Ad Area

फैलिन थाल्यो ड्रागन फलको खेती : वार्षिक २५ लाखसम्म कमाउछन् कृषक


 

घोराही । केही वर्षअघिसम्म ड्रागन फ्रयुट धेरैका लागि नयाँ प्रजातीको फल थियो । एकआध बाहेक जिल्लामा ड्रागन फलको व्यवासयिक खेती सुरु भएको थिएन ।

अहिले भने दाङमा ड्रागन फलको व्यवसायीक खेती विस्तारमात्र भएको छैन, किसानले यसबाट राम्रै आम्दानी समेत लिइरहेका छन् ।

जिल्लामा नयाँ प्रजातीको ड्रागन फलको स्वाद चखाई रहेका त्यस्तै कृषक मध्ये हुन्, घोराही उपमहानगरपालिका–१८ को अकबरेका बिक्रम बुढा ।

पाँच वर्षयता उनले दुई विगाह जमिनमा व्यवसायिक ड्रागन फलको खेत गर्दै आएका छन् । ५० लाख लागतमा ६ जनाको समुहले दंगाली ड्रागन फुट फर्म दर्ता गरेर सञ्चालन गरेका थिए । अहिले त्यही फर्मबाट उनले बर्षमा २० देखि २५ लाखसम्म आम्दानी गर्दै आएको बताउँछन् ।

‘दुई विगाह जमिन १३ सय बढी विरुवाहरु छन् । प्रतिविरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुन्छ’ उनले भने, ‘त्यो भनेको २० देखि ३० लाखसम्म आम्दानी हुन जान्छ ।’  उनका अनुसार पहिले ड्रागन फलको खेती कमै हुन्थ्यो । अहिले भने जिल्लामा धेरै ठाउँमा ड्रागन फलको व्यवसायिक खेती बढ्दो छ ।  यही कारण ड्रागन फलको मुल्य पनि ८५० बाट घटेर प्रतिकिलोमा ३ सय ५० सम्म झरेको उनले सुनाए ।

उनले अन्य फलखेती भन्दा ड्रागन खेती सजिलो र आम्दानी पनि राम्रो हुने बताउँछन् । ‘एकै पटक रोपेपछि लामो समयम्म आम्दानी लिन सकिन्छ’ उनले भने, ‘तरकारी, पशुपालनमा मेहनत अनुसारको आम्दानी छैन, तर ड्रागन फलको खेतीमा त्यो समस्या छैन ।’ उनले बजार पनि नजिकै भएकाले उत्पादनपछि बजारको समस्या पनि रहेको सुनाए ।

 

जिल्लामा धेरै किसानहरु ड्रागन फलको व्यवसायिक खेती बढेको छ । जिल्लामा करिव २० देखि ३० विगाहसम्म जमिनमा व्यवसायीक रुपमा ड्रागन फलको खेती हुने गरेको यकिङ तथ्याङक कृषि ज्ञान केन्द्रको छ । सिचाईका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसानहरु पछिल्लो समय ड्रागन फल खेतीमा लाग्ने गरेको ज्ञान केन्द्रले जनाउँछ । जिल्लामा सवैभन्दा पहिले पूर्व मन्त्री लोकेन्द विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा खेतीको सुरुवात गरेका थिए ।