Ad Area

जग्गा भाडामा लिएर व्यावसायिक स्ट्राबेरी खेती


दाङ, ६ मंसिर । दाङको घोराहीमा व्यावसायिक रूपमा स्ट्राबेरी खेती सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१४ झिँगौरामा करिब ९ कट्ठा बढी जग्गामा व्यावसायिक स्ट्राबेरी खेती गरिएको हो ।
रोल्पा र म्याग्दी जिल्ला निवासी दुई जना युवा मिलेर घोराही स्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्राबेरी खेती सुरु गरिएको सञ्चालक वीरेन्द्र खड्काले बताएका छन् । कृषिमा आइएस्सीएजी अध्ययन गरेका खड्काले आफ्नै ठाउँमा केही फरक खाले कृषि व्यवसाय गर्नु पर्छ भन्ने उद्देश्यले आठ लाख रुपैयाँ लगानी गरेर स्ट्राबेरीको व्यावसायिक खेती सुरु गरेको बताए ।
तीन वर्षअघि दाङ एग्रोमार्ट कृषि फर्म स्थापना गरेर खड्काले पछिल्लो समय पुष्प व्यवसायसँगै स्ट्राबेरी खेती सुरु गरेका हुन् । स्ट्राबेरी खेतीका लागि खड्कालाई म्याग्दी जिल्ला निवासी बेग पुनले सहयोग गरिरहेको बताए ।  सञ्चालक खड्काले भने, ‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने उद्देश्यले पाँच वर्ष अघि कृषि फर्म स्थापना गरेर पुष्प व्यवसाय गर्दै आएको थिएँ, एक जना साथी थपिएपछि अहिले दुई जना मिलेर घोराहीमा व्यावसायिक स्ट्राबेरी खेती पनि सुरु गरेका छौँ ।’
बिरुवा पनि राम्रोसँग हुर्किरहेको र फुल्न थालेको उनी बताउँछन् । भारतको हैदरावादबाट तराईको जमिनमा पनि उत्पादन लिन सकिने उन्नत जातको स्ट्राबेरी ल्याएर रोपेको सञ्चालक खड्का बताउँछन् । स्ट्राबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भने, ‘नयाँ ठाउँमा पहिलो पटक खेती गरिएको र बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा आठ लाख बढी खर्च भएको छ ।’
भदौको अन्तिमतिर रोपेका बिरुवाले मंसिरको अन्तिम तिरबाट उत्पादन दिने तयारीमा रहेको भन्दै सञ्चालक खड्काले भने, ‘रोपेका बिरुवा भर्खर फुल खेल्न थालेका छन्, यो महिनाको अन्तिम तिरबाट उत्पाादन दिने आशा छ ।’
 स्ट्राबेरीको उपयुक्त हावापानी र माटो भएकाले खेती गरेको भन्दै उनले जिल्लामा उत्पादन भएको स्ट्राबेरी घोराही, तुलसीपुरलगायतका बजारसँगै माग अनुसार जिल्ला बाहिर पठाइने बताए । परम्परागत कृषि व्यवसायलाई बदल्दै आधुनिक प्रविधिका माध्यमबाट नयाँ व्यवसाय गर्नु पर्छ भनेर जिल्लामा स्ट्राबेरीसँगै पुष्प व्यवसाय गर्दै आएको खड्काले पछिल्लो समय सहरका घरमा नमुना तरकारी खेती गर्ने प्लानिङ भइरहेको बताएका छन् ।
Blog Post Ad Blog Post Ad