Ad Area

नेपाली कांग्रेस अब नयाँ ढंगले अघि बढ्छ : सहमहामन्त्री परियार


घोराही, २८ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले मुलुकमा विभिन्न खालका चुनौतिको सामना गर्न नवीन ढंगबाट अघि बढ्नुपर्ने बेला आएको बताउनुभएको छ ।

नेपाल कांग्रेस दाङले आईतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका सहमहामन्त्री परियार जनताले दिएको मतको सही उपयोग गर्न पार्टीले अहिले देखा परेका निराशा र असहज परिस्थितीलाई चिरेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने बेला आएको बताउनुभयो । ‘कांग्रेसले पाएको मतलाई लिएर सबैतिर खुशी छाएको थियो । आशा जागेका थिए । स्थानीय तहमा ३ सय २९ ठाउँमा कांग्रेसले नेतृत्व पाएको छ । प्रदेशमा पनि पाँच स्थानमा नेतृत्व गर्ने मौका पाएको छ, संघ सरकारमा माओवादीलाई सघाएर सरकारमा छ तर किन अपेक्षा अनुसार काम भएन भनेर जनताले प्रश्न गरिरहेका छन्’ सहमहामन्त्री परियारले भन्नुभयो ‘देशमा अहिलेको सरकारले काम गर्न सकेन भनेर सबै ठाउँबाट प्रश्न उठेका बेला हामीले जवाफ दिने ठाउँ छैन । यसमा हामीबाट भएको कमजोरी सच्याउन जरुरी छ । सरकारको नेतृवका बारेमा छलफल जरुरी छ ।’


उहाँले माओवादी नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्नुको साटो निराशा र अनिश्चयको वातावरण मात्रै बनाएको हुँदा अब नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्ने बेला आएको जिकिर गर्नुभयो । गठबन्धनको नाममा सरकारमा सहभागी भएर नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरुबाट पनि अपेक्षा अनुसार काम हुन नसकेकाले अब नयाँ विचारका साथ अहिलेको असहज परिस्थितीमा कांग्रेसले काम गर्न नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, अहिलेको सरकारले गरेको कामबाट आम नागरिक खुशी छैनन्, उद्योगी व्यवसायी, नागरिक समाज कोही खुशी हुन सकेको छैन, सुशासनको नारा लगाएर, भ्रष्टाचार नियन्त्रणको आवाज उठाएर एकपक्षीय रुपमा पूर्वाग्रही ढंगले छानीछानी कांग्रेसका नेता कार्यकर्तालाई त्रसित बनाउने, पक्राउ गर्ने काम भईरहेको छ, यो राम्रो काम होईन । यसले सरकारको काम कारवाही पनि शंका र प्रश्न गर्ने अवस्था सिर्जना भएको छ ।’

यसैगरी, उहाँले देशमा संघीयता आवश्यक छ की छैन भन्ने बारेमा बहस आवश्यक नरहेको तर्क गर्नुभएको छ । कम्युनिष्ट मुलुकमा संघीयता नरहेको स्मरण गराउँदै नेपालमा संघीयताको अभ्यास थालनी भएको छोटो समयमा संघीयताको बारेमा पश्न उठी रहेका बेला लोकतान्त्रिक पार्टीका लागि संघीयताको बहस जरुरी नरहेको तर्क गर्नुभएको हो । संघीयताले देशको विकास र सुशासनमा टेवा पुग्ने भएपनि नेता र नेतृत्वका कारण अहिले संघीयताको बारेमा पश्न उठेका बेला नेपाली कांग्रेसले यसको भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेलले अहिलेको व्यवस्था कुनै पनि हालतमा नजाने स्पष्ट पार्नुभयो । संरचनामा समस्या भन्दा पनि पात्रको भुमिकामा समस्या हुन सक्ने भएकाले नेतृत्वका बारेमा छलफल जरुरी रहेको जिकिर गर्नुभयो । नेपालको भूराजनीतिक अस्तित्व जोगाउन नेतृत्वले सुझबुझ रुपमा काम गर्न जरुरी रहेको हुँदा त्यसमा समस्या आएकाले अहिलेको सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । देशको अर्थतन्त्रका बारेमा कुरा गर्दै उहाँले देशमा वास्तवमै आर्थिक संकट निम्तिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालको बाह्य अर्थतन्त्र भन्दा भित्री अर्थतन्त्र कमजोर बनेको छ । देश अहिले ६२ अर्ब आन्तरिक घाटामा चलेको छ । ऋण तिर्न पनि ऋण लिनुपर्ने अवस्था आएको छ । यसमा नेपाली कांग्रेसले अर्थतन्त्र सबल बनाउन विशेष भुमिका खेल्नुपर्छ, यो पाराले देशको अर्थतन्त्र सुधारमा आउन चुनौति छ ।’

राजनीतिक प्रसंगमा उहाँले पदमा रहेका काम गरिसकेका र पदमा बसेकाहरुबीच दुरी बढेको हुँदा पार्टी नेतृत्वले समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । ‘पार्टीले सुशासनको पक्षमा गम्भीरतापूर्वक काम गर्न जरुरी छ । नभए आउने चुनावमा पार्टीलाई ठूलो धक्का दिन सक्ने खतरा छ, यसमा समिक्षा आवश्यक छ’ उहाँले भन्नुभयो ।

Blog Post Ad

सो अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री एवम् प्रदेश उपसभापति राजु खनालले विगतका कमजोरी सच्याएर अघि बढ्न सकेमा कांग्रेस भित्रको समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो । पार्टीको सबै तहको नेतृत्वमा समस्या भएको हुँदा पाएको जिम्मेवारी सही ढंगले समाधान भई आफ्नै बलबुतामा जनताको नेतृत्व गर्ने पार्टी बन्न सक्ने उहाँले दावी पनि गर्नुभयो । पार्टीको विचार, आदर्श र तय गरेका नीति सिद्धान्त जीवित रहने र जनताको विश्वास भरोसा बलियो हुने भएकाले अहिलेको आगामी दिनमा सबै तहमा इमान्दारिता देखाउन जरुरी रहेको बताउनुभयो ।

यद्यपि, उहाँले केन्द्रीय पार्टी सभापतिको बचाउ गर्दै कोशी प्रदेशमा शेखर कोईराला समुहले गरेको काम पार्टी सभापति कमजोर बनाउने खेल भएको तर्क गर्नुभएको छ । उहाँले भन्नुभयो ‘पछिल्लो समय पार्टीका केही नेताबाट सभापति कमजोर बनाउने काम भईरहेको छ । यसले राम्रो हुँदैन । सभापति बनाएर पार्टी चल्दैन । विधान संशोधन गरेर पार्टी सभापतिको अधिकार बलियो बनाउने गरि लाग्नुपर्छ ।’

प्रदेश सहमहामन्त्री खगराज पाण्डेले अहिले हरेक कुरामा अन्योल थपिएको हुँदा नेतृत्व गम्भीर हुनुपर्ने बेला आएको बताउनुभयो । नेतृत्वले स्पष्ट विचारका साथ पार्टीको नीतिलाई जनतामाझ पुर्याउन, प्रदेश सरकारमा देखा परेको समस्याको गाँठो फुकाउन अपिल गर्नुभयो । जिल्ला पूर्व सभापति वीरकेशरी गौतमले भातृ संगठनको अधिवेशन कहिले हुने बारे प्रश्न गर्नुभयो । उहाँले प्रजातान्त्रिक विचार बोकेको पार्टीले लामो समय चुनाव गराउन नसक्नु बिडम्बना रहेको बताउनुभयो ।

चुनावमा अरुको सहारा लिएर चुनाव लड्ने परिपाटी त्याग्न, ३२ सीटलाई काँधमा बोकेर गए कांग्रेस सकिने र नयाँ पुस्तामा बढेको निरासालाई आशामा बदल्न सबै पक्ष जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकार, संसद र पार्टीभित्रको राजनीतिलाई पार्टीले स्पष्ट पार्न जरुरी रहेको औँल्याउनुभयो । जिल्ला सभापति शंकर डाँगीको अध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला उपसभापति गिरीराज सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad