Ad Area

रिगललाई आममाफी दिने निर्णय सर्वोच्चद्वारा बदर


घोराही, १६ कार्तिक । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

रिटमाथि सुनुवाइ गर्दै अदालतले आज कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो । सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बस्नु भएको थियो । दशैंका बेला स्थगित अनशन उहाँले फेरि सुरु गर्नुभएको थियो भने कार्तिक १३ गते अनशन स्थलमै उहाँ बेहोस समेत हुनुभएको थियो ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । त्यसमा अदालतबाट दोषी ठहर भएर उनले जन्मकैदको सजाय पाएका थिए । सरकारले कैद माफी दिएपछि उनी जिल्ला कारागार दाङबाट छुटेका थिए ।

Blog Post Ad Blog Post Ad