Ad Area

ट्राफिक सप्ताह : एकै पटक ३५ सय विद्यार्थीलाई प्रशिक्षण


घोराही, १९ असोज । आम नागरिकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने र अनिवार्य पालना गर्न लगाउने उदेश्यले दाङमा सुरुभएको ट्राफिक सप्ताहको दोस्रो दिन ३५ सय बढी विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजना तथा गोर्खा मावि र अम्बिकेश्वरी क्याम्पसको सहकार्यमा सुरुभएको सप्ताहमा अभियानमा दोस्रो दिन विहिबार ३५ सय विद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराईएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक किरणप्रकाश मल्लका अनुसार विद्यालय शिक्षाबाट ट्राफिक नियमको बारेमा जानकारी गराए प्रभावकारी ढंगले सन्देश फैलिने र दुर्घटनामा कमि आउने छ । जिल्लाका १४ वटा ठूला र सडक छेउमा रहेका विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक नियम पालना गर्दा हुने फाईदा र उल्लंघन गर्दा हुने क्षतिका बारेमा प्रशिक्षीत गरिएको प्रहरी निरीक्षक मल्लको भनाई छ ।

विद्यार्थीहरुलाई सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्नु पर्ने, तिव्र गति जिवनको क्षति हुने भएकाले विस्तारै सवारीका साधन चलाउने, सधै ट्राफिक नियमको पालना गर्नुपर्ने, हतार गरी सवारी साधन कहिल्यै नचलाउने र हतारमा सडक पार नगर्ने, सडकमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाउने, सवारी चलाउँदा मोबाईल फोनको प्रयोग नगर्ने, आफुभन्दा अगाडीको सवारी साधनसँग व्रेकिङ डिस्टेन्स कायम गरेर मात्र सवारी साधन चलाउने, सवारी चालकले सीट बेल्टको अनिवार्य प्रयोग गर्ने, दाँया बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गर्ने, सुरक्षित स्थानमा र दाहिने तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसाल्ने कुराहरु विद्यार्थीहरुलाई जानकारी गराईएको छ ।

बिच सडकमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुराउने, मोटरसाईकल चालकले अनिवार्य रूपमा कान छोपिने हेल्मेट प्रयोग गरी फिता समेत बाँध्ने, आफु खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्त गर्न नहुने, सवारी साधनको छतमा बसेर यात्रा नगर्ने, घुम्ति तथा रोकीराखेको ठूलो सवारी साधनको अगाडी वा पछाडिबाट बाटो नकाट्ने जस्ता कुराहरु विद्यार्थीहरुलाई सिकाईएको र उनिहरुलाई यो सन्देश सबै ठाउँमा फैलाउन भनिएको मल्लले बताए ।

साथै प्रहरीले सवारी साधन दुर्घटना विभिन्न कारणले हुने गरेको भन्दै मानविय लापर्वाहीलाई रोक्न स्वय अनुशासित हुनुपर्ने बताएको छ । चालक र यात्रु नै बढी जिम्मेवार हुनुपर्ने भएकाले क्षति भैसकेपछि पछुताउनुको अर्थ नहुने प्रहरीको भनाई छ । ट्राफिक प्रहरीलाई छलेर नियमको पालना नगर्ने बानीलाई कतिपयले गर्व गर्ने देखिएको भन्दै प्रहरीले क्षति भए पिडा प्रहरीलाई नभई स्वयलाई हुने भएकाले गल्ती गर्नुलाई गर्व नगर्न प्रहरीले अपिल गरेको छ ।

साथै प्रहरीले सडकको अबस्था पनि नाजुक हुदा दुर्घटना हुने गरेको भन्दै सरोकारवाला कार्यालयहरुलाई सडक सुधारमा समेत ध्यान दिन आग्रह गरेको छ । अहिले जिल्लामा २० स्थानमा ट्राफिक प्रहरीले नियमित जाँच गर्दैआएको छ । सप्ताहको तेस्रो दिन शुक्रबार सचेतना सम्बन्धी पर्चा र स्टीकरहरु गाडीमा टाँस्ने र नागरिकहरुलाई वितरण गर्ने कार्यक्रम रहेको बरिष्ठ हवल्दार टेकबहादुर कुसारीले जानकारी दिएका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad