Ad Area

नमुना विद्यालय घोषणा भयो, काम भएन


दाङ, २९ भदौ । घोराही उपमहानगरपालिकाले गत फागुन महिनामा एक वडा एक नमुना विद्यालय बनाउने निर्णय गरेको थियो तर त्यसको कार्यान्वयन सुस्त छ । निर्णय गरेको लामो समय भएर पनि त्यसको कार्यान्वयन भएको छैन । घोषणा गरेको विद्यालय नमुनामै सीमित छ ।

उपमहानगरपालिकाले एक वडा एक नमुना विद्यालय घोषण गरे पनि कार्यान्वयन गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । निर्णय गरेर पनि कार्यान्वयन गर्न नसक्नु स्थानीय सरकारको कमजोरी भएको टिप्पणी सुरु भएको छ । नमुना विद्यालयमा आधारभूत आवश्यकता समेत नभएको अभिभाकले बताउने गरेका छन् । यो अवस्थाले नमुना विद्यालय भन्न समेत लाज लाग्ने अवस्था छ । ‘नमुना विद्यालयका खानेपानी, शौचालय तथा बस्ने उचित व्यवस्थापन समेत छैन’, एक अभिभावकले भने ।

घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले नमुना विद्यालयमा प्रारम्भिक चरणको काम भइराखेको बताए । ‘अहिले प्रारम्भिक चरणका काम भइराखेका छन् । अरू पछि नै हुने छ’, उनले भने । गत आर्थिक वर्षमा नमुना विद्यालयमा १÷१ लाख रुपैयाँ पठाइएको उनले बताए ।

विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री, शिक्षकलाई तालिम, शिक्षकको दरबन्दी मिलान, विद्यालयका स्तरीकरण गर्ने काम भएको उनले बताए । विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि बजेट समेत व्यवस्था हुने प्रमुख गौतमले बताए । प्रि–प्राइमरीलाई प्राथमिकता दिएको उनले बताए । सामुदायिक विद्यालयमा विद्यार्थीलाइ आकर्षण गराउन प्रि–प्राइमरीलाई प्राथमिकता दिइएको उनले बताए ।

शिक्षाको सुधार तथा शिक्षा क्षेत्रको विकासका लागि एक वडा एक नमुना विद्यालय बनाएर अगाडि बढ्न थालेको उपमहानगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयमा घट्दै गएको विद्यार्थी सङ्ख्या बढाउन समेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहले आफ्नो पालिकामा शिक्षा क्षेत्रको सुधार तथा विकासका लागि एक वडा एक नमुना विद्यालय अगाडि बढाइएकोे घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौैडेलले बताए । माध्यमिक विद्यालयसम्मको सञ्चालन तथा व्यवस्थापनको अधिकार स्थानीय तहलाई छ ।

नमुना विद्यालयबाट अन्य विद्यालयले सिकेर अगाडि बढ्न सहयोग पुग्ने उनले बताए । नमुना विद्यालयबाट नजिकै रहेको विद्यालयमा शिक्षा सुधारका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । नमुना विद्यालयमा कक्षा १ भन्दा पहिले ३ वटा कक्षा सञ्चालन हुनेछन् । जसमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने छ । अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएमा बोर्डिङ स्कुलमा जाने विद्यार्थी सामुदायिक विद्यालयमा ल्याउन सहयोग पुग्नेछ’, उनले भने ।

Blog Post Ad

नमुना विद्यालयमा विद्यार्थी अनुसार शिक्षक दरबन्दी पूरा हुने, विद्यार्थीको बसाइँलाई व्यवस्थित बनाइने, स्वच्छ खानेपानी उपलब्ध गराइने, शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोग गरेर अध्ययापन गराइने, विद्यालयको भौतिक पूर्वाधार पर्याप्त मात्रमा नभएका विद्यालयको भौतिक विकासमा सहयोग गरिने भएको छ । नुमना विद्यालय हरेक हिसाबले नमुना बनाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ ।

घोराही उपमहानगरपालिकाको नगर कार्यपालिकाबाट एक वडा एक नमुना बनाउने निर्णय गरेको थियो । वडा कार्यालयबाट सिफारिस भएर आएका विद्यालयलाई शिक्षा समितिले सिफारिस गरेर नगर कार्यपालिकाबाट निर्णय गरिएको थियो ।

कार्यपालिकाले नमुना विद्यालयका लागि वडा नम्बर १ को आधारभूत विद्यालय सिमलतारा, वडा नं २ को गैरी बबई प्रावि निमुरिया, वडा नं ३ को आधारभूत विद्यालय सरयु भैँसकुर्मा, वडा नं ४ को आधारभूत विद्यालय सुनपुर, वडा नं ५ को महेन्द्र आधारभूत विद्यालय दलजितपुर, वडा नं ६ को जनकल्याण प्रावि लखुवार, वडा नं ७ को रात्री प्रावि शुक्रवार, वडा नं ८ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रा, वडा नं ९ को प्रावि मकुनडाँडा, वडा नं १० को नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अम्राईलाई छनोट गरेको छ ।

वडा नं ११ को प्रावि शिवपुर, वडा नं १२ को मावि रतनपुर, वडा नं १३ को बराह क्षेत्र मावि सेवार वनगाउँ, वडा नं १४ को बालविकास मावि, वडा नं १५ को सरस्वती मावि काठेकोहल, वडा नं १६ को प्रावि सानीअम्बापुर, वडा नं १७ को प्रावि भैँसाही, वडा नं १८ को अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारी, वडा नं १९ को भगवती मावि होडवाङलाई नमुना विद्यालय बनाउने निर्णय गरेको हो ।

सङ्घीय सरकार तथा प्रदेश सरकारले समेत नमुना विद्यालय छनोट गरेर काम गरिरहेका छन् तर जुन लक्ष्य र उद्देश्यले छनोट गरिएको हो त्यस अनुसार कार्यान्वयन हुन सकिरहेको भने छैन । उपमहानगरपालिकाले शिक्षाको सुधारका लागि विद्यालयमा पुगेर विद्यालयको अवस्थाको बारेमा जानकारी लिने काम समेत गरेको छ ।

Blog Post Ad Blog Post Ad