Ad Area

९ बुँदे दाङ घोषणा पत्र जारी गर्दै सकियो राष्ट्रिय ज्योतिष सम्मेलन


घोराही, १८ कार्तिक । नेपाल ज्योतिष परिषदको १८ औँ राष्ट्रिय ज्योतिष सम्मेलन तथा अध्यात्म सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ । दाङसहित देशभरका करीव ७ सय बढी ज्योतिष तथा अध्यात्म क्षेत्रका अगुवाहरुको घोराहीमा दुई दिन चलेको राष्ट्रिय सम्मेलनले सो घोषणा पत्र जारी गरेको हो ।

नेपाल ज्योतिष परिषदको घोषणा पत्रले आगामी पौष २४ गते २५औं रजत वर्ष भव्यताका साथ काठमाडौमा मनाउने तय गरेको छ । नेपाल ज्योतिष परिषद्को उत्कृष्ट डाइरेक्टरी हाते पुस्तिकाको रुपमा २०८१ को वैशाखमा विमोचन गर्ने, नेपाल ज्योतिष परिषदका केन्द्र, प्रदेश उपत्यका एवं जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको अन्य कुनै ज्योतिषीय संघ संस्थाहरुमा आवद्धता रहेको पाइएमा एक अर्को संस्थाबाट सहमति लिनु पर्ने, नेपाल ज्योतिष परिषदलाई नेपालको ज्योतिषीय संस्थाहरुको नियामक संस्थाको रुपमा विकसित गर्न नेपाल सरकारसँग जोडदार माग गर्ने घोषणा पत्रमा उल्लेख छ ।

यसैगरी, ज्योतिषीय आचार संहिताको सबै सदस्यहरुले पूर्णरुपमा पालना गर्ने, समान उद्देश्य, समान लक्ष्य र परिकल्पना भएका अर्थात एउटै प्रकृतिका नेपाल भित्र रहेका अन्य ज्योतिषीय संस्थाहरुसंग एकताको लागि आव्हान गर्ने, नेपाल पञ्चाङग निर्णायक विकास समितिमा संस्थागत प्रतिनिधित्व गराउन पहल गर्ने घोषणा पत्रमा समावेश गरिएको छ ।

नेपालमा दर्ता भएका नेपाल ज्योतिष परिषद्, विश्व ज्योतिष महासंघ र दक्षिण एशियाली ज्योतिष महासंघ गरी तीन वटै संस्थाहरु एकआपसमा परिपूरक भएकाले दक्षिण एशियाली ज्योतिष महासंघलाई दक्षिण एशियाका विभिन्न देशमा पुर्याउन र विश्व ज्योतिष महासंघलाई विश्वभरि फैलाउन नेपाल ज्योतिष परिषद्ले सशक्त रुपमा सहयोग गर्ने तथा दुवै महासंघले नेपाल ज्योतिष परिषदलाई बिशेष सहयोग गर्न आग्रह गर्ने उल्लेख गरिएको छ ।

यसैगरी, नेपालमा ज्योतिष सम्बन्धि व्यवसाय गर्नको लागि व्यवसायिक अनुमतिपत्र लिनुपर्ने र सो अनुमतिपत्र दिने अधिकार नेपाल ज्योतिष परिषद्लाई प्रदान गर्न नेपाल सरकार संग पहल गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

दाङ सम्मेलनको घोषणा पत्र तयारी समिति संयोजक उदयनारायण भट्टराई तथा सदस्यहरु लीलाराज शर्मा, प्राध्यापक डा. अर्जुनप्रसाद भट्टराई, ज्योतिष मेघराज आचार्य र कपिलदेव सुवेदीले घोषणा पत्र तयार पार्नु भएको थियो ।

सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले ज्योतिष बिज्ञानले तथ्य र प्रमाण पुष्टि गर्नुपर्ने बताउनुभयो । नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश अध्यक्ष ज्योतिष मेघराज आचार्यको अध्यक्षतामा भएको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मास्कीले ज्योतिषले भनेको कुरा तथ्यले पुष्टि गर्दै लैजान सकेमा समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

ज्योतिष शास्त्र गणितको उत्पतिको स्रोत भएको उल्लेख गर्दै ज्योतिषले भनेका कुरा प्रमाणित भए ज्योतिष शास्त्र प्रतिको विश्वसनियता पनि बढ्दै जाने उल्लेख गर्नुभयो । ज्योतिष शास्त्रले पूजापाठ भन्दा सत्य, तथ्य र प्रमाणित कारण खोजेर समस्या समाधानको बाटो तर्फ अघि बढ्नुपर्ने उहाँको सुझाव थियो ।

मानव जीवनमा हुन सक्ने घटनाको व्याख्या विश्लेषण ज्योतिष शास्त्रले गर्ने बताउँदै उहाँले सकारले ज्योतिष शास्त्रलाई मर्यादित बनाउन सक्दो पहल गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सबै धर्म, संस्कृतिको संरक्षण सरकारले गर्दै आएको भन्दै ज्योतिष शास्त्र र पूर्वीय दर्शनको अध्ययन दाङ भएको उल्लेख गर्दै नेपाल संस्कृति विश्वविद्यालयलाई अध्ययनको केन्द्र बनाउन सबैको पहल आवश्यक रहेको बताउनुभयो ।

दुई दिनसम्म चलेको राष्ट्रिय सम्मेलनमा ज्योतिष वास्तु तथा कर्मकाण्ड पेशालाई मर्यादित र व्यवस्थित गराउनुका साथै जनमानसमा यी विधाहरुको प्रचारप्रसार गर्न र ज्योतिष विज्ञानको अध्ययन अध्यापन, प्रशिक्षण, गरामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधाका बारेमा कार्यपत्रसहित यसका बारेमो वृहत छलफल गरिएको थियो ।

सम्मेलनमा उदघाटन समारोहमा परिषदका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पञ्चाङ्गकार डा. लोकराज पौडेल, धार्मिक अभियन्ता डा. चिन्तामणि योगी लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा उपप्राध्यापक कपिलदेव सुवेदीले वैदिक वास्तु विषयक, ई. लक्ष्मीप्रसाद सोतीले वास्तुमा पञ्चतत्वको अवस्था र महत्वविषयक, प्राध्यापक डा अर्जुन प्रसाद भट्टराईले ज्योतिषमा विद्या र सन्तान विचार विषयक, प्रा. प्रेमकुमार आचार्यले संस्कारको महत्व र सोह्र संस्कारहरु विषयक कार्यपत्रसहित ज्योतिष विज्ञान र अध्यात्म विज्ञानका बारेमा प्रकाश पार्नुभएको थियो ।