Ad Area

राष्ट्रिय कर दिवस : कर दातालाई कर शिक्षा


दाङ, ५ मंसिर । बाह्रौँ राष्ट्रिय कर दिवसको अवसरमा दाङमा करदातालाई कर शिक्षा प्रदान गरिएको छ । आन्तरिक राजस्व कार्यालय दाङको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा घोराहीमा कर शिक्षासम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
करदातालाई करसम्बन्धी जानकारी दिने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले जनाएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा पुगेर करदाता शिक्षा प्रदान गरिने आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाइँले जानकारी दिए । कर शिक्षासँगै जिल्लाका विभिन्न स्थानमा करदातासँग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिने उनले बताए ।
‘यसबाट उनीहरूलाई परेको समस्याबारे जानकारी लिएर समस्याको समाधान गर्न सहयोग पुग्ने छ’, उनले भने । छलफल तथा अन्तरक्रिया कार्यक्रमले कार्यालय र करदाताबिच बढेको दूरी कम गर्न समेत सहयोग पुग्ने प्रमुख कर अधिकृत चौलागाइँ बताउँछन् । ‘दुवै पक्षबिचको दूरी बढ्न नदिन समन्वय गरेर अगाडि बढ्न आवश्यक छ’, उनले भने । सकारात्मक काम गर्दा हुने कमजोरी सच्याउन कार्यालयले सहयोग गर्ने तर जानी–जानी गल्ती गर्नेलाई कारबाही गरिने समेत उनले बताए ।
कर देशको अर्थतन्त्रको मेरुदण्ड रहेको समेत उनले बताए । ‘करदाताबाट उठ्ने करले देशको आर्थिक, प्रशासनिक काम सञ्चालन हुने गरेको छ’, उनले भने । यसैगरी सरकारले परिवर्तन गरेका आर्थिकसम्बन्धी नीतिनियमबारे जानकारी गराइने उनले बताए । ‘करदाताका लागि सरकारले ल्याउने स्किमबारे समेत जानकारी दिँदा करदातालाई सहयोग पुग्ने गरेको छ’, उनले भने । आन्तरिक राजस्व कार्यालय दाङ अन्तर्गत करिब ७० हजार कर दाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा करदाता शिक्षा कार्यक्रम उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रमको आयोजना गरिने उनले बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले व्यवसायीलाई व्यवसाय गर्दा आउन सक्ने समस्या समाधानका लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए । ‘व्यवासीलाई शिक्षा प्रदान गर्न आन्तरिक राजस्व कार्यालयसँगको समन्वयमा कर शिक्षा कार्यक्रम आयोजना गरेका हौँ’, अध्यक्ष जोशीले भने । यसले व्यवसायीलाई सहयोग पुग्ने अपेक्षा आफूहरूको रहेको उनले बताए । आफूले सिकेको ज्ञान अरूलाई पनि दिन उनले आग्रह गरे ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खिमलाल पुनले करदाता दर्ता, खारेजी, स्थगन, दर्ता खारेजी स्थगनसम्बन्धी कानुनी व्यवस्था र सरकारले ल्याएका स्किमबारे जानकारी दिएका थिए । सरकारले हरेक वर्ष मंसिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाउने गरेको छ ।
दिवसको अवसरमा ७ दिन विभिन्न खालका कार्यक्रम आयोजना गर्ने गरिएको छ । समापनका दिन उत्कृष्ट करदातालाइ सम्मान समेत गर्ने गरिन्छ । कार्यक्रम उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष माधव खनालको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।
Blog Post Ad Blog Post Ad