Ad Area

नेसंविको जग्गामा २२ अर्बको विदेशी लगानी भित्र्याउने तयारी


घोराही, ३ कार्तिक । नवीकरणीय सौर्य उर्जा उत्पादनका लागि भन्दै नेपाल संस्कृत विश्व विद्यालयको जग्गा उपभोग गर्न विदेशी लगानीकर्ता लगानी गर्न दाङ आएको छ । नेपाल संस्कृत विश्व विद्यालयको देउखुरीस्थित राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा रहेको जग्गामा सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यसहित परियोजना संचालन गर्न विदेशी लगानीकर्ता जिल्लामा आएको हो ।

नेपाल संस्कृत विश्वविद्यालय देउखुरी जग्गा सञ्चालक समितिले नयाँ परियोजना सम्वन्धमा बिहीबार घोराहीमा आयोजना गरेको वृहत छलफल कार्यक्रममा लामो समयदेखि विवादमा रहेको जग्गामा विदेशी लगानीसहितको परियोजना भित्रिन थालेपछि यस प्रति चासो बढेको छ । तत्कालीन सशस्त्र द्वन्द्वका बेलामा सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अहिले मोहीयानी हक भएका, गैर मोही किसान तथा केही राजनीतिक आडमा जग्गा अतिक्रमण गरी बसेकाहरुले जग्गाको भोगाधिकार गरेवापत कुनै प्रकारको शुल्क, उत्पादन विश्व विद्यालयलाई दिने गरेका छैनन् ।

हालको समस्यालाई समाधान गरी एकीकृत रुपमा जग्गा उपयोगमा ल्याउन नयाँ परियोजनालाई भित्र्याएर आम्दानीको श्रोत कायम गर्न विदेशी लगानीकर्तासँग सहकार्य गर्न जसका कारण विश्व विद्यालय अघि बढेको हो । २०५९ सालयता नेपाल संस्कृत विश्वविद्यालयले देउखुरीको राजपुर, लमही र गढवा क्षेत्रमा रहेको १३ सय ३६ विगाह जग्गाबाट आयस्ता पाउन सकेको छैन ।

उक्त जग्गामध्ये चार सय आठ विगाह जग्गामा मोही किसान रहेको नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका कुलसचिव माधव अधिकारीले जानकारी दिनुभयो । मोही किसानलाई चार सय आठ बिगाहा जग्गा दिएर बाँकी रहेको जग्गा विश्वविद्यालयले उपभोग गर्ने गरी फिर्ता ल्याउनका लागि पटक पटक प्रयास भएपनि सफल हुन नसकेपछि पछिल्लो समय एकीकृत रुपमा सबै जग्गा उपभोगमा ल्याउन विदेशी लगानीकर्तासँग सहकार्य गर्न कदम अघि बढाएको उहाँले बताउनुभयो ।

सन् २०१३÷१४ बाट नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको डोल्पा हिमालयन इनर्जी लिमिटेड पश्चिम क्षेत्रमा पनि आफ्ना लगानी बिस्तार गर्ने योजनाका साथ नेपाल संस्कृत विश्व विद्यालयको जग्गामा आँखा लगाएको छ । विवादमा रहेको जग्गा परियोजना संचालन गर्न दिन विश्व विद्यालय राजी छ । तर, कसरी दिँदा विवाद रहित होला भन्नेमा ठोस कदम चाल्न नसक्दा जिल्लास्थित सरोकारवालासँग सुझावसहित प्रतिवद्धता चाहेको छ ।

संस्कृत विश्वविद्यालयको जग्गामा सौर्य उर्जा उत्पादनका लागि बहुराष्ट्रिय कम्पनी डोल्मा हिमालयन इनर्जी लिमिटेड युकेले लगानी गर्न चासो देखाएको छ । कम्पनीले दाङसहित पश्चिम क्षेत्रलाई आधार बनाएर सोलार प्रणालीबाट सौर्य उर्जा गर्न करिव २२ अर्ब रुपैयाँ लगानी गर्न इच्छुक देखिएको डोल्मा हिमालयन इनर्जी लिमिटेड युकेका लगानी व्यवस्थापक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad

उक्त परियोजनाबाट २ सय ४५ डिसी क्षमतामा २० मेगावाट प्रति घण्टा उर्जा उत्पादन गरी सिधै ग्रीडमा जोड्ने योजनामा आफुहरु रहेको लगानी व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । यो परियोजना देशभर संचालन गर्दै सात सय ५० मेगावाट सौर्य उर्जा उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्रि गर्ने बताईएको छ ।

कम्पनीले उत्पादन गरेको उर्जा नेपाल विद्युत प्राविधिकरणले खरिद गर्ने प्रारम्भिक सहमति समेत भएको छ । जिल्लामा विदेशी लगानीसहितको परियोजना भित्र्याउन मन्त्री परिषदबाट निर्णय भई लगानी बोर्डले पनि कामको प्रकृया अघि बढाउन अनुमति प्रदान गरिसकेको परियोजनाका कानूनी विज्ञ चिरन्जीवी उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार देउखुरीको राजपुरमा प्रारम्भिक अध्ययन भएको र सौर्य उत्पादनका लागि सोलार रेडियसनको राम्रो सम्भावना देखिएको छ । डोल्पा हिमालयन इनर्जी लिमिटेडले नेपालमा अस्पताल, नवीकरणीय उर्जा, फर्मासिटिकल, लजिष्टिक क्षेत्रमा लगानी गर्दै आएको डोल्मा हिमालयन इनर्जी लिमिटेडका परियोजना व्यवस्थापक विवेक रञ्जनले जानकारी दिनुभयो । उहाँका अनुसार लगानी बोर्डबाट परियोजना सञ्चालनका लागि स्वीकृत भइसकेकाले स्थानीयस्तरमा कसरी अघि बढ्न सकिन्छ जनतासँग छलफल अघि बढाईएको बताईएको छ ।

परियोजना संचालन गर्न डोल्मा हिमालयन इनर्जी लिमिटेड युकेले नेपाल संस्कृत विश्व विद्यालयको करीव ८ सय बिगाहा जग्गा प्रयोग गर्ने गरी सहकार्य गर्न लागेको हो । तर, यति धेरै जग्गा विदेशी लगानीकर्तालाई कसरी उपभोग गर्न दिने भन्ने बारेमा नेपाल संस्कृत विश्व विद्यालय आफै अनिर्णित बनेको छ । स्थानीयले प्रयोग गर्दै आएको यति धेरै जग्गा विदेशी लगानीकर्तालाई दिन थालेपछि यस बारे धेरैले चासो लिएका छन् । स्थानीयको कब्जामा रहेको जग्गाको आयस्ता समेत लिन नसकेको बेलामा उक्त जग्गामा परियोजना भित्र्याउन लागेपछि यसको कदम बारे चासो बढेको हो ।

विश्व विद्यालयले आफु मातहतको जग्गालाई कसरी व्यवस्थापन गर्ने अधिकार भएपनि जग्गा उपभोग गर्दै आएका स्थानीयबासी, राजनीतिक दलहरुको आडमा बसेका केही बिचौलियाको प्रभावका कारण ठोस कदम चाल्न सकेको छैन । यो बेलामा विदेशी लगानीकर्ताले दाङमा सौर्य उर्जा उत्पादन गर्न यति धेरै जग्गा लिन खोजेपछि विश्व विद्यालयले स्थानीयबासी, स्थानीय सरकार, राजनीतिक दल, सरोकार निकायको धारणा बुझ्ने कोशिस गरेको छ । जस अनुसार, बिहीबार सबैलाई एकैथलोमा राखेर नयाँ परियोजना बारे जानकारी गराउँदै जग्गा उपभोगमा देखा परेको समस्याको गाँठो कसरी फुकाउन सकिन्छ भनेर राय सुझाव पनि लिएको छ ।

सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयको देउखुरीमा रहेको जग्गाको उचित व्यवस्थापनका लागि सवै पक्षको सहयोग आवश्यक रहेको सरोकारवाला निकायले बताएका छन् । छलफल कार्यक्रममा सहभागीले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा उपभोग गर्दै आएका किसानलाई उचित व्यवस्थापन गरेर बाँकी रहेको जग्गालाई विश्वविद्यालयको उपलव्धीका लागि लगाउनुपर्नेमा जोड दिएका छन् ।

विश्वविद्यालयको जग्गामा बसोवास गर्ने जनतालाई उचित व्यवस्थापनसँगै जग्गालाई नेपाल संस्कृत विश्वविद्यालयको समृद्धिका लागि लगाउन राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने हुँदा यसतर्फ सबै इमान्दार बन्न जरुरी रहेकोमा जोड दिएका छन् । बिहीबारको छलफलमा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, प्रतिनिधि सभा सदस्य मेनका पोख्रेल, राजपुर, घोराही, तुलसीपुरका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, विश्व विद्यालयलाई जग्गा दान दिएका जग्गादाताका परिवार, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।
उहाँहरुले अतिक्रमणको चपेटामा परेको विश्व विद्यालयको जग्गालाई व्यवस्थापन गर्न नयाँ परियोजनासँग सहकार्य गर्न खोज्नु सकारात्मक भएपनि परियोजनाले गर्न थालेको हरेक कामको बारेमा पनि स्थानीयबासीलाई यकिन गराउँदै विश्वासमा लिएर अघि बढ्न आग्रह गर्नुभएको छ । पछिलो समय नेसंविको जग्गामा विभिन्न खालका परियोजना संचालन गर्न लगानीकर्ताले आँखा लगाईरहेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका कुलसचिव अधिकारीले दिनुभएको जानकारी अनुसार, विदेशी कम्पनीहरुको नजर बढी परेको छ । लटीनाथ कृषि कम्पनी, एनआएनएको टोली, विद्युत उत्पादन कम्पनीलगायतले जग्गा खोज्दै सम्पर्कमा आएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad