Ad Area

युवाहरुमा पनि देखिन थाल्यो हृदयघात, दाङमा छैन उपचार


घोराही । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया उमा चौधरीलाई गत वर्षको साउनमा छाती दुख्ने समस्या भयो । अत्यधिक छाती दुखाइसँगै चिटचिट पसिना आउन थालेपछि उमालाई एम्बुलेन्समार्फत तत्काल अस्पताल लगियोे । परीक्षणका क्रममा हृदयघात भएको पत्ता लागेपछि प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि जिल्ला बाहिर जान सुझाव दिए ।

उहाँ बुटवलको अस्पतालमा ७ दिनको उपचारपछि डिस्चार्ज हुनुभयो । हाल उहाँ नियमित चिकित्सकको सम्पर्कमा रहेर थप औषधि सेवन गर्दै आउनुभएको छ । उमाको उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डाक्टरका अनुसार उहाँलाई मायोकार्डियल इन्फेक्सन (हृदयघात) भएको हो  । उहाँमा हृदयघात अर्थात् कुनै किसिमका कोरोनरी जोखिमका कारण थिएनन् । धमनीमा बोसो जमेर रगत प्रवाहमा आउने समस्याका कारण हुने हृदयघात नभई एक्कासि धमनी च्यातिएर हृदयघात भएको रिपोर्टमा आएको उमाको भनाई छ ।

गएको जेठमा घोराही १६ मा बस्दै आउनु भएका २८ वर्षीय उमेश थापालाई पनि मुटुको समस्या भयो । प्रारम्भिक उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्नुभएका उमेशले सामान्य मेडिसिन सेवासँगै थप उपचारका लागि जिल्ला बाहिर जान सुझाव पाएपछि काठमाडौँ पुग्नुभयो । उहाँमा अत्यधिक छाती दुखाइको लक्षण देखिएको थियो ।

काठमाडौँको सहिद गंगालाल अस्पताल उपचार गराउन पुग्नुभएका उहाँमा हृदयघात भएको पत्ता लागेपछि दुई हप्ता अस्पताल भर्ना हुनु भयो । छाती दुखेर अस्पताल पुग्नुभएका उहाँमा हृदयघातको कुनै पनि लक्षण देखिएको थिएन । स्वास्थ्य परिक्षण गर्दा मात्रै हृदयघात भएको पत्ता लागेको हो ।

लमही ५ मा बस्दै आउनुभएका ३६ वर्षका सुवास चौधरीलाई ८ महिना अघि राती सुत्ने बेलामा हल्का छाती दुख्यो । स्वास्थ्यमा समस्या आएको महसुस भएपछि उहाँ उपचारका लागि जिल्लामा धाउनुभन्दा सिधै काठमाडौ जानु भयो । मुटु जँचाउन उहाँ सहिद गंगालाल अस्पताल बाँसबारी जानुभयो । चिकित्सकले हृदयघातको लक्षण भएको हुँदा सिधै आकस्मिक कक्षमा राखेर उपचार शुरु गर्नुभयो । समयमै उपचारका लागि पुगेको हुँदा उहाँसम्भावित हृदयघातको जोखिमबाट बच्न सफल भएको चिकित्सकले बताएको उहाँको भनाई छ ।

पछिल्लो समय मुटुसम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या पनि बढ्दै गएको छ । कलिलै उमेरका व्यक्ति पनि अहिले हृदयघातको जोखिममा पर्ने गरेका छन् । मुटु रोगको उपचार हुने नेपालको एक मात्र शहीद गंगालाल हृदय रोग उपचार केन्द्रमा उपचार गर्न पुग्ने बिरामीको संख्या हेर्ने हो भने पनि पछिल्लो समय मुटु रोगका बिरामी बढ्दै गएको
अस्पतालको भनाई छ ।

Blog Post Ad

सामान्यतया मोटोपन, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, व्यायामको कमीजस्ता कारणले मुटुको धमनीमा शतप्रतिशत अवरोध भएर हृदयघात हुने गरेको छ । अकस्मात् हुने यस्तो किसिमको हृदयघातको जोखिम युवाको संख्या बढ्दै गएको देखिएको छ । उसो त, युवा महिलामा गर्भावस्था, औषधिको अत्यधिक प्रयोग, बान्ता, तीव्र भावनात्मक तनाव, माइग्रेन, टाउको दुखाई आदि कारणले एससिएडी हुने गरेको चिकित्सकहरू बताउँछन् ।

नेपालमा एससिएडीबारे पर्याप्त जानकारी नहुँदा यसको जोखिम बढ्दै गएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रमेश कँडेल बताउनुहुन्छ । ‘यो असामान्य हृदयघातको प्रकृति होइन । धमनी पूर्णतया अवरुद्ध भएर हुने हृदयाघत र धमनीको इन्टिमा च्यातिएर हुने हृदयघात गरी दुई किसिमको हुने गर्छ’ उहाँले भन्नुभयो ‘अकस्मात् धमनीको इन्टिमा च्यातिएर हुने हृदयघातलाई एससिएडी भनिन्छ, जुन ५० वर्षभन्दा मुनि उमेरका युवाहरुमा बढ्दै गइरहेको छ ।’

दैनिक मुटु सम्बन्धी समस्या लिएर अस्पतालमा पुग्ने बिरामीको संख्या बढ्दै गएको राप्ती स्वास्थ्य विज्ञान प्रंतिष्ठानको भनाई छ । यद्यपि, जिल्लामा रहेका अस्पतालहरुमा मुटु सम्बन्धी समस्याको उपचार हुने गरेको छैन । सामन्य मेडिसिन सेवा बाहेक विशेषज्ञसहितको सेवा उपलब्ध नहुँदा बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । यसले बिरामीको उपचारमा जोखिम थपेको छ भने खर्च पनि बढेको छ ।

नेपालमा पछिल्लो समय सरुवा रोग भन्दा नसर्ने रोगका बिरामीको संख्या बढ्दो क्रममा रहेको छ । अहिले नेपालमा कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मानिस मुटुको समस्या भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको संख्या तीन गुणा बढेको छ । बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको संख्या बढेको चिकित्सकहरु बताउछन् । अहिले १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको चिकित्सकहरुको भनाई छ ।

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिएको छ । आज शुक्रबार विश्व मुटु दिवसको नारा मुटुको प्रयोग, मुटु बारे जानकारी रहेको छ । वर्षेनी मुटु दिवस मनाउने गरिए पनि यसको जोखिम बढ्दै गएको छ ।

नेपालमा १८ वर्षमाथिका ३५ प्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्ट्रोेलको समस्या छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कुल जनसंख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित छन् । यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा रहेका छन् ।

नेपालमा वर्षेनी ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको बताईन्छ । यो रोगको लागी सरकारले १ लाख रुपैंया दिने भएपनि यसको उपचार महंगो रहेको छ । कतिपय दुर्गम ठाँउमा यो रोगको पहिचान हुन बाट नै कतिपय मानिसहरु बन्चीत भएको अवस्था छ । सरकारले १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धलाई निःशुल्क मुटुको शल्यक्रिया तथा उपचार गर्ने गरेको जनाएको छ ।

बदलिँदो जीवनशैली र खानपान पछिल्लो समय मुटु रोग बढ्दै जानुको मुख्य कारण हो । धुम्रपान, मद्यपान, कोलेस्ट्रोल, ब्लड प्रेसर बढ्नुलगायत पनि यसका कारक हुन् । थाइराइड, सुगर, बढ्दो मोटोपन पनि मुटु रोग बढ्दै जानुका कारण रहेको छ । यस्तै, पहिलेको तुलनामा मानिसहरूमा मुटु रोग बढ्ने कारण स्वास्थ्य सचेतना पनि रहेको चिकित्सककाे भनाई छ ।

नेपालमा मुटु रोगबाट पीडित मानिस कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ५० लाखको हाराहारीमा रहेको अनुमान छ । मुटुको मात्र उपचार गर्ने छुट्टै अस्पतालहरूको समेत कमी हुँदा बिरामीको चाप बढ्दै गएको छ ।

मुटु रोग पनि विभिन्न कारणले लाग्ने गर्छ । पछिल्लो समय देखिने धेरै मुटु रोग भने जीवनशैलीमा आधारित मुटु रोग रहेको चिकित्सकहरू बताउँछन् । यसले गर्दा पछिल्लो समय मानिसहरू युवा अवस्थामा नै मुटु रोगको शिकार बनेका छन् । यसका साथै मानिसलाई जन्मजात मुटु रोग पनि हुन सक्छ । जन्मजात मुटु रोग लागेको पनि हुन सक्ने चिकित्सक बताउँछन् ।

गर्भाधारण गरेको तीन महिनाभित्र आमालाई रुबेला नामक दादुरा जस्तै प्रकृति भएको रोग लागेमा मानिस मुटु रोग भएर जन्मिने गरेको चिकित्सक बताउँछन् । यस्तै, बाथ मुटु रोग पनि हुने गरेको छ । यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका मानिसहरूलाई पछि गएर युवा अवस्थामा देखिने मुटु रोग रहेको चिकित्सक बताउँछन् ।

तीनदेखि १५ वर्षका बालबालिकामा लगातार घाँटी दुख्ने, लामो समयसम्म टन्सिल हुने, बच्चामा लगातार घाँटी दुखेर ज्वरो आउनुका साथै हातखुट्टाका जोर्नीहरू दुख्ने र सुन्निने भएमा पछि गएर मुटुको भल्भ खराब हुने उनीहरुको भनाई छ ।

दाङमा कति मुटुका बिरामी छन् भन्ने यकिन तथ्यांक भने छैन । स्वास्थ्य कार्यालय दाङले पालिकाहरुमार्फत तथ्यांक संकलनको काम गर्ने गरेको बताएपनि मुटु सम्बन्धी बिरामीको संख्या जिल्लामा यकिन हुन नसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बरबहादुर कुँवरको भनाई छ । पालिकाहरुको वार्षिक स्वास्थ्य समिक्षा भर्खर गरिएको जनाउँदै उहाँले नसर्ने रोगहरुको विषयगत प्रतिवेदन तयार पार्ने काम गर्ने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad