीडा, अभाव प्यास मेट्नुछ ।
सुरम्य सौम्य बाघको, म घाँसपात गोड्दछु
उठान हुँ विचारको, भएर छाल छोड्दछु ।।

नकुल्च भावनाहरु, कठोर क्रुद्ध बन्दछु
म शत्रु नाश गर्दछु, म बज्रपात बन्दछु ।
म देशभक्त पात्र हुँ, अनन्त दिव्य रोशनी
म चम्कने छु, लोकमा, विकास सारथी बनी ।।

प्रतियोगितामा सहभागी ५६ जना विद्यार्थीलाई पछि पार्दै सरु जिल्ला प्रथम हुँदा उहाँले लेखेर कथेको पन्चचामर छन्दको कविता विपीको विपीवाद, नवचेतनाको स्तर, सचेतना र जागरणको उजागर गर्न लायक छ ।

प्रतियोगितामा भाग लिनुभएकी राप्ती गाउँपालिका वडा नम्बर ६ स्थित श्री ज्ञानोदय माध्यमिक विद्यालय पथरगढवामा कक्षा १० मा अध्ययनरत सुनिता शेर्पाले पनि विपीको सपना, नयाँ नेपालको यात्रा, वर्तमान कांग्रेसलाई सिर्जनात्मक शैलीमा उतारेर काव्य चेतनाबाट कांग्रेसको विपी चिनाउने कोशिस गर्दा द्वितीय भईन् ।

विपीलाई केन्द्रमा राखेर सुनिता शेर्पाले रचना गरेको गद्य कविता आफैमा उत्कृष्ट छ । उनका कवितामा देश, नेपाली जनता, नेपाली परिवेश, राजनीतिक चेतना र जनजीविकाका कुरालाई विपीले उठान गरेका कुरालाई सिर्जनात्मक रुपमा कवितामा पोखिएका छन् । कविता यस्तो छ,

धन्य हौ ! महामानव विपी तिमी
नेपाल आमाको काखबाट तिमी खोसिनु पर्दा पनि
मातृभूमि प्रतिको मोह तिम्रो रित्तिएन रत्ति पनि
कृष्णप्रसाद खरदार बालाई निर्वासित गर्दा पनि
सर्वस्वहरणको पीडा दिव्या मातालाई पर्दा पनि
धन्य हौ ! महामानव विपी तिमी

कति भोग्यो जेलनेल, वर्षौ वर्ष कारागार
आखिर घुँडा टेकाई छाड्यो, ढल्यो निरङ्कुश राणा सरकार
तिमी राजनीतिज्ञ, दर्शनशास्त्री तिमी नै नेपाली साहित्यकार
संघर्षको मार्ग तय गरि, भूकम्प सरि हल्लाई दियो राणा दरबार
धन्य हौ ! महामानव विपी तिमी

कति अनुशासित, इमानदार तिमी, कस्तो सरल स्वभाव
भारतीय स्वतन्त्र संग्राममा, देखाई दियो नेपाली सदभाव
वैचारिक एकता कायम गरि, राणा सरकार विरुद्ध सबलाई उठायो
निरङ्कुश राणा सरकार अन्त्यका लागि, सशस्त्र संघर्षको विगुल फुकायो
धन्य हौ ! महामानव विपी तिमी

विराटनगरको मजदुर आन्दोलन, झिल्को थियो संघर्षको
आगमन थियो राष्ट्रियता, प्रजातन्त्र नेपाली वीरता र गौरवको
तिमी कति निर्भिक, निस्वार्थी नेता, सुन्दरीजल कारागारको हावा खाएर पनि
धन्य हौ ! महामानव विपी तिमी

राजा र प्रजा बीच सम्बन्ध गाँस्ने, नीति ल्यायो मेलमिलापको
तिम्रो कमजोरी ठानी जेल हाले, आखिर दरबारलाई अभिशाप भो
रजौटा प्रथा, बिर्ता प्रथाको उन्मुलन भई, प्रजातन्त्रको उदय भो
तिमी दूरदर्शी नेता पाई, नेपाली सबको विजय भो
भन्य हौ ! महामानव विपी तिमी

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, नेपाली कांग्रेसको आदर्श हुन्
भोक, रोग र अशिक्षा नेपाली जनताको साझा दुस्मन हुन्
भनि ठानिकन जीवनभर कहिले अनशन, कहिले संघर्ष
धन्य हौ ! महामानव विपी तिमी, स्मरण गर्छौँ लाखौलाख वर्ष ।।

सोही प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाको गुरुजज्ुर नमूना माध्यमिक विद्यालय रक्षाचौरमा कक्षा १० मा अध्ययनरत छात्रा मुना बुढाथोकीले पनि विपीका सिद्धान्त र वर्तमान नेपालको अवस्थालाई सटिक रुपमा शब्द सिर्जनामा उतारेर पोखिन् र तृतीय स्थान प्राप्त गरिन् ।
विपीले अघि सारेका सिद्धान्तले उज्यालो र नवीन नेपालको परिकल्पना गरेको कुरा मुनाका कवितामा समावेश छ । काव्य चेतनाबाट विपीलाई आजको पुस्ताले कसरी सम्झिने गरेको छ भन्ने कुरा मुनाको कविताले स्पष्ट पारेको छ । उनले रचेर वाचन गरेको कविता यस्तो छ,

विपी तिमी आज पनि अमर छौ
१९७१ सालमा जन्मिए नेपालका एक सुनौला तारा
तिमी बन्यो नेपाली जनताको साथै नेपाल आमाको प्यारा
आफ्नो कृतिहरुबाट गर्यो सारा नेपाली जनताको भावना व्यक्त
आफ्नो सम्पूर्ण जीवन बितायो बनेर एउटा देशभक्त

विपी तिमी आज पनि अमर छौ
तिम्रो स्वरुपको नेपाल उज्यालो पार्न गरे सबैले तिम्रो प्रयास
नेपाल स्वर्ग बन्छ सारा नेपालीले गरे तिम्रो जस्तै अभ्यास
कथा, कविता, निबन्ध आदि क्षेत्रमा चलायो तिमीले हात
तिनै रचनाद्वारा चेतना फैलाई दुखमा दियो जनताको साथ

विपी तिमी आज पनि अमर छौ
जनताको आवाज स्वतन्त्र होस् भन्ने तिम्रो लक्ष्य
कारागारमा भएपनि छाडेनौ न्यायको पक्ष
लोकतन्त्रको सिकार तिम्रो स्वतन्त्र तिम्रो इतिहास
जनताले न्याय पाउने थिएनन् नगरेको भए तिमीले प्रयास
विपी तिमी आज पनि अमर छौ

नेपालको स्वरुप पूरा गर्यो तिमीले आवाज हो हाम्रो
तिम्रो कठिन संघर्ष योगदानले नेपाल बन्यो आज यति राम्रो
जनताको आवाज, लोकतन्त्रको मार्ग जनाउँछन विपीको विश्वास
विपी तिमी अमर रहिरहनेछौ, रहुन्जेल नेपाल आमाको सास
विपी तिमी आज पनि अमर छौ, रहिरहने छौ ।।

प्रतियोगितामा प्रथम हुन सफल सरुले नगद दश हजारसहित प्रमाणपत्र, द्वितिय स्थान प्राप्त गर्न सफल सुनिताले नगद सात हजारसहित प्रमाणपत्र र तृतीय स्थान प्राप्त गर्ने मुनाले पाँच हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय भेडाबारी मुलावारीमा कक्षा १० मा अध्ययरत बन्चिता पुन, माउण्डभ्यु बोर्डिङ स्कुल घोराहीमा कक्षा ९ मा अध्ययनरत अतिसा पोख्रेल र गोरखा बोर्डिङ स्कुलमा अध्ययनरत आयुष देवकोटा सान्त्वना भए । सान्त्वना स्थान प्राप्त गर्नेलाई आयोजकले नगद तीन हजारसहित प्रमाणपत्र प्रदान गर्यो ।

प्रतियोगिताको निर्णाकको भूमिका साहित्यकारहरु डा. गोविन्द आचार्य, डा. हिमलाल पन्थी र सन्ध्या रेग्मीले निभाए । विपीको बारेमा बाल मनोविज्ञान बुझ्न र उनीहरुमा साहित्य सिर्जनामा निखारता ल्याउन यस प्रकारको कार्यक्रम विद्यार्थीहरुका लागि निकै फलदायी भएको निर्णायकहरुको भनाई छ । रचित र वाचित सबै कविता आफैमा राम्रा, सन्देशमुलक, देश र नेपालीको हीतका पक्षमा रहेको निर्णायकको बुझाई छ । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Blog Post Ad Blog Post Ad