Ad Area

कला संस्कृति संरक्षणमा ध्यानदिनुपर्नेमा जोड


दाङ,४ मंसिर । नयाँ पुस्ताले तिहारमा देउसी भैलोसँगै आफ्नो मौलिक संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

रोल्पाली ढाङढुङ (कुरेली) समाज सेवा समिति दाङले सोमवार घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दहमा आयोजना गरेको वनभोज कार्यक्रमका सहभागीले तिहारमा देउसी भैलोसँगै आफ्नो कला संस्कृतिका रुपमा रहेको पैसेरु नाचको संरक्षणमा सवैले ध्यानदिनुपर्ने बताएका हुन ।

चाडपर्वमा रमाइलोका नाममा आफ्नो मौलिक कला संस्कृति विर्सने र भुल्ने काम भइरहेको भन्दै सहभागीले सवैका बिचमा भेटघाट, रमाइलोसँगै कला र संस्कृति संरक्षण र सामाजिक कार्यहरुमा ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलले भैलो खेलेर रमाइलोसँगै आफ्नो कला सस्कृतिको संरक्षण र सामाजिक कार्यमा योगदान पु¥याउँदै आएको बताए । सामुदायिक हितको कार्यमा सवैको साथ र सहयोग हुनुपर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष पोख्रेलले आगामी दिनहरुमा रोल्पाली ढाङढुङ (कुरेली) समाज सेवाको भवन निर्माणलगायतका कार्यमा वडाकातर्फबाट आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

रोल्पाली ढाङढुङ (कुरेली) समाज सेवा समितिका अध्यक्ष नारायणप्रसाद रोकाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष डुल्लुराम पोख्रेलको प्रमुख आतिथ्यता एवं समितिका सल्लाहकार एव नेपाल क्रिकेट संघका लुम्बिनी प्रदेश सचिव कैलाश रोकामगर र समितिका सल्लाहकार तथा नेपाल मगर संघ दाङका निवर्तमान अध्यक्ष खलुप्रसाद पुनमगरको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा समितिका सल्लाहकारहरु कुम्भ बुढामगर, कमला रोकामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै फरक–फरक समुदाय भएपनि आफ्नो ठाउँ, कला र संस्कृतिलाई कसैले भुल्न नहुने बताएका थिए । त्यसअवसरमा भैलोलाई पाँच हजारभन्दा बढी रुपैया प्रदान गर्नेलाई सम्मानपत्रसँगै माला र पाँच हजारभन्दा कम रकम प्रदान गर्नेलाई माला र टिकालगाएर सम्मान गरिएको थियो ।

Blog Post Ad

त्यसैगरी कार्यक्रममा समाजका बरिष्ठ सल्लाकार कैलाश रोकामगर, पत्रकार लीलाधर वली, समाजका जेष्ठ सदस्य कमारा बुढामगर र चटौली पुनमगरलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो । समाजका उपाध्यक्ष प्रेम बुढामगरको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव थुमबहादुर वलीले गरेका थिए । समाजले असोजको २६ गतेदेखि कार्तिकको २ गतेसम्म खेलेको भैलेबाट ६ लाख ११ हजार तीन सय ७५ रुपैया जम्मा गरेको थियो ।

भैलेको रकम भूकम्प पीडितलाई

यसैविच रोल्पाली ढाङढुङ (कुरेली) समाज सेवा समितिले भूकम्प प्रभावितलाई सहयोग गर्ने भएको छ । भैलेबाट संकलित रकममध्ये करिव २० हजार रुपैया जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परेर पीडित भएका परिवारलाई सहयोग गर्ने निर्णय भएको समितिका महासचिव थुमबहादुर वलीले जानकारी दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत रकम सहयोग गरिने बताए ।

बिरामीलाई सहयोग हस्तान्तरण

कार्यक्रममा जण्डिस रोगबाट पीडित रोल्पाली ढाङढुङ (कुरेली) समाज सेवाका सदस्य रितु बुढालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रोल्पा त्रिवेणी गाउँपालिका–७ दुम्ला निवासी हाल बैदेशिक रोजगारीका क्रममा साउदी अरवमा रहेका अर्जुन आग्रही,अर्घखाँची जिल्ला सितगंगा नगरपालिका–१२ कोठिया मैदान जोख्लेगैरा घरभै हाल बुद्धभुमी गाउँपालिका–१ कपिलवस्तु बस्ने दिपक नेपाली र अयबर बुढाको नेतृत्वमा संकलन भएको एक लाख दुई हजार दुई सय ८४ रुपैया रोल्पाली ढाङढुङ (कुरेली) समाज सेवाका अध्यक्ष नारायणप्रसाद रोका,टेकबहादुर बुढामगरलगायतले बिरामी रितु बुढा र उनका श्रीमान प्रेम बुढामगरलाई हस्तान्तरण गरेका थिए । श्रीमान दृष्टिविहिन भएको र श्रीमति बिरामी परेपछि उपचारमा समस्या भएको छ ।

Blog Post Ad Blog Post Ad