Ad Area

सुनसान सुपथ मूल्यको पसल


दाङ, ३ कार्तिक । चाडपर्वका अवसरमा सञ्चालन भएको सुपथ मूल्यको पसलमा भिडभाड हुनु पर्ने भए पनि यो वर्ष सुनसान जस्तै छ । सरकारले दसैँ, तिहार र छठलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्यको पसलमा नून मात्रै हुँदा यो वर्ष सुपथ मूल्यको पसल सुनसान भएको हो ।
सरकारले चाडपर्वको समयमा जनताको सहजताका लागि यही असोजको २१ गतेदेखि सुपथ मूल्यको पसल सञ्चालन ल्याएको थियो । जस अनुसार घोराहीमा साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले नून र तुलसीपुरमा खाद्य व्यापार संस्थाले चामलका लागि सुपथ मूल्यको पसल सञ्चालन गरेको छ तर चाडपर्वको समयमा उपभोक्ताका लागि आवश्यक पर्ने चिनी नहुँदा साल्ट टे«डिङ् कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्यको पसल सुनसान हुने गरेको छ । सुपथ मूल्यको पसल सञ्चालन गरेको करिब १० दिनको अवसरमा ६ सय जनाले नून खरिद गरेको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार करिब ७२ बोरा नून बिक्री भएको बताए ।
विगतका वर्षमा नूनसँगै चिनीसमेत हुने भएकाले सुपथ मूल्यको पसलमा चाडपर्वको समयमा भिडभाड हुने गरे पनि यो वर्ष नून मात्रै भएकाले खासै उपभोक्ताको आकर्षण नदेखिएको बताए । ‘सुपथ मूल्यको पसलमा यो वर्ष नून मात्रै रहेको छ । चिनी भारतबाट आउन नसक्दा सुपथ मूल्यको पसलमा राख्न सकेका छैनौँ’, कार्यालय प्रमुख गुप्ताले भने, ‘जसले गर्दा उपभोक्तालाई समस्या भएको छ ।’ सुपथ मूल्यको पसलमा चाडपर्वका लागि आवश्यक पर्ने चिनी नहुँदा ग्राहकको खासै आकर्षण देखिन सकेको छैन । कार्यालय प्रमुख गुप्ताका अनुसार प्रतिकेजी नून १८ रुपैयाँमा बिक्री गर्दै आएको छ । बजारमा खुल्ला रूपमा २५ रुपैयाँमा नूनको प्याकेट बिक्री हुने गरे पनि साल्ट ट्रेडिङ ७ रुपैयाँ छुटमा दिने गरेको छ ।
यसैगरी तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सुपथ मूल्यको पसलमा बुधवारसम्म ३५ क्विन्टल मात्रै चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधवारसम्म ३५ क्विन्टल चामल बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका कार्यालय प्रमुख तिलक सुुनारले जानकारी दिएका छन् । कम्पनीले चामलमा प्रतिकेजी ७ रुपैयाँ छुट दिएको उनको भनाइ रहेको छ । कम्पनीले छुट दिएर चामल बिक्री गरे पनि नागरिक खरिद गर्न नआएको उनी बताउँछन् ।
 जिल्लाका अधिकांश नागरिकको आप्mनै घरमा चामल हुने भएकाले कम बिक्री हुने गरेको उनको भनाइ रहेको छ । ‘धेरैले किनेर नखाने भएकाले बिक्री कम हुने गरेको छ’, प्रमुख सुनारले भने, ‘उपभोक्तालाई सहजताका लागि पसल चलाए पनि जनताको आकर्षण भने छैन ।’ सरकारले दसैँ तिहारका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । त्यसै अनुसार जिल्लामा संस्थाले पसल सञ्चालनमा ल्याएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर दाङले दसैँका लागि खरिद गरेका ५ सय बढी खसी–बोका काठमाडौं पठाएको छ । कम्पनीले आइतवारदेखि गाउँ–गाउँमा पुगेर खरिद गरेका खसी–बोका काठमाडौं पठाएको कार्यालय प्रमुख सुनारले बताए । काठमाडौंबाट ७ सय खसी–बोकाको माग भए अनुसार कार्तिक २ गतेसम्म खरिद गरी माग अनुसारको खसी–बोका काठमाडौं पठाइरहेको कार्यालयले जनाएको छ । राजधानीमा दसैँका लागि मासुको अभाव हुन नदिन थप माग भई आएमा अरु पनि खसीबोका दाङबाट पठाउन सकिने कार्यालय प्रमुख सुनारले बताए ।
कार्यालयले २५ केजीभन्दा माथिका जिउँदो खसीको प्रतिकिलो ५ सय ६२ रुपैयाँ तोकेको छ । यस्तै २० देखि २५ केजीसम्मको खसी प्रतिकिलो ५ सय ४५ रुपैयाँ र १८ केजीभन्दा माथिको बोका प्रतिकेजी ५ सय ४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष दाङका किसानबाट दसैँका समयमा मात्रै एक करोड २० लाख मूल्यका खसी–बोका काठमाडौं पठाउँदै छ ।
Blog Post Ad Blog Post Ad