Ad Area

घोराहीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु


दाङ,१ कार्तिक । दाङको घोराहीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । घोराही तेक्वान्दो डोजाङको आयोजनामा ‘प्रथम दाङ जिल्लास्तरीय ध्वजबहादुर केसी स्मृति आमन्त्रित तेक्वान्दो प्रतियोगिता–२०८०’ घोराहीको लिटिल एन्जल स्कुलमा सुरु भएको हो ।

घोराही तेक्वान्दो डोजाङका प्रमुख बिरुभाई बज्राचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष भरतमणि अर्यालको विशिष्ट आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटनसत्रमा बोल्ने बक्ताहरुले स्वास्थ्यसँगै आत्मसुरक्षाका लागि तेक्वान्दो खेल हरेक व्यक्तिका लागि अत्यन्त आवश्यक रहेको बताएका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख नरुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान निर्माणसँगै खेलाडी उत्पादनका लागि उपमहानगरपालिकाले सहयोग गरिरहेको बताएका थिए । जिल्लामै पहिलो पटक पालिकाअन्तर्गत खेलकुद विकास समिति गठन गरेर हरेक खेलकुदको विकासका लागि बजेट बिनियोजन गरेर काम अघि बढाएको बताएका थिए ।

प्रतियोगिताको उद्घाटनसत्रमा लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगर, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, लिटिल एन्जल बोर्डिङ स्कुलका प्रिन्सीपल यादव गिरी, घोराही उपमहानगरपालिका नगर खेलकुद समितिका संयोजक नरेन्द्र पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्तिकको १ र २ गते चल्ने प्रतियोगितामा जिल्लाका दुई दर्जन बढी डोजाङका डेढ सय बढी खेलाडीहरुको सहभागीता रहेको छ ।

प्रतियोगितामा खेलाडीहरुले २३ केजी , २५ केजी, २८ केजी, ३१ केजी, ३५ केजी, ३९ केजी र ४२ केजी मुनि तौल समूहमा महिला र पुरुष खेलाडीहरुले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको निर्णायकमा रेफ्रि जगबहादुर नेपालीको नेतृत्वमा १५ जना रहेका छन् । जिल्लामा तेक्वान्दो खेलको अवस्थासँगै प्रतियोगिताका बारेमा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारीले जानकारी गराएका थिए ।

प्रतियोगितामा दाङ जिल्ला तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष तिलक झाक्रीमगर, जिल्ला सदस्य प्रकृति पुनलगायतको सहभागीता रहेको थियो । प्रतियोगिताको सञ्चालक जिल्ला खेलकुद विकास समिति दाङका तेक्वान्दो प्रशिक्षक राकेश परियारले गरेका थिए ।
,