समस्यै समस्यामा साजखुटी, सिमलताराबासी
घोराही, २० कार्तिक । संघीयता कार्यान्वयनमा आएपछि तीन तहका सरकारले जनताको पक्षमा धेरै काम गर्ने परिकल्पना गरिएको थियो । अन्तर सरकार बीचको काम कारबाही जनताको पक्षमा रहेको सरकार संचालकहरु बताउँछन् । जनताका लागि भनेरै वर्षेनी बजेट पनि विनियोजन हुने गरेको छ ।
तर दूरदराजका नागरिकका लागि ती बजेट अझै पनि अनुभूति हुने गरी कार्यान्वयनमा आउन नसकेको गुनासो नागरिक स्वयम् बताउँछन् । जसको गतिलो उदाहरण बनेको घोराही उपहानगरपालिका वडा नम्बर ३ र ५ को दुर्गम बस्ती साजखुटी, सिमलतारा र बसेरी खोलाबस्ती । राजनीतिक हिसाबले मुलुकमा ठूलो परिवर्तन आइसके पनि ग्रामीण क्षेत्रमा परिवर्तनको अझै आभाष हुनसकेको छैन । सर्वसाधारणले बर्षौदेखि जुन सास्ती खेप्नु परेको थियो त्यो जस्ताको तस्तै छ ।
बाटो घाटो, पुल पुलेसा, शिक्षा, स्वास्थ्य, संचारलगायत मानवीय र सामाजिक विकासमा अझै धेरै काम गर्न बाँकी देखिन्छ । गाउँदेखि सदरमुकाम जान वा अरु कुनै कामका लागि निस्कनु पर्यो भने फुर्सदका साथ निस्कनु पर्ने बाध्यता दूरदराजका नागरिकलाई हुने गरेको छ । आईतबार अपरान्ह पिठ्युमा गहु्रंगो भारी बोकेर मसोट खोला डर मान्दै तर्नुभयो । वर्खामा आएको बाढीले गोरेटो बाटो बिगारेपछि अझै खोला तर्न सहज छैन । घोराही उपमहानगरपालिका वडा नम्बर ३ साजखुटीकी देवीकुमारी बुढालाई घरका लागि चाहिने सामल बिसाउन बजार पुग्नुपर्छ । यसका लागि या त लमही या त घोराही जानुको विकल्प छैन ।
हिउँदमा खोला सुकेर आऊजाऊ गर्न केही सहज भएपनि बर्खा लाग्यो भने अर्जुन खोला उर्लेर आउँछ । यो बेलामा विद्यार्थी स्कुल जान पाउँदैनन् । बिरामी घरमै बस्नुपर्ने अवस्था आई लाग्छ, खानेकुरा जसो तसो जोहो गरेर चलाउनुपर्छ । अर्जुन खोलाको वर्षाको भेलले आउजाउ गर्न समेत असहज बनाएको खोला जसो तसो पार गर्नुभएकी देवीकुमारी घरका लागि रासन लिएर लमही बजारबाट आउँदै गर्दा उहाँले आफुहरु वर्षौदेखि अनेकन समस्याले जेलिएर बाँच्नु परेको दुखेसो सुनाउनुभयो । सरकारलाई कर तिरेपनि तिरेको करबाट आफुहरुले कुनै प्रकारको सेवा लिन नपाएको उहाँ गुनासो गर्नुहुन्छ ।
‘हाम्रो त जिन्दगी यसै गरी दुखकष्ट गरेर बित्न लाग्यो । सरकारले केही गरिदिए नानातिनाहरुलाई बस्न सजिलो हुन्थ्यो भनेको हो तर खै कहिले होला र ?’ उहाँले भन्नुभयो ‘हिउँदमा जसो तसो काम चल्छ तर बर्खा लाग्यो भने साह्रै बिजोग हुन्छ । दुख बिराम पर्दा के गर्ने भन्ने हुन्छ । न बाटो, न बिजुली बत्ती न संचार सबै कुराबाट वन्चित भएर बस्नु परेको छ ।’ घोराही ५ बसेरी खोलाकी बेलमति पुन पनि आफुहरु उपमहानगरबासी भएपनि कुनै दुर्गमको नागरिक सरह बाच्नु परेको दुखेसो सुनाउनुहुन्छ ।
स्थानीय उत्पादनले बाह्रै महिना नथेग्ने हुँदा गाउँदेखि टाढा रहेको घोराही बजार या लमही बजार जानुपर्ने बाध्यता उहाँलाई पनि छ । बिहानै झिस्मिसेमै बजारका लागि निस्केपछि साँझ अबेर घर फर्किनु पर्ने अवस्थाबाट बसेरी खोला बासी बस्नु परेको उहाँ बताउनुहुन्छ । यो ठाउँमा अहिले बिजुली पुगेको छ । तर, बाटो, सडक, सिंचाई, संचार सुविधा पुगेको छैन ।
‘रासनपानी लिन घोराही बजार या लमही पुग्नुपर्ने हामीहरुको बाध्यता हो, यहाँ गाईबस्तु, कुखुरा, बाख्रा पाल्नका लागि राम्रो ठाउँ छ भने बाउबाजेको पालादेखि बसियो अहिले सबै तिर सेवा सुविधा पुगेको देख्दा हामीले पनि सेवा सुविधा लिन पाए हुन्थ्यो भन्ने लाग्छ तर पूरा हुन सकेको छैन’, बेलमतिले भन्नुभयो ‘सबै कुराले हामी ठगिएका छौँ, भोट चल्छ तर हाम्रा लागि नेताका कुनै कुरा र काम चलेको छैन ।’ घोराही ३ सिमलताराकी केशरी घर्तीको गाउँमा संचार पुगेको छैन ।
कुनै समस्या पर्यो भने आफन्तसँग कुराकानी गर्न नजिकैको पहाड उक्निुपर्छ । गाउँको परिवेश निकै मनमोहक छ, यसो हेर्दा लाग्छ यो ठाउँमा सबै कुराको सेवा सुविधा पुगेको छ । तर, अवस्था बुझ्ने हो भने ती सबै कुरा पुग्न नसकेको देखिन्छ । वर्षौ अघिदेखि बस्ती बसेको यो ठाउँ लमही घोराही सडक खण्डको मसोट खोलाबाट पश्चिम तर्फ २ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ ।
जंगल नजिकैको बस्ती भएकाले जंगली जनावरको पनि उत्तिकै डर रहेको उहाँ बताउनुहुन्छ । जंगलको बीचमा रहेको बस्ती आफैमा हरेक रुपमा जोखिममा छ । अझ सुख्खा याममा वनमा लागेको डढेलो बस्तीमा पस्दा खरले छाएको छानो जोगाउनै कठिन हुने गरेको घोराही ३ सिमलताराकी सरीता बुढा बताउनुहुन्छ । सडक नहुँदा स्थानीयस्तरमा मौसमअनुसार उत्पादन भएका अमिलो, खुर्सानीे, बेसार, खसी बाख्रा, कुखुरा, तोरी, मकै र आलुले बजार पाउन सकेको छैन ।
तोरी, मकै, आलु कृषि उपज यही ठाउँमा राम्रो फल्छ, उब्जेको सबैआएर सकिँदैन, यसलाई लगेर बजारमा बेचौँ भनेपनि बाटोघाटोको समस्या छ, त्यसैले बजारसम्म लैजान दुःख छ’, बेलमति पुनले भन्नुभयो, ‘कुखुरा, खसीबाख्रा पालेर आम्दानी गर्न सकिन्छ तर जंगली जनावरको पनि उत्तिकै डर छ । बेला बेलामा जंगली जनावरमा खसीबाख्रा, कुखुरा खाईदिएर हैरान बनाएको छ ।’ राज्यले वास्ता नगर्दा दुर्गमका सर्वसाधारण समस्यै समस्यामा छन् ।
राज्यले गरिबी निवारणको कुरा गरे पनि ठोस योजना ल्याउन नसक्दा समस्या भएको स्थानीय बताउँछन् । सरकारी योजना मात्र होइन, वर्षौंदेखि कुनै सरकारी अधिकारी पनि गाउँमा पुग्न नसक्दा अहिले पनि ढुंगेयुगाको जीवन बाँच्नु परिरहेको स्थानीयबासीको दुखेसो छ । बसेरी खोला, सिमलतारा, साजकुटीलगायत गाउँमा एक सय पचास बढी घरपरिवार बस्दै आएका छन् ।
अर्जुन खोलाको किनारमा रहेको फाँटलाई खारेर पुस्तौदेखि बस्दै आएका स्थानीयबासीले नजिकैको जंगलमा गाईबस्तु चराउने र त्यसबाट उत्पादन लिने गरेका छन् भने बारीमा अन्नबाली फलाउने गरेका छन् । यसबाहेक अरु काम यहाँका नागरिकले गरेका छैनन् । चुरे क्षेत्रमा रहेका बस्ती आफैमा जोखिमयुक्त छन् । अव्यवस्थित बस्तीका कारण पनि राज्यको नजर सबै ठाउँमा पुग्न नसकेको बस्ती विकास क्षेत्रका जानकार बताउँछन् ।
स्थानीय पालिकाले जोखिममा रहेका, ग्रामीण क्षेत्रमा रहेका अव्यवस्थित बस्तीलाई एकीकृत रुपमा बसाल्ने खालको नीति ल्याउन सकेको अवस्थामा नागरिक पनि सुरक्षित हुने र गरिएको लगानी काम लाग्ने बलियो आधार देखिन्छ ।