Ad Area

२० लिटर दही बेच्न ५० किलो मिटरको यात्रा


घोराही, ७ मंसिर । दाङमा दुध र यसबाट उत्पादन हुने दहीमा आत्मनिर्भर हुँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ । परम्परागत रुपमा भैँसीपालन गर्दै आएकासँगै पछिल्लो समय उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो ।

दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने मानिसको संख्या पनि बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । पुख्र्यौली पेशाका रुपमा भैसीपालन गर्दै आएका दाङ देउखुरीका यादव समुदायले ठूलो परिमाणमा दुध उत्पादन गर्ने गरेका छन् ।

उत्पादित दुध जिल्लाका विभिन्न स्थानमा बिक्रिका लागि जाने गरेको छ । कोहीले दुधबाट दही बनाएर दैनिक रुपमा ग्राहक खोज्दै घरघरमा पुगेर दही बेच्ने काम गर्दै आएका छन् ।

व्यावसायिक रुपमा गाई भैँसीपालक किसानले दुध बिक्रि गर्ने गरेपनि परम्परागत रुपमा भैँसी पालन गर्दै आएका यादव समुदाय अहिले पनि दुधबाट दही बनाएर वर्षौदेखि आफुले बनाएका निश्चित ग्राहकको घरघरमा पुगेर दही, ध्यू बिक्रि गर्ने काम गर्दै आएका छन् ।

यो पेशा अंगाल्नेहरु बा पुस्ताका रहेका छन् । वर्षौदेखि दैनिक रुपमा गर्दै आएको कामले उनीहरुको आफ्नै बजार छ, आफ्नै ग्राहक छन् । हिउँदमा बाह्रै महिना दही, ध्यू बिक्रि गर्ने गरेका उनीहरुले ग्राहकको विश्वास आर्जन गरेका छन् ।

तर, यो काम चानचुने भने छैन । हरेक दिन दही बिक्रिका लागि उनीहरुको यात्रा आउजाउ गरेर सय किलोमिटरभन्दा बढी हुने गरेको छ । टाउकोमा बोकर ल्याएको दही सरदर ३० देखि ४० लिटर हुने गरेको छ ।

दुध, दही बेच्न सामान्यतया १०–२० किलोमिटर टाढा या यो भन्दा नि नजिकै बेच्न सकिन्छ । अझ दैनिक रुपमा दुध, दही बेच्ने कृषकहरु गाउँकै डेरी वा नजिकै बजारमा जाने गरेको पाइन्छ । तर, देउखुरी राजपुर क्षेत्रका यादव समुदाय नजिकैको बजारमा दही बेच्न समस्या भएपछि दैनिक करिब ५० किलोमिटर दुरी पार गरेर बेच्ने गरेका छन् ।
देउखरीको राप्ती नदी पारी राजपुर गाउँपालिका ३ खरदरिया निवासी लक्ष्मण यादव उमेरले ५५ वर्षको हुनुभयो । उहाँ सानै उमेरदेखि नै बाउबाजेले सिकाएको भैसीपालनलाई हालसम्म निरन्तरता दिँदै आउनुभएको छ । हरेक दिन बिहान ६ बजे दहीको भाँडा टाउकोमा बोकेर पचास किलोमिटर टाढा घोराही बजार आई पुग्ने गर्नुभएका लक्ष्मणका लागि घोराहीका हरेक टोल, कुना र बस्ती परिचित भईसकेका छन् । कुन ग्राहक आफ्ना हुन् । ती सबै उहाँलाई राम्रोसँग याद छ ।

‘म बिहान ६ बजे दही बोकेर घोराही आईपुग्दा ८ बजिसकेको हुन्छ । यहाँ आएर पहिले आफुले चिनेका घर, होटलहरुमा जान्छु, उहाँहरुले किन्नुहुन्छ’, लक्ष्मणले भन्नुभयो ‘आफुले ल्याएको दही सबै बिक्रि गरेर सक्दा १२–१ बज्छ । दही बेचेर घर पुग्दा ४–५ पनि बज्छ । यो मेरो दैनिकी हो ।’
लक्ष्मण जस्तै राजपुरको खरदरीया, बेला, फोहरालगायत ठाउँबाट यादव समुदाय दुध, दही, ध्यू बिक्रिका लागि देउखुरीको लमही, भालुवाङ पुग्छन् भने कोही घोराहीसम्म आउने गरेका छन् । सबैको आआफ्नै बजार छ । आआफ्नै ग्राहक छन् ।

लक्ष्मण यादवले घरमा ६ वटा भैसी पाल्नुभएको छ । सबै दुहुना छन् । परम्परागत रुपमा भैसी पालन गरेर जीविकोपार्जन गर्दै आउनुभएका लक्ष्मण जस्तै स्थानीय यादव समुदाय धेरैले यसै गरी यो पेशालाई निरन्तरता दिने काम गर्दै आएका छन् ।

जसले गर्दा बर्खाको भेला होस् या हिउँदको कठ्याङ्ग्रिने चिसो, हुरी बतास केहीले पनि उनीहरुको यो पेशालाई दख्खल गर्ने गरेको छैन । यही पेशाबाट उनीहरुलाई आत्म सन्तुष्टि मिलेको छ ।सोही ठाउँका अर्का हरिप्रसाद यादवको दैनिकी पनि घोराही–राजपुर गरेर बित्ने गर्छ ।

हरिप्रसाद दही बिक्री गर्न दैनिक घोराही बजार आउने गर्नुहुन्छ । ७ वटा भैँसी पाल्नु भएका हरिप्रसाद करिब ५० किलोमिटरको दुरी पार गरेर राजपुरबाट घोराहीसम्म आउनुहुन्छ अनि दही बिक्रि गरेर घर फर्किनुहुन्छ ।

वैशाख–जेठको गर्मी मौसम होस् वा कार्तिक–मंसिरको चीसो, हरिप्रसाद जस्तै थुप्रै यादव समुदाय निरन्तर बिहान टाउकोमा दहीको भाँडो राखेर लमही, भालुबाङ, घोराही आउने गरेका छन् ।

राजपुरबाट उज्यालो नहुँदै करिब ८ किलोमिटर हिँडेरै सडकमा आईपुग्छन् ।
पूर्व–पश्चिम राजमार्गको जहरे भन्ने ठाउँबाट उनीहरुको यात्रा लमही हुँदै घोराहीसम्म हुन्छ । यो उनीहरुको नित्य कर्म जस्तै हो ।

कहिले कसो घरको कामले घोराही आउन नभ्याउँदा देउखुरीको लमही बजारसम्म भए पनि आउने गरेको उनीहरु बताउँछन् । ‘दही बिक्रिका लागि दैनिक जसो घोराही आउने गरेको छु’, यादवले भन्नुभयो,‘गाउँघरमा बिक्री हुँदैन । डेरीवालाले मूल्य दिदैनन् । बजारमा हाम्रो आफ्नै ग्राहक छन् । एक दुई दिन दही लिएर न आउने हो भने फोन गर्नुहुन्छ । हामीले आफ्नै बजार बनाउन सफल भएका छौँ ।’

देउखुरीको बजार सानो भएको र गाउँमा प्रायः सवैका घरमा भैसी पाल्ने हुँदा दही बिक्री नहुने गरेको उनीहरु बताउँछन् । घोराहीमा उनीहरुले प्रति माना ५० रूपैयाँमा दही बेच्ने गरेका छन् । ‘हामीले नियमित रुपमा दही बिक्रि गर्ने ठाउँमा भाउ मिलाएर दिने गरेका छौँ । अरु फुटकरमा भने ६० रुपैयाँसम्ममा दही बिक्रि हुने गरेको छ’ लक्ष्मणले भन्नुभयो ‘गाउँबाट ल्याएको दही बजारमा बिक्री गर्न समस्या हुँदैन ।’

गाउँमा सबैका घरमा भैँसी हुन्छन्, त्यसैले दही बिक्री गर्न समस्या हुने गरेको छ । त्यसकारण स्थानीय बजारको भरपर्नु परेको उनीहरु बताउँछन् ।

राजपुरबाट दहीको भाँडो बोकेर हरेक दिन घोराही आउनु टाढाको बजार भएपनि यहाँ आएपछि दही बिक्री गर्न समस्या कहिले पनि भोग्न नपरेको उनीहरुको अनुभव छ ।

देउखुरी राजपुर क्षेत्रका धेरै स्थानीय घरमा उत्पादन भएको दही बिक्रीका लागि देउखुरीको गढवा, लमही र भालुवाङ बजारसँगै दाङ उपत्यकामा रहेका घोराही र तुलसीपुरसम्म पुग्ने गरेका छन् । देउखुरीको तुलनामा घोराही र तुलसीपुरमा दहीको थेरै भए पनि महंगोमा बिक्री हुने भएका कारण आफूहरू दही लिएर घोराहीसम्म आउने गरेको यादवको भनाई छ ।

दही बिक्रिका लागि देउखुरीबाट घोराहीसम्म आउँदा राम्रो आम्दानी समेत हुने उनीहरु बताउँछन् । स्थानीयले दही तथा दुध विक्रि गरेर उनीहरुले घर व्यवहारसँगै छोराछोरीको पढाई खर्च जुटाउने गरेका छन् । व्यवसायीक रुपमा जिल्लाका विभिन्न ठाउँमा भैसीपालन गरिएपनि देउखुरीको राजपुर गाउँपालिका अन्तर्गत रहेको खरदरिया गाउँ भैसी पकेट क्षेत्रका रुपमा रहेको छ । खरदरियाका अधिकांशका घरमा कम्तीमा ५ देखि ५० वटासम्म भैंसी पाल्ने गरेका छन् ।