Ad Area

घोराही–तुलसीपुर चारलेन सडक,मर्मतको म्याद सकियो,पुरा भएन काम


घोराही,२ कार्तिक । दाङको घोराही–तुलसीपुर चारलेन सडक मर्मतको काम पुरा नहुँदै म्याद सकिएको छ । चारलेन सडक निर्माणका क्रममा लामो समयसम्म अलपत्र परेपछि २०८० असोज मसान्तसम्म सडक मर्मत गरि सक्नेगरी गएको असार महिना १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सडक मर्मतका लागि सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता अनुसार सडक मर्मतको काम सकिनुपर्ने भएपनि अहिलेसम्म करिव ६० प्रतिशत मात्रै काम सकिएको छ । घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि घोराही र तुलसीपुरदेखि बिजौरीसम्म केही सडक मर्मतको काम भएपनि घोराहीदेखि–बिजौरीसम्मको सडक मर्मत हुन नसकेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश बिकले जानकारी दिनुभएको छ । उहाँका अनुसार सडक मर्मतको करिव ६० प्रतिशत काम भएपनि बाँकी काम हुन नसकेको बताउनुभयो । इन्जिनियर विकले भन्नुभयो,‘असोजको मसान्तभित्र सडक मर्मतको काम सक्नेगरी सम्झौता भएको थियो तर निर्माण व्यवसायीको ढिलाई र पानी पर्दा सम्झौता अवधिमा करिव ६० प्रतिशत मात्रै काम भएको छ ।’ उहाँका अनुसार सडक मर्मतको काम भइरहेपनि ढिलाई भएको बताउनुभयो ।

चारलेन सडक निर्माणको ठेक्का तोडिएपछि पुरानै सडकलाई मर्मत गर्नका लागि सडकलाई दुई खण्डमा विभाजन गरेर कार्यालयले ठेक्का सम्झौता गरिएको थियो । जसअनुसार घोराहीको कुइरेपानीदेखि गुर्जेखोलासम्म रोल्पा निर्माण सेवा प्रालिसँग र गुर्जेखोलादेखि तुलसीपुरसम्मको सडक मर्मतका लागि रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो ।
रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिले घोराही–तुलसीपुर सडकखण्डको गुर्जेखोलादेखि तुलसीपुरसम्म एक करोड १६ लाखमा मर्मतको ठेक्का र रोल्पा निर्माण सेवा प्रालिले कुइरेपानीदेखि घोराहीको गुर्जेखोलासम्मको सडक एक करोड ४२ लाख रुपैयाँमा मर्मतका लागि ठेक्का सम्झौता गरेका थिए ।

चारपटक म्याद थपेर पनि काम नगरी भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि सम्पर्कविहीन बनेपछि भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीले ठेक्का तोडेर मर्मतका लागि सडक डिभिजन कार्यालयलाई जिम्मेवारी सारेको थियो । ठेकेदार कम्पनीसँग ०७९ चैत २६ गते ठेक्का तोडिएको र ठेक्का तोडिएपछि बिग्रेको सडक मर्मत गरेर काम चलाउ बनाउन सडक डिभिजनले साढे तीन करोड रुपैयाँ विनियोजन गरेको थियो ।

मर्मत ठेक्कामा शुरुको कुइरेपानीदेखि गुर्जेखोलासम्मको १३ दशमलव २३ किलोमिटर सडकमा सिस्नेखोला, कटुवाखोला र कटुवाखोलादेखि डिके पेट्रोल पम्पसम्मको एप्रोच बाहेकको सडकमा मर्मत गर्ने र गुर्जेखोलादेखि तुलसीपुरसम्म १७ दशमलव तीन किलोमिटर सडकमा पत्रेखोला पुलको एप्रोचबाहेकको सडक मर्मत हुने गरी ठेक्का सम्झौता भएको थियो तर सडक मर्मत नहुँदा चाडपर्वको समयमा स्थानीयले दुःख पाउने अवस्था आएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad