Ad Area

दाङ माछामा आत्मनिर्भर, भुरामा परनिर्भरता


दाङ, ७ मंसिर । जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर बन्दै गए पनि माछाको भुराका लागि भने परनिर्भर हुनु परेको छ । जिल्लामा माछाको भुरा उत्पादन भए पनि आत्मनिर्भर हुन नसकेको हो । अहिले माछापालक कृषकले जिल्ला बाहिरबाट माछाका भुरा ल्याउने गरेका छन् ।

मंगलवार विश्व मत्स्य दिवसको अवसरमा पनि बाहिरबाट माछाका भुुरा ल्याएर पोखरीमा छोडियो । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले बाँके पुगेर १० हजार माछाका भुरा ल्याएर घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको सातताले कृक्रिम जलाशयमा छोडेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं १० का मोहन डाँगीले व्यावसायिक माछापालन गर्दै आएका छन् । माछा पालनका लागि भुरा ल्याउन भने उनी बाँके जान्छन् । ‘जिल्ला बाहिरबाट माछाको भुरा ल्याउनु पर्दा समस्या हुन्छ’, उनले भने ।

जिल्ला बाहिरबाट ल्याउनु पर्दा ढुवानी खर्च बढी र समय पनि खर्च हुने गरेको र टाढाबाट ल्याउदा भुरा मर्ने समेत गर्दछन् । ‘कृषकलाई आर्थिक भार हुने, समय बढी लाग्ने र भुरा मर्ने समस्या समेत हुन्छ’, डाँगीले भने । उनले विगत ६ वर्षदेखि दुई बिगाह क्षेत्रफलमा पोखरी तयार पारेर माछा पालन गदै आएका छन् ।

बैशाख, जेठ र असारको महिनामा भुरा भनेजति नपाइने समस्या रहेको उनको भनाइ रहेको छ । ‘बैशाख, जेठ, असार महिनामा माछाको भुरा सबैले हाल्ने हुँदा पालोमा बसेर माछाको भुरा ल्याउनु पर्ने बाध्यता छ’, डाँगीले भने । अन्य समयमा भने समस्या नहुने उनको भनाइ छ । घोराही उप महानगरपालिका वडा नं ५ मा माछापालन गर्दै आएका दीपक रावतले माछाका भुरा देउखुरीबाट ल्याउँछन् ।

देखुरीबाट माछाका भुरा ल्याउने गरेको उनले बताए । ‘जिल्लाबाट ल्याउँदा सहज हुने गरेको छ’, रावतले भने । टाढाबाट भुरा ल्याउँदा मर्ने सम्भावना बढी हुनुका साथै ढुवानी खर्च बढी हुने उनले बताए । जिल्लामा पर्याप्त मात्रामा भुरा नपाइए बाहिर जानु नपर्ने उनले बताए । ‘माछाका भुरा लिन बाहिर जान नपरे कृषकलाई धेरै राहत पुग्नेछ’, रावतले भने । उनी विगत ११ वर्षदेखि माछापालन गर्दै आएका छन् । ९ बिगाह क्षेत्रफलमा तयार भएको पोेखरीमा माछापालन गरेको रावतले बताए ।

माछामा जिल्ला आत्मनिर्भर बन्दै गए पनि भुरामा परनिर्भर रहेको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरी बताउँछन् । ‘माछाको राम्रो सम्भावना बोकेको जिल्ला हो तर भुरामा परनिर्भर नै रहेको छ’, अधिकृत चौधरीले भने । भुरामा परनिर्भर भएपछि माछापालक कृषक बाँके र भैरहवासम्म पुगेर भुरा लिने गरेको उनको भनाइ छ ।

Blog Post Ad

जिल्लामा भुरा उत्पादन गर्न सके बिक्रीको लागि समस्या नहुने उनले बताए । ‘माछाको भुरामा आत्मनिर्भर बनाउन सके कृषकलाइ समेत सहज हुनेछ, यसतर्फ ध्यान दिन आवश्यक छ’, अधिकृत चौधरीले भने । यसका लागि आप्mनो क्षेत्रबाट प्रयास गर्दै आएको समेत उनले बताए ।
देउखुरीमा माछाको भुरा उत्पादन

राप्ती गाउँपालिका वडा नं ६ सगरापुरमा माछाको भुरा उत्पादन हुने गरेको छ । विगत २ वर्षदेखि माछाको भुरा उत्पादन गर्दै आएको अविचल मत्स्य प्रजनन् केन्द्रका सञ्चालन सोमप्रसाद चौधरीले बताए । यहाँ उत्पादित भूराले जिल्लाको मागलाई पूरा गर्न सक्दैन । त्यसो त गत वर्ष आएको बाढीले माछा बगाइदिए पछि हाल भने भुरा उत्पादन पनि हुन नसकेको उनको भनाइ छ ।

बाढीले माउ माछा बगाएपछि धेरै समस्या भएको उनले बताए । फेरि माछा ल्याएर हुर्काएर माउ बनाएर भुरा उत्पादनको तयारी गरिएको उनी बताउँछन् । ‘आउँदो माघ, फागुनदेखि माछाको भुरा उपलब्ध गराउने गरेर तयारी गरिराखेको छु’, उनले भने । मासिक ६० लाख माछाको भुरा उत्पादन हुने उनको भनाइ छ । उत्पादन भएका भुरा बिक्रीमा कुनै समस्या नभएको उनले बताए । उनले उत्पादन गरेको माछा दाङ तथा रुकुम, रोल्पा, सल्यान, बर्दिया, कपिलवस्तुसम्म जाने गरेको छ ।

२०४६ सालदेखि माछापालन गदै आएका चौधरीले करिब २ वर्ष पहिलेदेखि माछाका भुरा उत्पादन सुरु गरेका थिए । माछाको भुरा तयार गर्न प्राविधिक ज्ञान हुनु पर्ने भएकाले सबैले भुरा उत्पादन गर्न नसक्ने उनी बताउँछन् । ‘भुरा उत्पादन गर्दा केही तल–माथि भए सबै गुम्ने पनि हुन्छ, राम्रो भयो भने आम्दानी समेत राम्रो हुन्छ’, उनले भने । माछापालनमा आप्mनो परिवार मात्र नभई अन्य ८ जनालाई पनि रोजगार दिएको उनको भनाइ रहेको छ

Blog Post Ad Blog Post Ad