Ad Area

सहमतिमा नेतृत्व चयन गर्न पूर्व अध्यक्षहरुको प्रयास : जोशी प्यानल प्रचारमा, पोख्रेल प्यानल विरोधमा


घोराही, ४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न परेको उम्मेवादीको विषयलाई लिएर भईरहेको समस्या समाधान गर्न पूर्व अध्यक्षहरुको आन्तरिक छलफल जारी छ ।

निर्वाचन समितिले गरेको पछिल्लो निर्णयको स्वागत गर्दै बसन्त जोशीको संयुक्त गठबन्धन प्यानल प्रचार प्रसारमा जुटेका बेला रामप्रसाद पोख्रेल नेतृत्वको साझा समावेशी संयुक्त व्यावसायिक प्यानलले भने निर्वाचन समितिको निर्णय विधि विधान विपरित भएको जनाउँदै असन्तुष्टि पोखेर कानूनी उपचार खोज्ने तयारी गरेका बेला संघका पूर्व अध्यक्षहरु हालको उत्पन्न समस्या समाधान गरी सहमतीय प्रणालीमा नेतृत्व टुंग्याउने प्रयासमा जुटेका छन् ।

कुल २० पदका लागि दुई प्यानलबाट ४० जनाको उम्मेदवारी परेकोमा ३२ जनाको उम्मेदवारीको वैधताबारे दावी विरोधका क्रममा प्रश्न उठाईएको छ । दुवै प्यानलबाट दावी विरोध परेकोमा ३ सदस्यीय निर्वाचन समितिले छानबीनका लागि समय माग गर्दै मंगलबार साँझ दावी विरोध पुग्न नसकी सबैको उम्मेदवारी कायम गरिएको जानकारी गराईएको थियो ।

निर्वाचन संयोजक निर्मल गौतम र सदस्य अच्युतराज न्यौपानेले मात्रै हस्ताक्षर गरेको सूचना आएपछि जोशी प्यानलले उक्त निर्णयको स्वागत गरेको छ भने पोख्रेल प्यानलले उक्त निर्णय गलत कदमलाई प्रोत्साहन दिँदै विधि विधान विपरितको काम भएको भन्दै कानूनी उपचारको बाटो खोज्न बाध्य हुने चेतावनी दिएको छ । व्यवसायीहरुको साझा संस्थाको गरिमाका बारेमा प्रश्न उठ्न थालेपछि संघका पूर्व अध्यक्षहरुले देखा परेको समस्याका बारेमा चासो लिँदै आन्तरिक रुपमा छलफल तीव्र पारेका छन् । समस्या समाधान गरी सहमति मै नेतृत्व चयन गर्ने वातावरण बनाउन आज दिउँसो उनीहरुको बैठक पनि बसेको छ ।

नयाँ नेतृत्व चयनका लागि असोज १३ गते निर्वाचनको मिति तोकिएको छ । यसअघि ६ गते उद्योग वाणिज्य संघको साधारण सभा राखिएको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको बारेमा सबै जानकारी लिने र उपयुक्त भए नभएको बारेमा पनि ठोस निर्णय गरेर सकेसम्म सहमति नै नेतृत्व टुंग्याउने पक्षमा आफुहरु रहेको संघका निवर्तमान अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो । नेतृत्व चयन प्रकृयाका लागि स्वस्थ निर्वाचनमा होमिने बेलामा भएको आन्तरिक समस्याको सकेसम्म गाँठो फुकाएर नयाँ ढंगबाट अघि बढ्ने गरी दाङ जिल्ला उद्योग वाणिज्य संघको पूर्व अध्यक्षहरुको समुह गम्भीर रुपमा लागि परेको उहाँको भनाई छ ।

पूर्व अध्यक्षहरुसँगको छलफलमा सहभागी गराई सहमति जुटाउन जोशी प्यानलबाट वर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीलाई, पोख्रेल प्यानलबाट निवर्तमान अध्यक्ष भुसाललाई अघि सारिएको बुझिएको छ । उक्त कार्यदलले गरेको निर्णय स्वीकार्य हुने गरी नयाँ ढंगबाट अघि बढ्न लागिएको बताईएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघ यस क्षेत्रकै प्रतिष्ठित व्यावसायिक संस्था हो । यस संस्थामा करिव साढे पाँच हजार संख्यामा व्यवसायीहरु सदस्य बनेका छन् । जसमध्ये निर्वाचनमा मतदानको अधिकार पाउने सदस्य संख्या ३ हजार ३ सय ५८ रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

Blog Post Ad

दुई प्यानलको आआफ्नै कसरत दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि हुने भनिएको निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन समितिको पछिल्लो कदमलाई एउटा समुहले स्वागत गरेर अघि बढेको छ । अर्को समुहले विधि विधान विपरितको कदम भन्दै असन्तुष्टि पोखेर कानूनी बाटो रोज्ने तयारी गरेको छ । बुधबार दुवै प्यानले बेग्लाबेग्लै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । रामप्रसाद पोख्रेल नेतृत्वको साझा समावेशी संयुक्त व्यावसायिक प्यानलले निर्वाचन कार्यक्रम अन्तरगत दावी विरोध गर्ने क्रममा २०८० असोज २ गते साँझ साढे ६ बजे संस्थाको विधान विपरीत किर्ते रसिद प्रयोग गरेर उमेदवारी दिएका केही उमेदवारहरुको उमेदवारी समेत कायम गरिएको प्रति असन्तुष्टि बनेको छ ।

उमेदवारी उपर दावी विरोधको समय भाद्र ३१ गते साँझ ५ बजेसम्म रहेकोमा निर्वाचन समितिले ३२ जना उमेदवार माथि दावी विरोध परेपछि यसबारेमा अध्ययन गर्न भन्दै असोज २ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको तर दुई दिनपछि निर्वाचन समितिले हचुवाको भरमा किर्ते रसीद प्रयोग गरिएको विषयमा कुनै पनि छानबिन नगरेर उमेदवारी सदर गर्न खोजेपछि निर्वाचन समितिमा रहनु भएका मणिराज आचार्यले निर्वाचन समितिले उठाएको उमेदवारी सदर सम्बन्धि टिप्पणीमा नोटअफ डिसेन्ट लेख्नु भएको र नोमिनेसन सदर सम्बन्धि निर्वाचन समितिले सार्वजनिक सूचनामा निर्वाचन समिति संयोजक निर्मल गौतम र सदस्य अच्यूतराज न्यौपानेले हस्ताक्षर गरेर बहुमतको आडमा किर्ते रसिद प्रयोग गरिएको विषयलाई प्रोत्साहन दिएर विधि विधान धज्जी उडाएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।

संस्थाको गरिमा माथि नै आँच पुर्याउने गरी गरिएको कार्यलाई निरुत्साहित पार्ने ठाउँमा संस्थालाई नयाँ कार्य समिति प्रदान गर्न गहन जिम्मेवारी प्राप्त गर्नु भएका निर्वाचन समितिमा बस्नु भएका दिग्गज व्यक्तिहरु नै प्रभावमा परी गलत कार्यलाई प्रोत्साहन गर्नु दुखद भएको साझा समावेशी संयुक्त व्यावसायिक प्यानलको भनाई छ ।

यसप्रकारको कार्यप्रति घोर आपत्ती प्रकट गर्दै संस्थालाई बदनाम बनाउन गरिएको कुकार्यको बिरोध स्वरुप विधि र विधान मिचेर कुकार्य गर्नेहरु विरुद्ध आफुहरु कानूनी उपचारका लागि अगाडी बढ्ने पत्रकार सम्मेलनमा नेपाल उद्योग तथा व्यवसायी महासंघ दाङका गोपालप्रसाद खनालले जानकारी दिनुभयो । उता, संयुक्त गठबन्धन प्यानलले भने दाङ उद्योग वाणिज्य संघको निर्वाचनका लागि निर्वाचन समितिले गरेको निर्णय स्वागत योग्य भएको जनाएको छ । निर्वाचन समितिको पछिल्लो निर्णयको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण उद्योग व्यवसायीलाई आग्रह समेत गरेको छ । सो समुहले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचनका पक्षमा लाग्न व्यवसायीलाई आग्रह गरेको हो ।

निर्वाचनका क्रममा उम्मेदवारमाथि परेको उजुरी उपरको निर्णय गर्ने अधिकार निर्वाचन समितिलाई भएको र निर्वाचन समितिले गरेको निर्णय स्वागत योग्य भएको प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीले व्यावसायिक हकहितसँगै उद्योग बाणिज्य संघको गरिमालाई बचाई राख्न संयुक्त गठबन्धन बनाएर निर्माणमा लागेको बताउनुभयो । समग्र दाङको विकाससँगै उद्योग व्यवसायीहरुको हकहितका लागि भूमिका खेल्ने दाङ उद्योग वाणिज्य संघको निर्वाचनको तयारीमा जुट्न नेपाल उद्योग व्यापार संगठन संयोजक नारदमणि पोख्रेलले अपिल गर्नुभयो ।

Blog Post Ad Blog Post Ad