Ad Area

चारलेन सडक मर्मतमा ढिलाई, समस्यामा नागरिक


घोराही, २२ कात्तिक । म्याद सकिएको २१ दिन वितिसक्दा पनि घोराही–तुलसीपुर चारलेन सडक मर्मतको काम पुरा हुन सकेको छैन । सडकमा परेका खाडल र धुलोका कारण सवारी साधन सञ्चालनसँगै धुलोका कारण जनताले दिनहु दुःख पाइरहेका छन् ।

करिव २७ किलोमिटर सडक मर्मतका लागि चार महिना वितिसक्दा पनि मर्मत हुन सकेको छैन् । चारलेन सडक निर्माणका क्रममा लामो समयसम्म अलपत्र परेपछि २०८० असोज मसान्तसम्म सडक मर्मत गरि सक्नेगरी गत असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सडक मर्मतका लागि सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार असोज महिनाभित्र सडक मर्मतको काम सकिनुपर्ने भएपनि अहिलेसम्म सडक मर्मतको काम नसकिएको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकले जानकारी दिनुभएको छ ।

करिव ८० प्रतिशत मर्मतको काम सकिएपनि अझै २० प्रतिशत काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार चारलेन सडकअन्तर्गत अन्य ठाउँहरुको काम सकिएपनि घोराही बजारदेखि सर्रासम्म र तुलसीपुरको बिजौरी क्षेत्रमा सडक मर्मतको काम अझै हुन सकेको छैन । समयमै काम गरेको भए अहिलेसम्म सकिनुपर्ने भएपनि निर्माण व्यवसायीको ढिलाई कारण काम हुन नसकेको उहाँले बताउनुभयो ।

इन्जिनियर विकले भन्नुभयोे,‘असोजको मसान्तभित्र सडक मर्मतको काम सक्नेगरी सम्झौता भएको थियो तर निर्माण व्यवसायीको ढिलाईका कारण समयमा मर्मत सकेको छैन ।’ उहाँका अनुसार निर्माण व्यवसायीले २३÷२४ गतेभित्र सडक मर्मतको काम सक्ने बताएपनि सकिने अवस्था छैन । इन्जिनियर विकले भन्नुभयोे,‘निर्माण व्यवसायीले इमान्दारिताका साथ काम गर्ने हो भने धेरै समय लाग्ने देखिदैन । त्यसका लागि इमान्दारिताका साथ काम गर्न आवश्यक छ ।’

चारलेन सडक निर्माणको ठेक्का तोडिएपछि पुरानै सडकलाई मर्मत गर्नका लागि सडकलाई दुई खण्डमा विभाजन गरेर कार्यालयले ठेक्का सम्झौता गरिएको थियो । जसअनुसार घोराहीको कुइरेपानीदेखि हापुरखोलासम्म रोल्पा निर्माण सेवा प्रालिसँग र हापुरखोलाखोलादेखि तुलसीपुरसम्मको सडक मर्मतका लागि रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो ।

रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिले घोराही–तुलसीपुर सडकखण्डको हापुरखोलादेखि तुलसीपुरसम्म एक करोड १६ लाखमा मर्मतको ठेक्का र रोल्पा निर्माण सेवा प्रालिले कुइरेपानीदेखि घोराहीको हापुरखोलासम्मको सडक एक करोड ४२ लाख रुपैयाँमा मर्मतका लागि ठेक्का सम्झौता गरेका थिए ।

Blog Post Ad

चारपटक म्याद थपेरपनि काम नगरी भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि सम्पर्कविहीन बनेपछि भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीले ठेक्का तोडेर मर्मतका लागि सडक डिभिजन कार्यालयलाई जिम्मेवारी सारेको थियो ।

ठेकेदार कम्पनीसँग ०७९ चैत २६ गते ठेक्का तोडिएको र ठेक्का तोडिएपछि बिग्रेको सडक मर्मत गरेर काम चलाउ बनाउन सडक डिभिजनले साढे तीन करोड रुपैयाँ विनियोजन गरेको थियो ।

Blog Post Ad Blog Post Ad