Ad Area

दाङबाट एक वर्षमा सवा अर्बको तरकारी निकासी


घोराही, १९ असोज । दाङमा उत्पादन गरिएका झण्डै सवा अर्ब बराबरको ताजा तरकारी, फलफूल, मह, धान, मकै तथा तरकारीको बिउ जिल्ला बाहिर निकासी भएको छ । आर्थिक वर्ष २०७९–०८० मा दाङबाट एक अर्ब ११ करोड ५६ लाख ९८ हजारको ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बिउ जिल्ला बाहिर निकासी भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

तरकारी खेतीमा पाँच सय ७५ जना व्यावसायिक कृषकद्वारा उत्पादित ताजा तरकारी २०७९ साउनदेखि २०८० असार मसान्तसम्म ९० करोड ८८ लाख ५० हजार बराबरको ३० हजार दुई सय ९५ मेट्रिक टन जिल्ला बाहिर गएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार, जिल्लामा उत्पादन भएको तरकारी बुटवल, महेन्द्रनगर, सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौंलगायतका ठाउँमा तरकारी निकासी हुने गरेको छ ।

जिल्लामा १० जना व्यावसायिक कृषकबाट उत्पादित आँप तथा ड्रागन फ्रुट २ करोड ८५ लाख बराबरको २ सय ५० मेट्रिक टन जिल्ला बाहिर निकासी भएको पनि ज्ञान केन्द्रले तथ्यांकमा समावेश गरेको छ । चारजना व्यावसायिक कृषक तथा सीड कम्पनीबाट उत्पादित धानको हर्दिनाथ हाइब्रिड सात दशमलव पाँच मेट्रिक टन र ६२ दशमलव दुई मेट्रिक टन चैते ५ धानको बिउ जिल्ला बाहिर गएको उहाँले बताउनुभयो ।

केन्द्रले दिएको जानकारी अनुसार ५४ लाख ८८ हजार बराबरको बिउ जिल्ला बाहिर गएको मध्ये ६२ दशमलव दुई मेट्रिक टन नासिक सीड कम्पनीले भारत निकासी गरेको छ । गोर्खा सिड कम्पनीले सिर्जना, सम्झना, झरना र सरिता जातको जिरो दशमलव एक सय ३९ मेट्रिक टन उत्पादन गरी ९७ लाख ३० हजार बराबरको जिल्ला बाहिर निकासी गरेको छ ।

गोर्खा सिड कम्पनी तथा कृषकहरूले रामपुर १० हाइब्रिड जातको मकैको बिउ २६ मेट्रिक टन उत्पादन गरी ९८ लाख ८० हजार बराबरको जिल्ला बाहिर निकासी गरेका छन् भने कृषकहरूले उत्पादन गरेको तीन सय ९० मेट्रिक टन मह १५ करोड ६० लाख बराबरको जिल्ला बाहिर निकासी भएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो ।

कृषि क्षेत्रको अनुगमन, नियमन गर्दै आएको ज्ञान केन्द्रले जिल्लामा केही बालीको उत्पादन भने बढेको जनाएको छ । मकै, आलु, तरकारी बाली, आँप, केरा, मह उत्पादन अघिल्ला वर्षमा भन्दा बढेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

Blog Post Ad

जिल्लामा गत वर्ष वर्षा कम हुँदा वर्षे मकै राम्रो भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष भन्दा मकै पाँच दशमलव आठ प्रतिशतले बढी फलेको बताउनुभयो ।

अघिल्लो वर्ष २३ हजार ५ सय हेक्टर क्षेत्रफलमा ७३ हजार २ सय मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष २३ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा ७७ हजार ४ सय ४६ मेट्रिक टन मकै उत्पादन भएको छ । मौसम अनुकूल र क्षेत्रफलमा बृद्धि हुँदा गत वर्ष १ दशमलव ६ प्रतिशतले आलु उत्पादन पनि बढेको छ । २ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा अघिल्लो वर्ष ३३ हजार ९ सय ८२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष २ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा ३४ हजार ५ सय १७ मेट्रिक टन आलु उत्पादन भएको तथ्यांक छ ।

क्षेत्रफलमा बृद्धि र तरकारीको लागि मौसम अनुकूल हुँदा आलु उत्पादन ९ दशमलव ४ प्रतिशतले बढेको छ । ६ हजार ५ सय २३ हेक्टर क्षेत्रफलमा अघिल्लो वर्ष ८८ हजार २ सय ३९ मेट्रिक टन उत्पादन भएको आलु यस वर्ष ६ हजार ६ सय ६९ दशमलव ७० हेक्टर क्षेत्रफलमा ९६ हजार ५ सय २ दशमलव ५ मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्षको केरा प्रवद्र्धनलगायतका कार्यक्रमको प्रभावले केरा लगाएको क्षेत्रफल बृद्धि हुँदा उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा ६३ प्रतिशतले केरा उत्पादन बढी भएको छ । २ सय ६० हेक्टर क्षेत्रफलमा २ हजार ७ सय ८२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ४ सय १० हेक्टर क्षेत्रफलमा ४ हजार ५ सय ३४ मेट्रिक टन केरा उत्पादन भएको छ ।

ज्ञान केन्द्रले ब्लक विकास कार्यक्रमको प्रभाव एवम् मौरीपालन गर्ने कृषक बढ्दा ५७ दशमलव ९ प्रतिशतले मह उत्पादन बढेको जनाएको छ । अघिल्लो वर्ष १६ हजार ४ सय ८४ हेक्टर क्षेत्रफल मौरी जोनमा ३ सय १३ दशमलव १ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष २० हजार ६ सय हेक्टर क्षेत्रफलमा ४ सय ९४ दशमलव ४ मेट्रिक टन मह उत्पादन भएको छ । यस वर्ष कोदो उत्पादन भने अघिल्लो वर्षकै हाराहारीमा भएको छ । यस वर्ष पनि १६ हेक्टर क्षेत्रफलमा २१ मेट्रिक टन कोदो उत्पादन भएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो ।

अरु क्षेत्रमा उत्पादन राम्रो भएको मानिए पनि जिल्लामा अघिल्लो वर्र्ष धान, गहुँ, तेलहन, दलहन, कागतीलगायतको उत्पादन घटेको सरकारी तथ्यांकले देखाएको छ । प्रतिकूल मौसमको असर बालीमा पर्दा मुख्य बालीमा असर देखिएको छ भने मकै, आलु, तरकारी बाली, आँप, केरा, मह उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ एवं सूचना अधिकारी लामिछानेले मुख्य बालीको उत्पादन घटेको जानकारी दिनुभयो । अहिलेसम्मको खेतीको अवस्था ठिकै रहेको बताउँदै उहाँले धान, मकै र तरकारी खेती मौसम अनुकूल बनेको बताउनुभएको छ । यस वर्ष दलहन तेलहन लगाउनै बाँकी छ । अब हिउँदा शुरु हुन लागेकाले दाङमा दलहन तेलहन बाली लगाउने तयारी भएको छ । तर, हिउँदे बर्खाका कारण मकै भित्र्याएका कृषकले बारी जोतेर मौसमको पर्खाईमा रहेका छन् ।

गत वर्षको प्रतिकूल मौसमको असर बढी उत्पादनमा परेको देखिएको छ । जिल्लामा धान, गहुँ, तेलहन, दलहन, कागतीलगायतको उत्पादन घटेको सरकारी रेकर्डले देखाएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष ११ प्रतिशतले धानको उत्पादनमा कमी आएको पनि उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७८–०७९ मा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार तीन सय ६० मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७९–०८० मा ३७ हजार छ सय ३५ हेक्टर क्षेत्रफलमा एक लाख ५४ हजार दुई सय ८४ मेट्रिक टन धान उत्पादन भएको थियो । धान रोपाइँको समयमा वर्षा नहुनुको साथै कम क्षेत्रफलमा रोपाइँ भएकोले धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नरेश धितालले जानकारी दिनुभयो । यो वर्षको धान भित्र्याउन अझै बाँकी छ ।

हिउँदे वर्षा नहुँदा गहुँ उत्पादनमा ९ दशमलव दुई प्रतिशतले ह्रास आएको छ । २०७८–०७९ मा १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा ४३ हजार एक सय ९० मेट्रिक टन उत्पादन भएकोमा २०७९–०८० मा १२ हजार दुई सय ३५ हेक्टर क्षेत्रफलमा ३९ हजार दुई सय १५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

Blog Post Ad Blog Post Ad